खोटाङ, साउन १७—ज्यान मुद्दामा खोटाङ कारागारमा सजाय भोगिरहेका कैदीलाई जेलमुक्त गराइदिने भन्दै असुलेको रकममध्ये केही फिर्ता गरेका छन् । व्यक्ति हत्याको घटनामा कैद सजाय भुक्तान गरिरहेका कटकबहादुर तामाङलाई छुटाइदिने भन्दै निलेन्द्रकुमार कर्णले लिएको दुई लाख ५० हजार रुपैयाँमध्ये एक लाख फिर्ता गरेका हुन् ।
लागूऔषध अपराधमा चार वर्ष जेल बसेर छुटेका कर्णले दुई फरक–फरक व्यक्तिका बैंक खातामा २ लाख ५० हजार रुपैयाँ जम्मा गर्न लगाएपछि २०७९ कात्तिक १७ मा सुनिता अधिकारीको नाममा रहेको सेन्चुरी बैंकको खातामा ५० हजार र तीन महिनापछि माघ २४ मा राजवंशीलाल कर्णको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खातामा २ लाख रुपैयाँ हालिदिएको कटकमबहादुर तामाङकी श्रीमती जुनकीरीले बताइन् । तीमध्ये एक लाख रुपैयाँ साउन १५ गते खातामा पठाई दिएको सुनाइन् । अन्य रकम तीन दिनभित्र फिर्ता गर्ने कर्णले आफूलाई जानकारी गराएको जुनकीरीले सुनाइन् ।
कर्णले आफूले गृह मन्त्रालयका कर्मचारी चिनेको र तिनीहरूलाई पैसा बुझाएर मान्छे छुटाउँन सकिने भन्दै रकम असुलेका थिए । कर्णले सुनिता र राजवंशीलाल दुवै गृह मन्त्रालयका कर्मचारी रहेको दाबी गरेका थिए । तर, उनीहरु गृहमा कार्यरत छैनन् ।
यसमध्ये सुनितालाई पनि कर्णले ठगेको देखिन्छ । इलामको राँके मूल घर भई हाल काठमाडौं चाबहिलमा बस्ने सुनिताले अवैध हातहतियार र आखेटोपहार मुद्दामा ०७८ जेठ १ गते पक्राउ परेर खोटाङ कारागारमा रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका ४५ वर्षीय भिनाजु डम्बरबहादुर कार्कीलाई छुटाइदिने आश्वासनमा एक लाख ९० हजार रुपैयाँ ठगेको देखिन्छ । यसमध्ये साउन १६ गते ५० हजार र १३ दिनअघि ५० हजार रुपैयाँ गरी एक लाख फिर्ता गरेको सुनिताले सुनाइन् । भिनाजु छुटाई दिने आश्वासनमा कर्णले आफ्नो एटीएम कार्ड समेत केही समय चलाएको सुनिताको भनाइ छ ।
२०६० असोज १५ मा स्थानीय नवराज दाहालको हत्या अभियोगमा तामाङसहित उनका दाजु धनबहादुर र भाइ वीरबहादुर पनि जेल परेका थिए । अदालतले ०६३ फागुन ६ गते फैसला सुनाउँदा उनीहरू थुनामा बसेको एक वर्ष ६ महिना १० दिन भइसकेको थियो । थुनामा बसेको अवधि कटाएर उनीहरूलाई अदालतले १८ वर्ष तीन महिना २० दिन बाँकी जेल भुक्तान गर्ने फैसला सुनायो । कैदी जीवन बिताइरहेका बेला २०६२ असार ५ गते तत्कालीन विद्रोही माओवादीले खोटाङ कारागार आक्रमण गरेका बेला उनीसहितका कैदीबन्दी भागेका थिए । कारागारबाट भगाइएका तीन जना ०७४ चैत ५ गते फेरि अदालतमा हाजिर भए र बाँकी जेल भुक्तानका लागि कारागार चलान भए । कारगारका अनुसार उनीहरूले जेल भुक्तान अवधि पूरा हुने मिति २०९३ असार २४ गते हो । तीन दाजुभाइमध्ये वीरबहादुर भने ०७९ असोज २ मा गृह मन्त्रालयको पत्रानुसार सजाय माफी मिनाहामा छुटिसकेका छन् भने दुई जना अहिले पनि कैद भुक्तानमा छन् । कर्णले यो व्यक्तिगत कारोबारको विषय भएको दाबी गरेका थिए ।
यत्तिको ठगी हुदा समेत प्रहरीले भने कुनै प्रक्रिया बढाएको छैन । कारागारबाटै यस्तो धन्दा हुनु र यस विषयमा प्रहरी बेखबर बन्नुले प्रहरीमाथि पनि प्रश्न उठेको छ । कर्णसंग टेलिफोन संवादहरु हुनु र प्रक्रिया नबढ्नुले प्रहरीमाथि प्रश्न चिन्ह खडा भएको हो । तर जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले भने कसैले जाहेरी नदिए पनि यो घटनालाई नियाली रहेको बताए ।
(यो समाचार कान्तिपुरबाट साभार गरिएको हो । निलेन्द्रकुमार कर्णको तस्बिर पीडितले उपलब्ध गराएका हुन्)
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित