मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • प्रकाशित मितिः श्रावण ३१, २०८०
  • 184 पटक पढिएको
  • संवादताता

बुटवल, साउन ३१–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिकाको विभिन्न विकास निर्माणको काममा तथा तालिम कार्यक्रमहरुमा कमिसन लिएको आरोप सहित ७ जना विरुद्ध मुद्दा दर्ता गरिएको हो ।
आयोगले साउन ३१ गते प्रेस विज्ञप्ति जारी गर्दै मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्याल, उनका छोरा पवनकुमार अर्याल, वडा ३ का तत्कालीन अध्यक्ष नारायणबहादुर यादव, वडा नम्बर ५ र ६ का वडासचिव गुलाब यादव, समृद्ध नेपाल इनर्जीका प्रोपाइटर विनोदबाबु तिवारी, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजन र मानसरोवर टेक्निकल ट्रेनिङ इन्स्टिच्युटका प्रोपाइटर अमरिश यादवविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत अर्यालले १३ लाख ४५ हजार रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ । घुस लिएको रुपैयाँ जफत, त्यस अनुसारको जरिवाना र कैद सजायको मागदाबी अख्तियारले लिएको छ । उनका छोरा पवनकुमारसँग पनि सोही बिगो बमोजिमको सजाय माग दाबी गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार गाउँपालिकामा अवैध कमिसन जम्मा गराउँन अर्कै व्यक्तिको नाममा बैंक खाता खोलिएको थियो । त्यही खातामा विकास निर्माणका योजना र कार्यक्रमबाट लाखौं रकम भ्रष्टाचार गर्नुका साथै कमिसनको रुपमा जम्मा गराइन्थ्यो । यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा लेखिएको उजुरी राष्ट्रिय सतर्कता केन्द्रबाट छानबिन गरी विस्तृत अध्ययन गर्न आयोगमा फाइल पठाइएको थियो ।
अख्तियारले अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७÷७८ मा मर्चवारी–३ मा गरिएका विकास निर्माणका कामहरु, मर्चवारी गाउँपालिकामा सौर्य उर्जा प्रविधि जडान कार्य, वडा ६ मा र वडा ७ मा गरिएका विकास निर्माणका कामहरु, पालिकाबाट सामाजिक विकासतर्फको सीपमूलक तालिमहरू सिलाइकटाइ तालिम कार्यक्रमहरु भएका थिए ।
आर्थिक वर्षको अन्त्यमा सरकारी रकम भुक्तानी दिँदा प्रमुख प्रशासकीय अधिकृत अर्यालले स्थानीय तहसंग सरोकार राखेर आर्थिक कारोबार गरेका समूहबाट घूस लिएको पुष्टि भएको प्रवक्ता दाहालले बताए ।

(यो समाचार कान्तिपुरबाट साभार गरिएको हो)

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित