लालुपाते सहकारीका बचतकर्ताले बचत फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गरे

  • प्रकाशित मितिः माघ 9, 2079
  • 1067 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ ९–लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समितिको हेल्चेक्राइले बचतकर्ताहरुको रकम डुबेको भन्दै फिर्ता गर्न माग गरेका छन् । माघ ९ गते दिक्तेल बजारमा विरोध प्रदर्शन गरेका हुन् ।
करिब चार हजार पाँच सय बचतकर्ताको झण्डै सात करोड रुपैयाँ रकम डुबेकाले आन्दोलन गर्नु परेको बचतकर्ताहरुले बताएका छन् । उनीहरुले जम्मा गरेको रकमबाट सहकारीका तत्कालीन अध्यक्ष स्वर्गीय अनिल जोशी र प्रबन्धक रुकु जोशीले अपचलन गरेकाले डुबेको सहकारी सम्बद्धहरुले बताएका छन् । अध्यक्ष जोशीले आफ्नै आफन्तको नाममा रहेको खातामा रकम जम्मा गरेको पाइएको र उक्त रकम फिर्ता गर्न पहल सुरु गरिएको सहकारीका निमित्त व्यवस्थापक सुमना राईले बताइन् । अनिलको गत २०७८ बैशाख १५ गते कोरोनाले निधन भइसकेको छ ।
उनका अनुसार जोशीकी बुहारी रविना श्रेष्ठ जोशीको ज्योति विकास बैंकमा रहेको खातामा दुई करोड ४१ लाख ५७ हजार पाँच सय ५८ रूपैयाँ, भान्जा दीपेन्द्र श्रेष्ठको सेन्चुरी कमर्सियल र ज्योति विकास बैंकमा रहेको खातामा ४३ लाख १५ हजार सात सय ५०, भाइ सन्तोष जोशीको सेन्चुरी कमर्सियल बैंकमा रहेको खातामा ८५ हजार, भाइ इश्वर जोशीको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा १९ लाख ९५ हजार तीन सय ५० लगायत अन्य विभिन्न नातेदारको खातामा गरी तीन करोड ६१ लाख छ हजार छ सय ५८ रुपैयाँ जम्मा गरेको देखिन्छ । 

apachalan photo
यसबाहेक साबिक महादेवस्थान गाविस–४ को (हाल हलेसी तुवाचुङ नगरपालिका–७) महादेवस्थान कित्ता नम्बर ८९३ को तीन रोपनी दुई आना र कित्ता नम्बर ८९४ को तीन रोपनी, एक पैसा, एक दाम गरी ६ रोपनी तीन आना एक पैसा एक दाम जग्गा समेत आफ्नै सहोदर भाइ सुनिल जोशीको नाममा पास गरेको पाइएको सहकारीका तत्कालीन सचिव मनोज राईले सुनाए । यसरी अनियमित तवरले गरिएका क्रियाकलापका कारण सहकारी डुबाइएकाले जोशीका परिवारलाई माघ ५ गते ठगी मुद्दा दायर गरिएको छ ।
उक्त निवेदनमा जोशीका भाइ सुनिल, बुहारी रविना, बुवा हरिप्रसाद, तत्कालीन सहकारीकी प्रवन्धक रुकु जोशी लगायत अन्य आफन्त तथा साथीहरु जसुदा पौडेल, राम श्रेष्ठ, इश्वर श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, सिर्जना खड्का, सन्तोष जोशी, देवराज सुवेदी, जानकी कक्षपति, कविता तिमल्सिना र सन्देश जोशी समेतको नाम उल्लेख छ । उनीहरुले संस्थाको रकम अपचलन, हिनामिना तथा ठगी गरेको निवेदनमा उल्लेख छ । यसबारेमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले बताए ।

ujuri1

ujuri2

ujuri3

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित