जेलबाट निकाल्छु भन्दै ठगी गरेको रकम फिर्ता

  • प्रकाशित मितिः भदौ ११, २०८०
  • 285 पटक पढिएको
  • संवादताता

खोटाङ, भदौ ११—विभिन्न मुद्दामा खोटाङ कारागारमा सजाय भोगिरहेका कैदीलाई जेलमुक्त गराइदिने भन्दै ठगी गरेको व्यक्तिले रकम फिर्ता गरेका छन् । व्यक्ति हत्याको घटनामा कैद सजाय भोगिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका कटकबहादुर तामाङ र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका डम्बरबहादुर कार्कीलाई छुटाई दिने भन्दै सिन्धुली दूधौली नगरपालिका–१० का निलेन्द्रकुमार कर्णले लिएको रकम फिर्ता गरेका हुन् ।
२०७५ पुस १४ गते लागूऔषध अपराधमा उदयपुरको गाइघाटबाट पक्राउ परी उदयपुर, खोटाङ र केन्द्रीय कारागारमा चार वर्ष जेल बसेर छुटेका कर्णले कटकबहादुरको परिवारबाट दुई लाख ५० हजार रुपैयाँ र अवैध हातहतियार तथा आखेटोपहार मुद्दामा जेल जीवन बिताइरहेका डम्बरबहादुर कार्कीबाट एक लाख ९० हजार ठगेका थिए । यीमध्ये कटकबहादुरकी श्रीमती जुनकिरी तामाङले दुई फरक–फरक व्यक्तिका बैंक खातामा जम्मा गर्न लगाएपछि २०७९ कात्तिक १७ मा सुनिता अधिकारीको नाममा रहेको सेन्चुरी बैंकको खातामा ५० हजार र तीन महिनापछि माघ २४ मा राजवंशीलाल कर्णको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खातामा २ लाख रुपैयाँ हालिदिएकी थिइन् । कर्णले चार लाख रुपैयाँ मागेको तर दुई लाख ५० हजार रुपैयाँ मात्र दिएकी र बाँकी एक लाख ५० हजार मान्छे छुटेपछि दिने सहमती भएको थियो ।
त्यस्तै अवैध हातहतियार र आखेटोपहार मुद्दामा ०७८ जेठ १ गते पक्राउ परेर खोटाङ कारागारमै रहेका डम्बरबहादुर कार्कीलाई छुटाउँने भन्दै कार्कीका नाता पर्ने (साली) इलामको राँके मूल घर भई हाल काठमाडौं चाबहिलमा बस्ने सुनिता अधिकारीबाट एक लाख ९० हजार लिएका थिए । कान्तिपुरमा समाचार प्रकाशित भएपछि दुबैजनाबाट लिएको आइतबारसम्म फिर्ता भएको हो । ‘मबाट लिएको एक लाख ९० हजार रकम फिर्ता गरिसकेको छ ।’ सुनिताले भनिन्–‘कारागारमा हुदा सामान लगिदिएको थोरै रकम भने दिएको छैन ।’
जुनकिरीले पनि आफूबाट ठगी गरेको सबै रकम फिर्ता भएको बताएकी छन् । ‘मबाट ठगी भएको रकम पटक–पटक गरी सबै फिर्ता भइसकेको छ ।’ उनले भनिन्–‘सय कडा तीनले ऋण लिएर दिएको पैसा फिर्ता भयो यसैमा खुसी छु ।’
कर्णले आफूले गृह मन्त्रालयका कर्मचारी चिनेको र तिनीहरूलाई पैसा बुझाएर मान्छे छुटाउँन सकिने भन्दै रकम असुलेका थिए । कान्तिपुरसंगको कुराकानीको क्रममा कर्णले सुनिता र राजवंशीलाल दुवै गृह मन्त्रालयका कर्मचारी रहेको दाबी गरेका थिए ।
कटकबहादुर उनका दाजु धनबहादुर र भाइ वीरबहादुर सहित स्थानीय नवराज दाहालको हत्या अभियोगमा २०६० असोज १५ मा जेल परेका थिए । अदालतले ०६३ फागुन ६ गते फैसला सुनाउँदा उनीहरू थुनामा बसेको एक वर्ष ६ महिना १० दिन भइसकेको थियो । थुनामा बसेको अवधि कटाएर उनीहरूलाई अदालतले १८ वर्ष तीन महिना २० दिन बाँकी जेल भुक्तान गर्ने फैसला सुनायो । कैदी जीवन बिताइरहेका बेला २०६२ असार ५ गते तत्कालीन विद्रोही माओवादीले खोटाङ कारागार आक्रमण गरेका बेला उनीसहितका कैदीबन्दी भागेका थिए । कारागारबाट भगाइएका तीन जना ०७४ चैत ५ गते फेरि अदालतमा हाजिर भए र बाँकी जेल भुक्तानका लागि कारागार चलान भए । कारगारका अनुसार उनीहरूले जेल भुक्तान अवधि पूरा हुने मिति २०९३ असार २४ गते हो । तीन दाजुभाइमध्ये वीरबहादुर भने ०७९ असोज २ मा गृह मन्त्रालयको पत्रानुसार सजाय माफी मिनाहामा छुटिसकेका छन् भने दुई जना अहिले पनि कैद भुक्तानमा छन् । कर्णले यो व्यक्तिगत कारोबारको विषय भएको दाबी गरेका थिए ।
(यो समाचार कान्तिपुरबाट साभार गरिएको हो)

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित