रैथाने खाना महोत्सव सकियो

  • प्रकाशित मितिः वैशाख २, २०८३
  • 15 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २–चखेवा भन्ज्याङमा आयोजित रैथाने खाना महोत्सव समापन भएको छ । रैथाने परिकार तथा कृषि उत्पादनको बजारीकरण र मुन्दुम ट्रेलको प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको २ दिने महोत्सव बैशाख २ गते समापन भएको हो ।
चखेवा होटल व्यवसायी संघको आयोजना तथा टेम्के मैयु गाउँपालिका, ट्रेलबेस टुरिजम डेभलोपमेन्ट प्रोजेक्टको प्रायोजनमा भोजपुरको टेम्के मैयु गाउँपालिका–४ चखेवा भन्ज्याङमा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुखुराको वाचिपा, सुगुरको भुटुवा, माछा, पाहा, दही, महि, घिउ, मह, गुद्रुकको अचार, भुटेको मकै, कोदो तथा फापरको रोटी, कोदो र फापरको मःमः, भेडाको भुटुवा, सुगुरको ढुङ्गामा पोलेको सेकुवा लगायतका रैथाने परिकारहरू राखिएको चखेवा होटल व्यवसायी संघका अध्यक्ष विवेक कुलुङ राईले बताएका छन् । पेय पदार्थहरूमा तुङ्बा, कोदोको रक्सी, छनुवा जाँच, किवीको रक्सी लगायतका परिकारहरू समेत महोत्सवमा समावेश गरिएको महोत्सव अवलोकनमा पुगेका पर्यटन व्यवसायी रमेशकुमार राईले जनाएका छन् ।
यसबाहेक कृषि उत्पादनहरू मकै, अदुवा, बेसार, किवी लगायतका सामग्री समेत राखिएको आयोजकले जनाएको छ । यसका साथै स्थानीय लोक नृत्य मारुणी, साकेला लगायत समेत प्रस्तुत गरिएको छ । त्यस्तै बाँसको भाले निकाल्ने, डोरी तान्ने लगायतका मनोरन्जनका कार्यक्रमहरू प्रस्तुत गरिएको छ । महोत्सवमा करिब १२ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ । कोशी प्रदेशसभा सदस्य विनोद वान्तवाले उद्घाटन गरेको महोत्सवको समापन टेम्के मैयु गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित