टोल–टोलमा घाँसको विरुवा वितरण गर्दै उपप्रमुख

  • प्रकाशित मितिः श्रावण २०, २०८०
  • 471 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन २०–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राई यतिखेर घाँस वितरणमा व्यस्त छन् । नगरपालिकाका सबै वडाका किसानलाई घाँस वितरणमा उनी व्यस्त रहेका हुन् ।
साउन २० गते दिक्तेलको एकता टोल विकास समितिको अनुरोधमा सुपर नेपियर घाँसको विरुवा वितरण गरेका छन् । पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यवसायिक बनाउँन सबै वडाका किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर निःशुल्क वितरण गरेको नगर उपप्रमुख राईले बताए । उनले आफूले पाउँने तलबबाट विरुवा खरिद गरेको समेत सुनाए ।
नगर उपप्रमुख राईले वडा नं १ दिक्तेलका १००, वडा नं २ सोल्माका ५०, वडा नं ३ बाम्राङका ५०, वडा नं ४ खाल्लेका ३०, वडा नं ५ लफ्याङका ३०, वडा नं ६ नेर्पाका १००, वडा नं ७ दोर्पाचिउरीडाँडाका ५०, वडा नं ९ निर्मलीडाँडाका ३०, वडा नं १३ नुनथलाका ३०, वडा नं १४ बुइपाका ३० र वडा नंं १५ विजयखर्कका ५० जना किसानलाई नेपियर र अम्लिसो जातका घाँसको बिरुवा निःशुल्क वितरण गरेको उपप्रमुख राईले बताए । वडा नं ८ दोर्पाचिउरीडाँडा र वडा नं ९ निर्मलीडाँडाबाट खरिद गरेर ल्याइएको सुपर नेपियर, स्मार्ट नेपियर, रेड नेपियर र बङ्गाली रेड नेपियर तथा वडा नं ३ बाम्राङबाट खरिद गरिएको अम्लिसो जातको घाँसका बिरुवा निःशुल्क वितरण गरिएको उनको भनाई छ ।
पशुपालनलाई व्यवसायिक बनाउँन नगरपालिकाबाट यस आवका लागि एक करोड बजेट समेत विनियोजना गरिएको नगर उपप्रमुख राईले बताए । पशुपालन तथा व्यवसायिक कृषिका लागि नगरपालिकाले यस आवमा ब्याज अनुदानस्वरुप किसानलाई चार करोड रकम उपलब्ध गराउने गरी पहल थालेको समेत उपप्रमुख राईको भनाई छ । जिल्लास्थित विभिन्न बैंकसंगको सहकार्यमा नगरपालिकाले ब्याज तिरिदिने सर्तसहित नगरपालिका नै जमानी बसेर रकम उपलब्ध गराउँने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित