घुम्टोभित्र रामप्रसाद राई

  • प्रकाशित मितिः पुष २३, २०७९
  • 329 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २३–२००७ सालका क्रान्तिका नायक रामप्रसाद राईको सालिक एक वर्षदेखि घुम्टोले छोपिएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजार टुडिखेलमा बनाइएको सालिक गत वर्षको पुसदेखि घुम्टोले छोपिएको हो ।
वडाअध्यक्ष शिवकुमार फुयालका अनुसार सालिकको काम सकिए पनि विभिन्न कारणले उद्घाटन हुन नसक्दा घुम्टोले छोपिएको हो । करिब ७९ लाखको लागतमा निर्माण गरिएको विभिन्न संरचना सहितको सालिक अहिले अलपत्र अवस्थामा छ । सालिक वरिपरि राखिएका विजुली वत्तीहरु फुटेका छन् । सालिक राखेको ठाउँमा गरिएको घेराबाराको ढोका समेत खुलै रहेकाले फोहर भएको छ । टुडिखेलमा फुटबल खेलिरहने भएकाले फुटबल तथा केटाकेटीले भत्काएको वडाअध्यक्ष फुयालको भनाई छ ।
काम सकिनसाथ गत वर्ष नै राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उद्घाटन गर्ने योजना बनाइए पनि स्थानीय तहको चुनाव आएपछि त्यत्तिकै रहेको फुयालले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीको बाहुलीबाट अनावरण गर्ने योजना बनाइए पनि स्थानीय तहको चुनाव र त्यसको आचार संहिताले उद्घाटन हुन नसकेको फुयालले सुनाए ।
२००७ सालमा क्रान्तिको नेतृत्व गर्ने राईको सम्मानमा उक्त सालिक राखिएको फुयालले बताए । खोटाङ बजारलाई पर्यटन तथा विकासको केन्द्रविन्दु बनाउँने उद्देश्यले पनि सालिक राखिएको फुयालको भनाई छ । मुर्ति सहितका विभिन्न संरचनाका लागि खोटेहाङ गाउँपालिकाको ४९ लाख र प्रदेश सरकारको ३० लाख रुपैयाँ खर्च भएको फुयालले बताए ।
उक्त ठाउँमा राईले रोपेको स्वामीको रुख पनि छ । त्यसै नजिक सालिक राखिएको हो । सन्तान वियोगमा राईले उक्त रुख रोपेको खोटाङ बजारस्थित दीनानाथ भगवती उच्च माविका पूर्व प्रअ ७९ वर्षीय माणिकलाल प्रधानले बताए । भोजपुरको बासिखोरा हालको रामप्रसाद राई गाउँपालिका–७ बासिखोरामा जन्मिएका राई तत्कालीन सेनाका लेफ्टिनेन्ट थिए । २०१८ सालअघि खोटाङ बजारमा भोजपुरको प्रशासनिक अड्डा थियो । राई त्यही अड्डामा कार्यरत थिए । त्यसै बेला कांग्रेससंग मिलेको आरोपमा २००६ सालमा जागिरबाट बर्खास्त गरिएपछि २००७ सालमा क्रान्तिको नेतृत्व गरेका थिए । त्यसपछि २००८ सालमा सिंहदरबार कब्जा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित