साकेलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • प्रकाशित मितिः फाल्गुन ८, २०७९
  • 424 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ८–साकेला गाउँपालिकामा पाँचौं अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । फागुन ७ गते सुरु प्रतियोगितामा विभिन्न छ वटा विधामा ५४ पदकका लागि ५ वटा माविका विद्यार्थी सहभागी भएका छन् ।
गाउँपालिकाको आर्थिक सहयोगमा सुरु प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य रामकुमार राईले गरेका हुन् । प्रतियोगितामा भलिवलतर्फ छात्रछात्रा, हाइजम्प छात्रछात्रा, लङ्गजम्प छात्रछात्रा, सटफुट छात्रछात्रा, रिले दौड छात्रछात्रा, १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर छात्रछात्रा दौडको खेल हुने छ ।

13
प्रतियोगितामा १८ वटा इभेन्टमा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ । प्रतियोगिताका बिजेताले मेडल, प्रमाण–पत्र पाउने छन् । प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सबै विधामा विजेता विद्यालयलाई रनिङ शिल्ड दिइने छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन सङघीय सरकार, खेलकुद मन्त्रालयले सशर्त कार्यक्रम मार्फत एक लाख उपलब्ध गराएको छ । भौगोलिक विकटता तथा महङ्गीका कारण एक लाखले प्रतियोगिता गराउन सम्भव नभएपछि गाउँपालिकाले अपुग रकम उपलब्ध गराएको छ । गाउँपालिकाबाट विनियोजित बजेटबाट प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउन÷जान तथा अन्य व्यवस्थापन खर्च उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईको अध्यक्षतामा उद्घाटन भएको रनिङ शिल्ड प्रतियोगितामा प्रतिनिधिसभा सदस्य पासाङ, जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, उपाध्यक्ष बिर्सिका राई, निवर्तमान गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्का लगायतको आतिथ्यता थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित