दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानलाई 'किसान क्रेडिट कार्ड'

  • प्रकाशित मितिः भदौ ११, २०८०
  • 470 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ११–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण सुरु गरेको छ । किसानलाई व्यावसायिक कृषिका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँन ‘किसान क्रेडिट कार्ड’ वितरण गरिएको हो ।
साना किसानलाई व्यावसायिक कृषि व्यवसायमा लगाउने उद्देश्यले उत्पादनमा उपप्रमुख कार्यक्रम अन्तरगत क्रेडिट कार्ड वितरण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले बताए । ग्लोबल आइएमई बैंक, आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालि र नगरपालिकाको साझेदारीमा किसानलाई कर्जासंगै किसान क्रेडिट कार्ड वितरण सुुरु गरिएको राईले बताए । पहिलो चरणमा कर्जा लिएका नगरपालिकाका ४० किसानलाई किसान क्रेडिट कार्ड वितरण गरिएको उपप्रमुख राईले बताए । अन्य किसानलाई पनि क्रमशः किसान क्रेडिट कार्ड वितरण गर्न नगरपालिकाको योजना रहेको राईले बताए । सहुलियतपूर्ण कर्जा लिएका किसानले खाताबाट नगद झिकेर चलाउन नपाइने तर क्रेडिट कार्डबाटै दुई लाख रुपैया“सम्म खर्च गर्ने÷गराउने व्यवस्था मिलाइएको राईले बताए ।
किसानले कृषि सामग्री, मल र मेसिनरी सामान बिक्रेता पसलमा क्रेडिट कार्डको क्यूआर कोड स्क्यान गरेर मल, बीउ र उपकरण खरिद गर्न सक्ने राईले बताए । कृषि व्यवसाय गर्ने किसानका लागि आवश्यक वित्तीय, प्रावधिक तथा बजार व्यवस्थापनका लागि नगरपालिकामा न्यूनतम ब्याजमा कर्जा कार्यान्वयनमा ल्याइएको छ । अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तरगत व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा कार्यान्वयनमा सहयोग पु¥याउने गरी किसानलाई क्रेडिट कार्ड वितरण सुरु गरिएको हो ।
कर्जा लिने किसानको ब्याजमध्ये सङ्घीय सरकारले पाँच प्रतिशत र नगरपालिकाले पाँच प्रतिशत ब्याज तिर्ने व्यवस्था मिलाइएको छ । ऋण लिएर व्यावसायिक रुपमा पशुपंक्षी पालन तथा कृषि पेशा गर्न चाहने किसानलाई आर एण्ड डि इनोभेटिभ सोलुसनले कर्जा तथा अन्य साधनस्रोतको सदुपयोग तथा दक्षता अभिवृद्धिसँग सम्बन्धित तालिम उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । लगानीको अभाव झेलिरहेका किसानलाई ग्लोबल आइएमई बैङ्कले त्रिपक्षीय साझेदारीमा पाँच वर्षभित्र तिर्ने गरी दुई लाखका दरले कर्जा रकम उपलब्ध गराएपछि नगरपालिकाले किसानलाई क्रेडिट कार्ड वितरण सुरु गरेको हो ।

पन्ध्र वडा रहेको यस नगरपालिकाले पशु तथा कृषि व्यवसायका लागि पकेट क्षेत्र निर्धारण गर्ने तयारी गरेको छ । ‘एक वडा, एक उत्पादन’ कार्यक्रम बनाएर लागू गर्नेगरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ । यसअन्तरगत बाम्राङ, बुइपा, विजयखर्क कफी, लफ्याङ, खाल्ले तरकारी, प्याज तथा पशु, जालपा, खार्मी, पाथेका तेलहन, सोल्मा, नेर्पा, दोर्पा, बुवालुङ, निर्मलीडाडाँको माथिल्लो क्षेत्र किवी र तल्लो क्षेत्र पशुपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको उपप्रमुख राईले बताए । कृषि उत्पादनलाई जोड दिने नीति लिएको नगरपालिकाले पशुपालनसँगै फलफूलका बिरुवा वितरण तथा विभिन्न नगदे बालीमा अनुदान दिँदै आएको छ । तर कतिपयले भने काम नै नगरी अनुदान मात्र लिएको गुनासो आएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित