जनप्रतिनिधिहरुको बेवास्ताले भुलभुले धरापमा
- प्रकाशित मितिः मंसिर १०, २०७५
- 1179 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता-
खोटाङ, मङ्सिर १०–जिल्लास्थित जनप्रतिनिधिहरुको बेवास्ताले धार्मिक तथा पर्यटकीय भुलभुले धरापमा परेको छ । मध्यपहाडी लोकमार्ग निर्माणले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीयस्थल भुलभुले धरापमा परेको हो ।
सडक तथा पुल निर्माणले भुलभुलेको भविष्य लगभग समाप्त जस्तै देखिएको छ । यसबारेमा जनप्रतिनिधिहरुले ध्यान नदिदा यो अवस्था आएको स्थानीयले गुनासो गरेका छन् ।
यससम्बन्धी समाचारहरु प्रकाशनपछि कात्तिक ३० गते स्थलगत अनुगमनमा पुगेका सांसद सहितको टोलीलाई निर्माणमा संलग्नहरुले सुरक्षित रहने बताएपछि मक्ख परेर फर्किएका छन् । तर यथार्थमा भुलभुलेको भविष्य संकटमै छ । भुलभुलेको गेटैनेर सडक पुग्ने र कालान्तरमा सडकको चौडाइ बढ्ने भएकाले भुलभुलेको संरचना समेत नष्ट हुने भएको छ । सडकका साथै पुल निर्माण गर्दा एक्साभेटर प्रयोग गरिने भएकाले त्यसको कम्पनले भुलभुलेको पानी भाग्न सक्ने सम्भावना बढी देखिएको छ ।
यसप्रति अनुगमनमा पुगेका प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्यद्वय रामकुमार राई र राजन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राईलगायत गम्भिर नभएकाले निर्माणमा संलग्नले आश्वास्त पार्दा विश्वस्त भएको स्थानीयको गुनासो छ । सामान्य हिसावले हेर्दा समेत भविष्य संकटपूर्ण देखिने भएकाले यसप्रति गम्भिर नभएको स्थानीयको गुनासो छ । त्यसो त यसबारेमा नगरपालिका बढी सचेत हुनु पर्ने थियो । भुलभुलेमा करिब ३५ लाख रुपैया“ गरिए पनि त्यसको भविष्यप्रति सचेत नहुदा यस्तो अवस्था आएको हो । पार्किङ लगायतका अन्य पूर्वाधारहरुमा समेत ध्यान दिइएको छैन । अब बन्ने मध्यपहाडी लोकमार्गले पार्किङ त परैजाओस् भुलभुलेको सेपैबाट गाडी गुडाउ“ने सडक निर्माण गर्ने भएकाले भुलभुलेको भविष्य लगभग समाप्त जस्तै भएको छ ।
मध्यपहाडी लोकमार्ग हेर्न इन्जिनियर भरत आचार्यले भुलभुलेको भविष्य संकटमा पर्ने भए पनि काम गर्न वाध्य भएको बताए । ‘हामीले केही गर्न सक्दैनौं ।’ आचार्यले भने–‘भुलभुले संकटमा पर्ने थाहा हुदा–हुदै पनि नक्सा अनुसार काम गर्नै पर्छ ।’ उनले थपे–‘सम्वन्धित निकायले परिवर्तन गरे हामी त्यसै अनुसार काम गर्छौं ।’ उनी भन्छन्–‘यसका लागि नगपालिकाले पहल गर्नु पर्छ ।’ नगरप्रमुख दीपनारायण रिजालले भने भुलभुले सुरक्षित हुने बताएका छन् । भुलभुलेको सुरक्षाको बारेमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई र प्रदेशसभा सदस्य रामकुमार राईले सम्वन्धित निकायमा पहल गर्ने बताएका छन् ।