दिक्तेल आगलागीमा तीन करोड बराबरको क्षति

  • प्रकाशित मितिः कार्तिक २३, २०७५
  • 1070 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
दिक्तेल (खोटाङ) कात्तिक २३–खोटाङको दिक्तेलमा सुक्रबार बिहान आगलागीमा झण्डै तीन करोड क्षति भएको प्रहरीले जनाएको छ । विहान करिब साडे तीन बजेबाट सुरु भएको आगोले दिक्तेल बजारको रत्नपार्कस्थित अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर पूर्ण रुपमा आगो नियन्त्रण क्रममा क्षति पुगेका दुई घर गरी दुई करोड ९० लाख ९२ हजार बराबरको क्षति भएको हो ।
प्रहरीका अनुसार अम्बिका बुढाथोकीको एक करोड २५ लाख, कृष्णकुमार श्रेष्ठको एक करोड २४ लाख, अम्बिका बुढाथोकीको घरमा होटल तथा कपडा पसल सञ्चालन गर्ने रमेश खत्रीको ३५ लाख ३० हजार र डेरामै बस्ने अब्दुल अहिम रायमको ६२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका क्रममा भत्काइएका राजु श्रेष्ठको तीन लाख र नवीन गुरुङको तीन लाख बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।
नेपाल प्रहरी, सशस्त्र, सेना तथा स्थानीयले आगो नियन्त्रण गरेका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दमकल सञ्चालन नहुदा स्थानीय आक्रोशित बनेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले भने दमकल चालक दिक्तेलमा नभएकाले अग्नि नियन्त्रणमा प्रयोग हुन नसकेको बताए । आगलागीको कारण अझै खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताए ।
पीडितलाई राहत :
आगलागी पीडित कृष्णकुमार श्रेष्ठ र अम्बिका बुढाथोकीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ५०/५० हजार राहत दिएको छ । जिल्ला विपद् उद्धार तथा व्यवस्थापन समितिले आगलागी पीडितद्वयलाई १५/१५ हजार नगद प्रदान गरेको छ । त्यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–१ ले दश/दश हजार र खोटाङ उद्योग वाणिज्य संघले पनि दश/दश हजार नगद उपलब्ध गराएको छ । रेडक्रसले भा“डाकु“डा, पाल, कम्बल लगायतका लत्ता कपडा उपलब्ध गराएको छ । दिक्तेल बजार सामाजिक गुढीले अग्नि पीडित कृष्णकुमार श्रेष्ठलाई २५ हजार नगद उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित