एमालेको विघटन अपरिहार्य : टंक राई

  • प्रकाशित मितिः बैशाख २१, २०७९
  • 830 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २१–नेकपा माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष टंक राईले कम्युनिष्टका लागि एमालेको विघटन अपरिहार्य भएको बताएका छन् । बैशाख २१ गते आयोजित पत्रकार सम्मेलनमा राजा, हिन्दूधर्म लगायतका एजेण्डा बोकेको शक्तिसंग चुनावी गठबन्धन गर्ने प्रतिगमनकारी एमाले विघटन अपरिहार्य भएको राईले बताएका हुन् ।
परिवर्तन गर्न नचाहने देशी–विदेशीहरुको प्रतिनिधि पात्र केपी ओली भएको र उनले नेतृत्व गरेको एमाले पनि प्रतिगमनकारी पार्टी भएकाले पराजित गर्नु पर्ने वाध्यता आइपरेको राईले बताए । वाम–लोकतान्त्रिक शक्तिले विभिन्न काल खण्डमा खास–खास परिवर्तन गरेको इतिहास भएकाले यो चोटीको चुनावमा पनि निर्वाचनमा अर्को इतिहास रच्ने राईको भनाई थियो । ‘२००७ साल, २०१७ साल २०४६ र २०६२/६३ मा वाम–लोकतान्त्रिक शक्तिहरुको आन्दोलनले नै मुलुकमा परिवर्तन ल्याएको हो ।’ राईले भने–‘यो चोटीको पनि वाम–लोकतान्त्रिक शक्तिले उल्लेख्य परिवर्तन गर्ने अवसर जुटेको छ ।’
प्रतिगमनकारीलाई परास्त गर्न वाम–लोकतान्त्रिक शक्तिहरुको गठबन्धन गर्नु परेको राईले बताए । यो गठबन्धन प्रतिगामी शक्तिहरुलाई परास्त नभइन्जेलसम्म हुने राईले दाबी गरे । आउ“ने चुनावमा कसैको पनि बहुमत नहुने भएकाले गठबन्धन गरेर पारदर्शी र जनमुखी सरकार सञ्चालन गर्ने र त्यसपछिको राजनीतिक परिवेशले स्थायी सरकार बन्ने राईले बताए ।
वाम–लोकतान्त्रिक शक्तिदेखि तर्सिएर प्रतिगामीहरुले निर्वाचन आचार संहिता उलङ्घन गर्दै विभिन्न सामग्रीहरु वितरण गर्न थालेको घटना बाहिरिएको र यसमा स्थानीय सत्ता तथा प्रहरी प्रशासन पनि उदासीन बनेकाले यसको विरुद्ध वाम–लोकतान्त्रिक गठबन्धनमा आवद्ध दल उत्रन पर्ने वाध्यता नआओस् भन्ने लागेको राईले बताए । यस विषयमा कर्मचारीहरु समेत सामेल भएको देखिएकाले सही ढंगले बस्न पनि राईले आग्रह गरेका छन् । ‘आचार संहिता कार्यान्वयनमा जिल्लाका प्रहरी, प्रशासन उदासीन देखिएको छ ।’ राईले भने–‘यसको विरुद्धमा हाम्रो गठबन्धन आवद्ध दल उत्रनु पर्ने वाध्यता नआओस् ।’
कांग्रेस केन्द्रीय सदस्य सरस्वती बजिमयले सहकार्य र एकताले वाम–लोकतान्त्रिक गठबन्धनको जित हुने बताइन् । यसका लागि केन्द्रको निर्देशन पालना गर्नु पर्ने धारणा राखिन् । कांग्रेस महाधिवेशन प्रतिनिधि सुवाश पोखरेलले चुनावमा जितका लागि तल्लो तहसम्म मजबुद गठबन्धन हुने बताए । यसका लागि जवाफदेही हुनु पर्ने पोखरेलको भनाई थियो । ‘अनिमात्र लोकतन्त्र मजबुद हुन्छ ।’ पोखरेलले भने ।
विरोध र प्रतिष्पर्धा फरक भएकाले विरोधी नभई प्रतिष्पर्धी हुनु पर्ने पोखरेलले धारणा राखे । चुनावको बारेमा अवस्था हेरेर थप रणनीति तय गरिने पोखरेलले बताए । ‘२५–२६ गतेतिर चुनावको आ“कलन कस्तो रहन्छ, त्यसपछि फेरि रणनीति बनाइन्छ ।’ पोखरेलले भने–‘एमालेलाई कुनै पनि हालतमा जित्न दिइने छैन ।’
नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य समिता कार्कीले गठबन्धनमा अविश्वास सिर्जना हुने वातावरण हुन नदिने बताइन् । सुरुमा केही कमिकमजोरी देखिए पनि त्यसलाई सुधारेर लाने समेत कार्कीले जनाइन् । चुनाव आचार संहितालाई उलङ्घनका घटना भएकाले यसलाई सूचीत गर्नु पर्ने कार्कीको भनाई थियो ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सूर्यबहादुर राईले भने कांग्रेस र माओवादीले सुरुको चरणमा गरेको सहमती कार्यान्वयन नगरेको गुनासो गरे । यद्यपि आफ्नो पार्टी इमानदारपूर्वक तरिकाबाट दशै निर्वाचनमा परिणाम देखिने गरी लागेको राईले बताए । नेकपा एकीकृत समाजवादी खोटाङका सचिव राजन आचार्यले तल्लो तहसम्म मजबुद गठबन्धन नभएको, कांग्रेस–माओवादी बीचमा समस्या आएको, मतदाता शिक्षा लगायतका विभिन्न तगाराहरुले चुनावमा प्रतिकूल परिणाम आउ“न सक्ने भएकाले बेलैमा सचेत रहनु पर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित