दिक्तेल बजारको सडक ढलान सक्न सघन शहरी तथा भवन निर्माण आयोजना र निर्माण कम्पनीलाई पत्राचार

  • प्रकाशित मितिः जेठ १६, २०७९
  • 1129 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–

खोटाङ, जेठ १६– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारको अलपत्र ढलान तत्काल सुचारु गर्न सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गा र निर्माण कम्पनीलाई पत्राचार गरेको छ । अलपत्र काम सात दिनभित्र काम नथाले कारबाही प्रक्रिया बढाउने चेतावनी दिदै जेठ १६ गते पत्राचार गरेको हो ।

तीन करोड ९३ लाख ४४ हजारको लागत स्टीमेट भए पनि करिब ४२ प्रतिशत कममा दुई करोड ७० लाख ४० हजार एक सय ७९ रूपैया“मा ठेक्का पारेको हो । दिक्तेलको राष्ट्रिय मानवअधिकार चौकदेखि त्रिवेणीसम्म सडक ढलानको काम सूर्य कन्ट्रक्सन विकास निर्माण सेवा जेवीले लिएको हो । २०७८ मङ्सिर १० गते सक्ने गरी २०७८ असार ९ गते संझौता भएको सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका आयोजना प्रमुख तुलसीराम खर्बुजाले बताए ।

त्यसो त यो सडक ढलान निर्माण अवधि गत मङ्सिर १० गते नै सकिएको हो । त्यसपछि कोरोनाका कारण देखाउ“दै चार महिनाको म्याद थपिएको थियो । यो अवधिमा पनि काम नसकिएपछि फेरि नगरपालिकाका निवर्तमान प्रमुख दीपनारायण रिजालको सिफारिसमा गत चैतसम्म तीन महिना थप गर्दा पनि सडक ढलानको काम अपूरो अवस्थामै छ । अहिलेसम्म ४५ प्रतिशत मात्र काम सकिएको आयोजना प्रमुख खर्बुजाले बताए । उनका अनुसार कामको मुल्याङ्कनको आधारमा ९४ लाख ८९ हजार भुक्तानी भएको छ ।

बेलामा काम नसकेपछि निर्माण कम्पनीसंग ठेक्का तोडी कालो सूचीमा राख्न दुई महिनाअघिनै प्रक्रिया बढाइएको आयोजना प्रमुख खर्बुजाको भनाई छ । उनका अनुसार निर्माण कम्पनीको धरौटी जफतका लागि बैंकलाई पत्राचार गरिएको छ । सिरहास्थित सनराइज बैंकलाई धरौटी जफतका लागि पत्राचार गरिएको खर्बुजाले सुनाए । उक्त बैंकले जमानतको सक्कल माग गरेकाले केही ढिलो हुन गएको उनको भनाई छ । निर्माण कम्पनीले म्याद गुजारेपछि हर्जना भने गत चैतदेखिनै तिर्नु परेको छ । आगामी असारसम्मको हर्जना वापत करिब १३ लाख रूपैया“ कटाएर भुक्तानी गरिएको आयोजना प्रमुख खर्बुजाको भनाई छ ।

निर्माण कम्पनीले पेटी ठेकेदारलाई काम जिम्मा दिएकाले यो समस्या आएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका रोशन राईलाई पेटी ठेक्का दिएको हो । सडक ढलान अलपत्र बारेमा प्रशासनले पनि पटक–पटक ताकेता गरेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए । ठेकेदार मात्र होइन सम्वन्धित कार्यालय सघन शहरी तथा भवन निर्माण आयोजना पनि जिम्मेवार हुने भएकाले दुबैलाई प्रशासनिक कारबाही बढाउ“ने प्रजिअ दाहालले जनाए ।

ढलानका लागि बजारको सडक भत्काइएकाले ब्यापार व्यवसाय नै चौपट भएको दिक्तेलस्थित व्यवसायी गुणराज सैंजूको भनाई छ । यातायात समेत अबरुद्ध भएकाले बनाइएको ढल पनि पुर्ने तयारी गरिएको अर्का व्यवसायी नवराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित