दिक्तेल बजारको सडक ढलान ६० प्रतिशत
- प्रकाशित मितिः भदौ ८, २०७९
- 1204 पटक पढिएको
- संवादताता
सविना अछामे–
खोटाङ, भदौ ८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारको सडक ढलानको काम ६० प्रतिशत सकिएको छ । मानवअधिकार चौकदेखि त्रिवेणीचौकसम्म करिब ५ सय ८० मिटरमध्ये यत्तिको काम सकिएको हो ।
यो कामको ठेक्का सूर्य कन्ट्रक्सन विकास निर्माण सेवा जेवीले लिएको हो । तीन करोड ९३ लाख ४४ हजारको लागत स्टीमेट भए पनि करिब ४२ प्रतिशत कममा दुई करोड ७० लाख ४० हजार एक सय ७९ रूपैया“मा ठेक्का पारेको थियो । २०७८ मङ्सिर १० गते सक्ने गरी २०७८ असार ९ गते संझौता भएको थियो । यो सडक ढलान निर्माण अवधि गत मङ्सिर १० गते नै सकिएको थियो । त्यसपछि कोरोना लगायतका बहाना बनाएर सात महिना (चैतसम्म)को म्याद थपिएको थियो । यो अवधिसम्म ६० प्रतिशत मात्र काम सकिएको नगरपालिकाका इन्जिनियर रामहृदय पटेलले बताए । मानवअधिकार चौकदेखि त्रिवेणीचौकसम्म काम गर्ने संझौता भए पनि नेपाली कांग्रेसको कार्यालयसम्म पनि ढलान गरिएकाले त्रिवेणीचौकसम्म नपुग्ने पटेलले जनाए । उनका अनुसार पुरानो नगरपालिकासम्म पुग्ने देखिएको छ ।
बेलामा काम नसक्दा यो निर्माण कम्पनीले करिब १३ लाख रूपैया“ हर्जना समेत तिरेको छ । काम वापतको ९४ लाख ८९ हजार भुक्तानी गर्नु पर्नेमा असारसम्मको हर्जना कटाएर रकम दिइएको सघन शहरी तथा भवन निर्माण आयोजना प्रमुख तुलसीराम खर्बुजाले बताए । बेलामा काम नसकेपछि निर्माण कम्पनीसंग ठेक्का तोडी कालो सूचीमा राख्न चैतमै प्रक्रिया बढाइएको थियो । निर्माण कम्पनीको धरौटी जफतका लागि सनराइज बैंकलाई समेत पत्राचार गरिएको थियो । निर्माण कम्पनीले पेटी ठेकेदारलाई काम जिम्मा दिएकाले यो समस्या आएको आयोजना प्रमुख खर्बुजाले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले भने अहिले दु्रतगतिमा काम भइरहेको र अब छिट्टै सकिने बताए । अब उप्रान्तको कामको बारेमा कार्यतालिका बनाएर पेश गर्न लगाउ“ने र नगरे कारबाही प्रक्रिया बढाउ“ने नगरप्रमुख भट्टराईले जनाए ।