मझुवागढी क्षेत्रको जग्गा व्यक्तिको नाममा

  • प्रकाशित मितिः पुष ३०, २०७५
  • 1886 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, पुस ३०–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीय क्षेत्र मझुवागढी क्षेत्रको जग्गा व्यक्तिको नाममा भएको खुलासा भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि गरेको अध्ययनमा त्यस्तो खुलासा भएको हो ।
नगरपालिकाको प्राविधिकले तयार गरेको प्रतिवेदन अनुसार मझुवागढी क्षेत्रमा पर्ने बुद्धेश्वर गुफा, कालिका भगवती आसपासको जग्गा व्यक्तिको नाममा भएको खुलासा भएको उल्लेख छ । 
उक्त जग्गा पहिले सरकारी थियो या थिएन भन्ने विषयमा अध्ययन भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । उक्त क्षेत्रमा बुद्धेश्वर महादेव गुठीको नाममा (कित्ता नं–१०२) दश रोपनी चार आना तीन पैसा तीन दाम देखिन्छ । त्यस्तै देविस्थान सामुदायिक वनको नाममा दुई सय ६९ रोपनी चार आना दुई दाम एक पैसा देखिन्छ । प्राविधिक टोलीको प्रतिवेदनमा सशस्त्र प्रहरी बल हलेसी गुल्मका तत्कालीन डिएस्पी (हाल एसएसपी) कालीदास धौवजी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ५ का दिनेशकुमार घिमिरेकोनाममा एक रोपनी नौ आना तीन पैसा एक दाम देखिन्छ । उक्त जग्गा कित्ता नं ३०३ बाट कित्ता काट गरी ४३८ र ४३९ कायम गरिएको देखिन्छ । यसमध्ये एसएसपी कालिदास चौबजीको नाममा छ आना र दिनेशकुमार घिमिरेको नाममा एक रोपनी तीन आना तीन पैसा एक दाम देखिन्छ । उक्त जग्गा २०६८ कात्तिक ८ गते पास गरेको देखिन्छ । उक्त जग्गा कसको नाममा थियो भन्ने विषय खोजी गरिने नगरप्रमुख रिजालले सुनाए । यदी गुठी वा सरकारी स्वामित्वको भए त्यसै अनुसार प्रक्रिया बढाइने नगरप्रमुख रिजालले सुनाए । 
यसक्षेत्रमा सशस्त्र प्रहरी बल हलेसी गुल्मको नाममा पनि थुप्रै जग्गा देखिन्छ । उक्त जग्गा स्थानीयले उपलब्ध गराएका हुन् । यसमध्ये कसले कति जग्गा उपलब्ध गराएको र सरकारी स्वामित्वको जग्गा सशस्त्रले उपयोग गरेको छ या छैन भन्ने पनि अध्ययनको विषय बनेको नगरप्रमुख रिजालले सुनाए ।
त्यसो त मझुवागढी कालिका भगवती गुरुयोजना समेत बनिसकेको छ । यसै आधारमा धार्मिक तथा पर्यटकीय  क्षेत्रको रुपमा विकास गर्न यसक्षेत्रको विस्तृत अध्ययन गरी त्यसै अनुसार काम गरिने भएकाले गम्भिर रुपमा अध्ययन गरिने नगरप्रमुख रिजालले सुनाए । जग्गावाला दिनेश घिमिरेले भने आफूले पनि व्यक्तिबाटै लिएको बताएका छन् । यसबाहेक कालिका भगवती र बुद्धेश्वर गुफाको नाममा भएको अन्य जग्गा (खेत) पनि विभिन्न व्यक्तिहरुले उपभोग गरिरहेको स्थानीयले बताएका छन् । यसबारेमा पनि नगरपालिकाले अध्ययन गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित