‘स्थानीय सरकार जनताप्रति उत्तरदायी देखिएन’

  • प्रकाशित मितिः भदौ ९, २०८०
  • 315 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, भदौ ९–नेकपा माओवादीको नीति, सिद्धान्त र एजेण्डा अनुरुप माओवादीबाट स्थानीय तहमा जितेका जनप्रतिनिधिहरुले काम गर्न नसकेको माओवादीकै नेताहरुले बताएका छन् । भदौ ८ गते नेकपा माओवादी केन्द्र खोटाङले दिक्तेलमा आयोजित कार्यक्रममा नेताहरुले त्यसो भनेका हुन् ।
माओवादी केन्द्रीय सदस्य दुर्गाजयन्ती राईले स्थानीय तहहरुमा आफ्नो पार्टीबाट विजयी भएका जनप्रतिनिधिहरुले चित्त बुझ्दो काम नगरेको बताएकी छन् । पार्टीको नीति, सिद्धान्त र एजेण्डालाई जनतासम्म पु¥याउँन जिल्लास्थित विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई तीन दिने स्कुलिङ कार्यक्रम आयोजना गरिए पनि अपेक्षा गरे अनुसारको कार्यक्रम नआएको बताएकी हुन् । ‘हिजोकै तरिकाले स्थानीय सरकार चलिरहेको छ ।’ राईले भनिन्–‘त्यही भएर तीन दिने स्कुलिङ सञ्चालन गरिएको थियो, त्यसले पनि खासै चित्त बुझ्दो काम गर्न सकेनन् ।’
माओवादी केन्द्रको केन्द्रीय कार्यक्रम अनुसार तीन महिने अभियान अन्तरगत जिल्लाका सबै मतदाताहरुसंग भेटेर माओवादी नेतृत्वको सरकारले गरेका काम तथा जनताको समस्या बुझिने माओवादी केन्द्र लेखा समिति आयोगका अध्यक्ष पेशल खतिवडाले बताए । ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ कार्यक्रम पार्टीका सबै तहका नेता कार्यकर्ताहरुलाई परिचालन तथा रुपान्तरण गर्ने माओवादी केन्द्रीय सदस्य तथा खोटाङ इन्चार्ज चम्पा कार्की ‘आशा’ले बताइन् । अभियानको मुल नारा ‘घर–घरमा माआवादी, जन–जनमा माओवादी’ राखिएको छ । ‘माओवादी कांग्रेस, एमाले भन्दा फरक देखिएन ।’ आशाले भनिन्–‘त्यसैले कांग्रेस, एमाले भन्दा माओवादी फरक हो भन्नका लागि सबै तहका पार्टी कमिटी र नेताहरु रुपान्तरण हुनु पर्छ, यसैका लागि यो अभियान सञ्चालन गरिएको हो ।’
भदौ १६ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले देशभरका छ हजार सात सय ४३ वटै वडाहरुको अभियानको भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गर्ने छन् । यसअन्तरगत खोटाङका ७९ वटै वडाहरुमा पनि त्यसको आवश्यकीय तयारीका लागि भदौ ९ गतेदेखि १४ गतेभित्र दशैवटा स्थानीय तहको बैठक सम्पन्न गर्ने निर्णय गरेको माओवादी केन्द्र खोटाङले विज्ञप्ती मार्फत जनाएको छ ।
अभियान अन्तरगत खोटाङमा जिल्लाका सबै (एक लाख ४६ हजार दुई सय) मतदातासंग भेटघाट गर्ने माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङका संयोजक दीपक पाण्डे ‘आकाश’द्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । यस क्रममा संगठन सुदृढीकरण तथा विस्तार, जनभेटघाट, शहीद परिवार, घाइते तथा अपाङ्ग, बेपत्ता परिवार, पूर्व लडाकुहरु, सहयोगी चन्दादाताहरु, कार्यकर्ता र शुभचिन्तक एबम् समर्थकहरुलाई भेटघाट गरिने विज्ञप्तीमा उल्लेख छ ।
अभियानको अवधिमा आठ हजार पार्टी सदस्यता नवीकरण तथा वितरण गरिने उल्लेख छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमला दाहाल ‘प्रचण्ड’, उपप्रधान एबम् गृहमन्त्री तथा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ नेतृत्वको सरकारले अनियमितता, बेथिति, भ्रष्ट्राचारको विरुद्ध र सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा चालेको सकारात्मक कदमले जनताप्रति सकारात्मक आशा जागेको उल्लेख गर्दै उक्त क्रियाकलापप्रति जिल्ला समन्वय समितिको भदौ ७ गतेको बैठकले धन्यवाद एबम् आभार व्यक्त गरेको विज्ञप्तीमा उल्लेख छ । प्रचण्ड नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा गरेको कामलाई निरन्तरता दिन आग्रह समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पशुचौपायामा देखा परेको लम्पी स्किन रोगका कारण जिल्लाका पशुपालक किसानहरुले क्षति व्यहोरेकाले पीडित किसानहरुलाई उचित क्षतिपूर्ति दिन र रोग नियन्त्रण गर्न तीनै तहका सरकारसंग माग गरिएको छ । प्रदेश १ को नामाङ्कनको क्रममा भएको कमजोरीप्रति आत्मालोचना व्यक्त गर्दै पार्टीको मूल मर्म र भावना अनुरुप उत्पीडित समुदायको पहिचानलाई आत्मसात गर्दै पुनः नामाकरण गर्न पहल गर्ने निर्णय गरिएको उल्लेख गर्दै पुनः नामाकरण गर्न सङ्घर्ष गर्ने निर्णय गरिएको समेत विज्ञप्तीमा उल्लेख छ ।
देशभर आँखा पाक्ने रोगको प्रकोप फैलिरहेकाले यसलाई तत्काल नियन्त्रण गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराइएको छ । केही दिनदेखि देशभर लगातारको वर्षाका कारण हुन सक्ने प्राकृतिक प्रकोपप्रति सचेत रहन अपिल गरिएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पुल, बिजुली लगायत भौतिक पूर्वाधार निर्माणमा भइरहेको ढिलासुस्ती, गुणस्तरहीन तथा निर्माण कम्पनीको लापरबाहीका विषयमा समेत पहलकदमी लिने उल्लेख छ । जिल्लामा समाजवादी मोर्चा गठन गर्न घटक दलहरुसंग पहल गर्ने समेत निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । जिल्ला समन्वय समितिको बैठकमा प्रमुख अतिथि खतिवडा, केन्द्रीय सदस्य तथा खोटाङ इन्चार्ज आशा, केन्द्रीय सदस्यहरु नगेन्द्र राई, दुर्गाजयन्ती राई, ङिमा तेन्डुप शेर्पा, ध्रुब बुढाथोकी ‘धिरण’ लगायत  प्रदेश तथा जिल्लाका नेताहरुको उपस्थिति रहेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित