दुर्छिममा श्रङ्खलाबद्ध आगलागीले स्थानीय आतङ्कित

  • प्रकाशित मितिः मंसिर १७, २०७५
  • 1151 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवददाता-
खोटाङ, मङ्सिर १७–हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा श्रृङ्खलाबद्ध आगलागीले स्थानीय आतङ्कित भएका छन् । यो दुई साताको अवधिमा चार घरमा आगजनी भएपछि स्थानीय आतङ्कित भएका हुन् ।
सोमबार (आज) पनि एक घरमा आगजनी भएको छ । स्थानीय मौलबहादुर राईको घरमा आगजनी भएको हो । राती करिब दुई बजेतिर घरको धुरीबाट आगजनी सुरु भएको थियो । उनको करिब सात लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।
आगजनी भएका घरहरुमा प्राय धुरीबाट आगो सल्किएकाले शंकास्पद भएको स्थानीयले बताएका छन् । गत मङ्सिर १० गते शिरहर्क राई र कैलाश राईको, मङ्सिर ८ गते दहशेर राईको र मङ्सिर २८ गते सुरेश राईको घरमा आगजनी भएको थियो । दहशेर राईको घरमा बेलुकी नौ बजे लागेको आगो नियन्त्रण गरिसकेपछि पनि पुन दुई बजे आगो लगाइएपछि केही फटाला व्यक्तिहरुले नियतबस आगो लगाएको आशंका गरिएको स्थानीयले बताएका छन् ।
स्थानीय र प्रहरीले गस्ती गरे पनि श्रृङ्खलाबद्ध आगजनी नरोकिएको स्थानीय तामन राईले बताए । पटक–पटकको आगजनीले स्थानीय आतङ्कित भनेको राईले सुनाए । अहिलेसम्म आगनी भएका घरको धुरीबाटै आगो लाग्ने भएकाले यसलाई गहिरो गरी अध्ययन गरिनु् पर्ने राईले बताए ।
प्रहरी नायव उपरीक्षक राजकुमार केसीले भने जाडोको समयमा आगजनी भएको हुन सक्ने बताए । यसका लागि सबै सचेत हुनु पर्ने केसीले जनाए । केसीले भने–‘जाडो छ, आगो तापेपछि ननिभाइ त्यत्तिकै छाडेर सुत्ने गर्नु हुन्न ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित