नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २९–यतिबेला सुनाखरी फूल्ने समय हो । नेपालमा करिब सय जाति र पाँच सय प्रजातिका सुनाखरी पाइन्छन् । नेपालमा भेटिएका सुनाखरीमध्ये ४० वटा जमिनमा उम्रने जातिका छन् । वनस्पति जगतको सुनाखरी परिवारमा ७ सय ७ जाति छन् । ती जातिअन्तरगत २८ हजार प्रजाति छन् ।
सजावटदेखि औषधीय प्रयोगमा हुने सुनाखरी हिमाली क्षेत्रदेखि तराईसम्म फैलिएको छ । यिनीहरू रुखमा (इपिफाइटिक), ढुङ्गामा वा पाखा पहरामा (लिथोफाइटिक) र जमिन (टेरिस्टेरियल) मा हुने पाइन्छन् । अधिकांश प्रजातिहरू औषधिजन्य उपयोगमा हुने गरेका छन् ।
नेपालमा सूचीकृत सुनाखरीमध्ये एक तिहाइ प्रजाति औषधिजन्य प्रयोगमा रहेको पाइन्छ । पाँचऔंले, शक्ति गुम्बा, गामडोल, जिवन्ती प्रजातिको बढी मात्रामा अवैध संकलन तथा व्यापार हुने सुनाखरीमा पर्दछ ।
संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ मा नेपालमा पाइने सुनाखरीमध्ये २ वटा अनुसूची १ मा र ४ सय ६६ वटा अनुसूची २ मा संरक्षित वनस्पति उल्लेख छ । नेपाल संकटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) को पक्ष राष्ट्र हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०७१ मा निकालेको अनुसन्धानात्मक प्रकाशनमा नेपालमा ४ सय ६८ वटा प्रजातिका सुनाखरीलाई साइटिसमा सूचीकृत गरिएको उल्लेख छ ।
साइटिसको अनुसूचीमा सूचीकृत भएका वनस्पतिका सबैभन्दा धेरै जाति सुनाखरीको हो । विस्तृत अध्ययन नै हुन बाँकी भएकाले नेपालमा यो प्रजातिको संख्या ठ्याक्कै यति नै हो भनेर किटान गर्ने आधार बनिसकेको छैन ।
अनुसूची १ मा लोप हुने स्थितिमा पुगेका प्रजातिहरू समावेश गरिएको छ । पूर्णरूपमा संरक्षण गर्नुपर्ने भएकाले यी प्रजातिहरू व्यापारका कारणले अझै खतरामा पर्ने भएकाले व्यापार वा ओसारपसारलाई नियन्त्रण गरेको छ । अनुसूची २ मा लोप हुने स्थितिमा पुगी नसकेको तर तिनको व्यापारलाई समयमा नै नियन्त्रण नगर्दा भविष्यमा लोप हुन सक्ने अवस्थाका प्रजातिहरूलाई अनुसूची–२ मा समावेश गरिएको छ । यस अनुसूचीमा सूचीकृत प्रजातिहरूको निकासी गर्न सम्बन्धित राष्ट्रको व्यवस्थापन निकायबाट निकासी इजाजत लिन आवश्यक हुने उल्लेख छ ।
अनुसूची १ मा भएको प्रजाति हो भने दुवै मुलुकबाट आयात र निर्यातको अनुमति चाहिन्छ । अनुसूची २ मा भएको प्रजाति छ भने त्यो सम्बन्धित निर्यात गर्ने अनुमति दिएको हुन्छ । आफैं उत्पादन गरेर बेच्ने अनुमति प्राप्त छ भने मात्र बाहिरबाट ल्याउन पाइन्छ ।
थाइल्यान्डमा जंगली अवस्थाबाट भन्दा पनि आफैं उत्पादन गरेर सजावटको रूपमा नेपालमा ल्याउने गरिएको छ । भारत पनि नेपालजस्तै साइटिसको पक्ष राष्ट्र भएकाले नेपालको जस्तो स्थानीय साइटिस कानुन निर्माण गरेको छ । ती मुलुकहरूमा यस्ता प्रजातिको निजी उत्पादन गर्न विभिन्न अवस्थामा दिने कानुन छन् । नेपालको सन्दर्भमा साइटिसमा सूचीकृत वनस्पतिको अनुमति लिएर अध्ययन गर्न मात्रै पाइन्छ । प्रजातिको व्यवस्थापन कार्ययोजना नभएकाले यसको बिक्री वितरण गर्न पाइँदैन ।
सुनाखरी प्रजातिको भाले प्रजनन अंग पुंकेशर अन्य वनस्पतिको जस्तो अलग्गै हुँदैन । यस्तै, बिउ अंकुरणका लागि आवश्यक पर्ने पोषकतत्त्व नहुँदा ढुसीको सहायतामा थोरै मात्रै उम्रन्छन् । सुनाखरीको सवालमा बिउ अंकुरण हुनका लागि बिउभित्र ढुसी पुग्नुपर्छ । त्यो ढुसी पनि निश्चित प्रकारको प्रजातिलाई हुने खालेको ढुसी हुन्छ । सूक्ष्म ढुसी प्रवेश गरेपछि पोषकतत्व पाउँछ अनि मात्रै अंकुरण हुन्छ । प्राकृतिक अवस्थामा यी जातिहरू हुर्कन पनि समय लाग्छ ।
नेपालको क्षेत्रफलको हिसाबले अर्किडहरूको विविधता धेरै नै छन् । सुनाखरीको परिवारभित्र धेरैजसो प्रजातिहरू भएकाले पनि महत्त्वपूर्ण छ । साइटिसमा सूचीकृत वनस्पतिमध्ये ७० प्रतिशत सुनाखरी छ ।
यसबारे गरिएको अनुसन्धानमा सुनाखरीको अवैध व्यापारको अवस्था गम्भीर छ । ९० भन्दा बढी जडीबुटी व्यवसायी तथा स्थानीयसँग छलफल गर्दा अवैध तरिकाले संकलन र व्यापार भइरहेको पाइएको छ । कहिले पाउडरका रूपमा, त कहिले अन्य कुनै वनस्पतिको नाममा निर्यात गर्ने गरेको पाइएको छ ।
अध्ययनकै क्रममा १ सय ५० वटा प्रजातिमा औषधीय गुण रहेको पाइएको छ । पाँचऔंले, गामडोल र डेन्ड्रोडियम धेरै नै मात्रामा संकलन भइरहेको पाइएको छ । जंगलबाट एउटै व्यक्तिले ४० केजीसम्म सुनाखरी संकलन गरेको पाइएको अनुसन्धानले देखाएको छ । संकलन गरेर ल्याइएको पाँचऔंले उमालेपछि सुकाएर बिक्री हुने गरेको छ । घरायसी प्रयोगका लागि पा“चऔंलेलाई उमालिँदैन ।
गामडोल (सेटाइरियम)को अवस्था पनि पाँचऔंले जस्तै छ । यो सुनाखरी प्रजातिको संकलन अध्ययन क्षेत्रका तीनवटै कास्की, मकवानपुर र गोरखा जिल्लामा भइरहेको छ । डेन्ड्रोडियम प्रजातिलाई संकलन गरेर विभिन्न आकारमा बनाएर पठाउँने गरिन्छ भने फोलिडाटा प्रजाति जंगलबाट एक पटकमा ६० केजीसम्म संकलन हुने गरेको छ । यो प्रजातिको सुनाखरी आधा सुकाएको अवस्थामा नै व्यापार हुने गरेको छ ।
साइटिस ऐन कार्यान्वयनमा आएपछि यो जातिको कुनै पनि प्रजाति नेपालमा बिक्री वितरणमा पूर्ण बन्देज लगाइएको छ । साइटिसको अनुसूची २ मा रहेको वनस्पतिको व्यापार प्रजातिको व्यवस्थापन कार्ययोजना बनाएर मात्रै गर्न पाइने भनिएको छ । नेपालले हालसम्म सुनाखरीका कुनै पनि प्रजातिका लागि कार्ययोजना बनाएको छैन । जंगलबाट संकलन गर्ने कार्य पनि गैरकानुनी देखिएको छ ।
साइटिस ऐन कार्यान्वयनमा आउनुअघि नेपालबाट सुनाखरीको निर्यात हुने गरेको थियो । सन् १९७७ देखि २०१६ सम्म ३८ प्रजातिका सुनाखरी निर्यात हुने गरेको ग्रिनहुड नेपालको प्रतिवेदनमा उल्लेख छ । उक्त अवधिमा ‘डेन्ड्रोबियम’ प्रजाति बढी निर्यात हुने गरेको उल्लेख छ ।
अनुसन्धानकर्ताहरुले संकलन गरेको तथ्यांकअनुसार सन् २००८ देखि २०१६ सम्म नेपालबाट ४९ हजार ७८९ केजी सुनाखरी निर्यात भएको उल्लेख छ । निर्यात भएका ९६ प्रतिशत जंगलबाट संकलन गरेर ल्याइएका थिए । यस्तै, २०१० देखि २०२० सम्म सरकारी निकायमा २८ हजार ३ सय १५ केजीसहित ७ जना मानिसहरू पक्राउ परेको तथ्याङ्क छ ।
माहुरी लगायतका किराहरू सुनाखरीका फूलमा झुम्मिने र परागसेचन प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्छ । अर्किडको बिउहरूमध्ये करिब १ प्रतिशत मात्रै अंकुरण हुने भएकाले पनि संरक्षणमा चुनौती छ । पारस्थितिकीय प्रणालीको जर्गेनाका लागि किरा, माहुरी प्रजाति, कमिला सबैलाई यसले खानाको उपलब्धता गराइदिन्छ ।
अनुसन्धानका क्रममा जडीबुटी व्यवसायीले पानी अमलाको नाममा सुनाखरीको अर्को प्रजाति शक्ति गुम्बाको अवैध निर्यात गरिरहेको देखाएको छ । हेर्दा उस्तैउस्तै देखिने भएकाले कर्मचारीसँगको मिलोमतोमा यसको निर्यात भइरहेको पाइएको छ । कुनै प्रजातिहरू पाउडरका रूपमा, सुकाएर, प्याकेजिङ गरेर अरू वस्तुको नाममा, चियाका रूपमा निर्यात हुने गरेको पनि ग्रिनहुडको अनुसन्धानमा देखिएको हो ।
आलुजस्ता देखिने डाँठजस्तो देखिने सुनाखरीका केही प्रजातिलाई तरकारी जसरी नै राखेर पनि निर्यात हुने गरेको अनुसन्धानले देखाएको छ । डिजिटल प्लेटफर्म र तल्लो तहमा पनि यो जातिको अवैध व्यापार सम्बन्धमा नियमक निकायले निगरानी बढाए यसको संरक्षणमा सघाउ पुग्ने देखिन्छ । गामडोल (सेटाइरियम) भन्ने प्रजाति पनि धेरै मात्रामा व्यवसाय भइरहेको छ ।
सुनाखरी धेरैजसो औषधि बनाउँन काम लाग्छ । कतिपय खानेकुराको स्वाद दिनका लागि पनि यसको प्रयोग हुने गर्छ । केही जातिहरू सजावटका रूपमा पनि प्रयोग हुने गर्छन् । व्यवसायीहरूले धेरैजसो कसरत गरेर स्थानीयसंगको समन्वयमा संकलन गर्न पाउँने, सजावटमा प्रयोग र आम्दानी पनि धेरै हुने भएकाले यसको अवैध संकलन हुने गर्छ । सुनाखरीको फूल, पात, जरा, काण्डलगायत विभिन्न भागहरू व्यापारमा प्रयोग हुँदै आएको छ ।
अवैध व्यापार नियन्त्रणका लागि साइटिसको व्यापार नियन्त्रण गर्ने ऐन बनाइए पनि सुनाखरीजस्तो संकटापन्न वनस्पतिको संरक्षणका लागि तल्लो तहमा समन्वय अभाव देखिएको छ । सामुदायिक वनका कार्ययोजनाहरूमा पनि संकटापन्न वनस्पतिहरूको संरक्षणका सवालमा उल्लेख भएको पाइदैन ।
सुनाखरीको पहिचान गर्ने सवालमा ट्याक्सोनोमीको अध्ययनमा जोड दिनुपर्ने हुन्छ । जटामसी, कुट्की, कालादाना, पाँचऔंले जस्ता वनस्पति हिमाली क्षेत्रबाट निकासी भइरहेको छ । पछिल्लो समय काला दाना र सेतो भदौरे भन्ने जडीबुटीको अवैध निकासी भइरहेको पाइन्छ ।
विज्ञहरूले वनस्पतिको पहिचान गर्नका लागि त्यसको आनुवांशिक (मोलुकुलर) अध्ययन गर्नुपर्नेमा पनि जोड दिएका छन् । वनस्पतिको सम्पूर्ण आनुवांशिक अध्ययन नगरेसम्म अवैध रूपमा धूलोमा परिणत गरेर वा प्याक गरेर निर्यात हुने गरेको छ । हरेक वनस्पतिको बार कोडिङ गर्दा नियमक निकायले निर्यातको सिफारिस गर्दा पनि त्रुटि देखेका छैनन् । बाहिरी आवरण हेरेर वनस्पतिको पहिचान गर्ने पद्धतिभन्दा त्यसको आनुवांशिक अध्ययन बढी प्रभावकारिता हुने विज्ञहरूको भनाइ छ । सुनाखरीको आनुवांशिक अध्ययनमा जोड दिनु पर्ने विज्ञहरुको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ १६–हलेसी मन्दिरमा चोरी ... ... ...
सविना अछामे–खोटाङ, माघ १३–जापानको तोचिगी नगर प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–साकेला ग... ... ...
सविना अछामे–खोटाङ, माघ ११–जिल्लाको दिक्तेल रु... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ९–लालुपाते ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित