मझुवागढी मासेर खानेपानी ट्याङकी निर्माण

  • प्रकाशित मितिः असार २५, २०८०
  • 1024 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ऐतिहासिक मझुवागढीलाई असर पुग्ने गरी खानेपानी ट्याङ्की निर्माण सुरु गरिएको छ । सम्पदालाई संरक्षण गर्नुको साटो त्यसलाई मासेर खानेपानी ट्याङ्की निर्माण सुरु गरिएपछि चौतर्फी विरोध सुरु भएको छ ।
मेवा खोला लिफ्टिङ खानेपानी योजनाको डिष्टिब्युसन ट्याङ्की मझुवागढीको पश्चिमतर्फको बङ्करभित्रै निर्माण गरिएको छ । यसले मझुवागढीको सम्पदामै असर पुग्ने भएकाले समस्या आएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताए ।
मझुवागढी संरक्षण समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका पूर्व प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नरपालिका–५ का वडाअध्यक्ष दिनेशकुमार घिमिरे लगायतको अगुवाइमा ट्याङ्की बनाउने निर्णय गरिएको हो । खानेपानी आवश्यक भएकाले ट्याङ्की बनाउन दिइएको चाम्लिङको भनाई छ । चाम्लिङले भने–‘खानेपानी पनि आवश्यक नै भएकाले सल्लाहले नै बनाउन दिइएको हो ।’
५४ करोड ६७ लाख नौ हजार सात सय १४ रूपैयाँको लागतमा सञ्चालित यो योजनाले दिक्तेल, खाल्ले, लफ्याङ, बाम्राङ लगायतका करिब ५ हजार घरधुरीलाई पुग्ने उपभोक्ता समितिका अध्यक्ष ललितकुमार राईले बताए । २०८२ भदौ ४ गतेसम्म सक्ने गरी २०७९ साउन २२ गते मृत संजीवनी सगरमाथा जेवीले संझौता गरेको थियो ।
उक्त ठाउँमा १८०४ सालसम्म रणवीर राईले राज्य गरेको र त्यसलाई संरक्षण गर्नु पर्नेमा ध्वस्त गरिएको स्थानीय राजेन्द्र राईले बताए । पुरातात्विकजस्तो संवेदनशील विषयमा ध्यान दिनु पर्नेमा ध्वस्त पारिनु दुःखदायी भएको राईको भनाई छ । ‘यस्तो महत्वपूर्ण पुरातात्विक विषयमा संवेदनशील हुनु पर्नेमा झनै ध्वस्त गरिनु दुःखदायी विषय हो ।’–राईले भने ।
यो ठाउँमा स्थानीयले जग्गाका कब्जा गरेर आफ्नो नाममा दर्ता गरेको र उक्त जग्गा सशस्त्र प्रहरी बल हलेसी गुल्मलाई बेचिएको समेत स्थानीयको गुनासो छ । गढीका पूर्वतर्फको जग्गामा सशस्त्र प्रहरी बल हलेसी गुल्मको ब्यारेक भएको र उक्त ब्यारेक अन्य ठाउँमा व्यवस्थापन गर्नु पर्ने समेत स्थानीयको भनाई छ ।
उक्त जग्गा अहिले देविस्थान सामुदायिक वन उपभोक्ता समूहको नाममा छ । उक्त ठाउ“मा ट्याङ्की बनाउनका लागि डिभिजन वन कार्यालय खोटाङका प्रमुख जगदीश रेग्मीले स्वीकृति दिएका हुन् । मझुवागढीको क्षतिको विषयमा नगरप्रमुख तीर्थराज भट्टराईको भने आधिकारिक धारणा आएको छैन ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित