जेलमुक्त गरिदिने भन्दै रकम असुली

  • प्रकाशित मितिः असार २९, २०८०
  • 705 पटक पढिएको
  • संवादताता

खोटाङ, असार २९—ज्यान मुद्दामा खोटाङ कारागारमा सजाय भोगिरहेका कैदीलाई जेलमुक्त गराइदिने भन्दै रकम असुल्ने गरिएको पाइएको छ । व्यक्ति हत्याको घटनामा कैद सजाय भुक्तान गरिरहेका कटकबहादुर तामाङलाई छुटाइदिने भन्दै निलेन्द्रकुमार कर्णले रकम असुलेका छन् । अन्य कैदीबाट पनि रकम असुल्ने गरेको प्रमाण फेला परेको छ ।

लागूऔषध अपराधमा चार वर्ष जेल बसेर छुटेका कर्णले खोटाङ कारागारमै छँदा तामाङलाई चिनेका थिए । आफूले गृह मन्त्रालयका कर्मचारी चिनेको र तिनीहरूलाई पैसा बुझाएर मान्छे छुटाउन सकिने भन्दै कर्णले तामाङकी श्रीमती जुनकिरीबाट पैसा असुलेको प्रमाण भेटिएको छ । श्रीमान्लाई छुटाइदिने आश्वासन पाएपछि जुनकिरीले दुई फरक–फरक व्यक्तिका बैंक खातामा २ लाख ५० हजार रुपैयाँ जम्मा गरिदिएकी थिइन् । ०७९ कात्तिक १७ मा सुनिता अधिकारीको नाममा रहेको सेन्चुरी बैंकको खातामा ५० हजार र तीन महिनापछि माघ २४ मा राजवंशीलाल कर्णको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खातामा २ लाख रुपैयाँ हालिदिएको देखिन्छ ।

thumb

कर्णले सुनिता र राजवंशीलाल दुवै गृह मन्त्रालयका कर्मचारी रहेको दाबी गरेका थिए । तर, गृहको कर्मचारी शाखाका अनुसार उनीहरू गृहमा कार्यरत छैननन्। बरु सुनितालाई पनि कर्णले ठगेको देखिन्छ । इलामको राँके मूल घर भई हाल काठमाडौं चाबहिलमा बस्ने सुनिताले आफूले पनि कर्णलाई खोजिरहेको तर सम्पर्कमा नरहेको बताइन् । खोटाङ कारागारमा रहेका भिनाजु डम्बरबहादुर कार्कीलाई छुटाइदिने आश्वासनमा कर्णले आफ्नो एटीएम कार्ड केही समय चलाएको उनको भनाइ छ । ‘दिक्तेल जेलमा बस्दा त्यो मान्छे (कर्ण) ले भिनाजुलाई जेलबाट निकालिदिन्छु भनेको हो । भिनाजुले पनि भनेपछि मैले उसलाई हातहाती एक लाख ९० हजार दिएकी थिएँ । त्यसपछि त्यो मान्छे सम्पर्कमा छैन,’ उनले भनिन् ।

कारागार प्रशासनका अनुसार दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–१५ विजयखर्कका ४५ वर्षीय डम्बरबहादुर कार्की अवैध हातहतियार र आखेटोपहार मुद्दामा ०७८ जेठ १ गते पक्राउ परेका हुन् । उनलाई जिल्ला अदालन खोटाङले ०७८ मंसिर २४ गते पाँच वर्ष कैद र पाँच लाख जरिवानाको फैसला सुनायो । उनको जेल भुक्तान अवधि ०८७ फागुन २६ गते सकिनेछ ।

२०६० असोज १५ मा स्थानीय नवराज दाहालको हत्या अभियोगमा तामाङसहित उनका दाजु धनबहादुर र भाइ वीरबहादुर पनि जेल परेका थिए । अदालतले ०६३ फागुन ६ गते फैसला सुनाउँदा उनीहरू थुनामा बसेको एक वर्ष ६ महिना १० दिन भइसकेको थियो । थुनामा बसेको अवधि कटाएर उनीहरूलाई अदालतले १८ वर्ष तीन महिना २० दिन बाँकी जेल भुक्तान गर्ने फैसला सुनायो । कैदी जीवन बिताइरहेका बेला ०६२ असार ५ गते तत्कालीन विद्रोही माओवादीले खोटाङ कारागार आक्रमण गरेका बेला उनीसहितका कैदीबन्दी भागेका थिए । कारागारबाट भगाइएका तीन जना ०७४ चैत ५ गते फेरि अदालतमा हाजिर भए र बाँकी जेल भुक्तानका लागि कारागार चलान भए । कारगारका अनुसार उनीहरूले जेल भुक्तान अवधि पूरा हुने मिति २०९३ असार २४ गते हो । तीन दाजुभाइमध्ये वीरबहादुर भने ०७९ असोज २ मा गृह मन्त्रालयको पत्रानुसार सजाय माफी मिनाहामा छुटिसकेका छन् भने दुई जना अहिले पनि कैद भुक्तानमा छन् ।

कर्णले यो व्यक्तिगत कारोबारको विषय भएको दाबी गरे । ‘मैले पैसा खाएको होइन, ममार्फत कामका लागि पठाइएको हो, उनीहरूले फर्काएनन् भने म आफैंले तिरौंला,’ उनले भने, ‘वीरबहादुरको काम पनि मैमार्फत गरिएको हो, त्यो पैसा पनि सम्बन्धित मान्छेको खातामा जम्मा हुन्छ ।’ उनले आफू खोटाङ जेलमा हुँदा तामाङ दाजुभाइसँग राम्रो सम्बन्ध रहेकाले ‘सहयोग गरेको’ बताए । यो समाचार कान्तिपुरबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित