लघुवित्तको ऋण तिर्न नसकेपछि उठिबास

  • प्रकाशित मितिः फाल्गुन ५, २०७९
  • 561 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ५–केपिलासगढी गाउँपालिका–२ खार्तम्छाकी चन्द्रकला राईको घर ताला लागेको छ । २०७८ असार २७ गते फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाबाट ऋण लिनुनै उनको घरमा ताला लाग्नुको मुख्य कारण बन्यो । उनले १५ प्रतिशतका दरले तीन वर्षसम्ममा ऋण चुक्ता गर्ने सर्तमा डेढ लाख रुपैयाँ लिएका थिए । 
तर उनले सावा मात्र अझै ७५ हजार तिर्न बाँकी रहेको उक्त लघुवित्तका कर्मचारी अक्षय माझी बताउँछन् । त्यही ऋण तिर्न नसकेर घरमा ताला लगाएर अन्यत्र जानु परेको स्थानीय शिक्षक डिकमान राईको भनाई छ । 
त्यस्तै उक्त वडाकै शोभा राईको पनि अवस्था उस्तै छ । ऋणकै कारण उनी पनि घर छाडेर अन्यत्र गएको उनकै देवर समेत रहेका डिकमान बताउँछन् । उनले २०७७ कात्तिक १ गते डेढ लाख रुपैयाँ ऋण लिएका थिए । त्यसपछि असार १५ गते नवीकरण गरेपछि अहिलेसम्म सावा ब्याज नबुझाएको माझी बताउँछन् । ‘उहा“हरु सम्पर्कमै हुनुहुन्न ।’ माझीले भने–‘फोन गर्दा पनि उठाउँनु हुन्न ।’
त्यत्ति मात्र होइन डिप्रोक्स लघुवित्त वित्तीय संस्थाबाट पनि २०७८ असोजमा डेढ लाख रुपैयाँ ऋण लिएको बाक्सिलास्थित डिप्रोक्स लघुवित्त शाखाका प्रमुख रामचन्द्र राईले बताए । डिप्रोक्स्मा तीन– चार किस्ता बुझाउँन बाँकी रहेको शाखा प्रमुख राईले बताउँछन् । ऋण तिर्न नसकेपछि शोभा तीन बालबालिका छाडेर घर बाहिरै छन् । उनका श्रीमान खड्गबहादुर पनि घरमा नभएकाले बालबालिकाको अवस्था बेहाल बनेको डिकमानको भनाई छ । उनका दुई छोरी एक छोरा छन् । ऋणकै कारण श्रीमान–श्रीमती बीच बेमेल भएको समेत देवर डिकमान बताउँछन् ।
यो एउटा उदाहरण हो । लघुवित्तकै कारण यस्ता अनेकौ समस्याहरु आइपरेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई बताउँछन् । लघुवित्तहरुले चर्को ब्याजको ऋण दिनुका साथै ऋण लिनेहरुले जुन उद्देश्यले लिएको हो, त्यो अनुसार नगर्दा समस्या आएको राई बताउँछन् । कतिपय लघुवित्तले ऋण लिएकै दिन ऋण अवधिको एकैचोटी हिसाव गरी त्यसलाई किस्तामा ढालेर (फ्याट) लिने गरेको समेत गुनासो आएको छ । यसबारेमा नियमन गर्ने निकाय तथा स्थानीय तहहरुले ध्यान दिनु पर्ने राईको भनाई छ । घलुवित्तले कृषि, पशुपालन, ब्यापार ब्यावसाय, उद्योग लगायत विभिन्न शीर्षकमा ऋण दिने गरे पनि अनुगमनै नगरी ऋण प्रवाह गर्ने गरेकाले यो समस्या आएको हो । 
जिल्लामा ११ वटा लघुवित्तले करिब ४० करोड रुपैयाँभन्दा बढी ऋण प्रवाह गरेको एनएमबी लघुवित्तका प्रवन्धक बलराम बरालले बताए । अनुगमन नगरी ऋण प्रवाह गरेकाले समस्या आएको उनको भनाई छ । तर पघिल्लो समय भने राष्ट्र बैंकको कर्जा सूचना रिपोर्टका आधारमा ऋण प्रवाह गरेकाले समस्या घट्दै गएको सुनाए । 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित