नुनथलामा निर्माणाधीन गुम्बा अलपत्र (भिडिओ सहित)

  • प्रकाशित मितिः मंसिर १३, २०८२
  • 204 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर १२–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित करोडौंको बजेटमा निर्माणाधीन गुम्बा अलपत्र परेको छ । आर्थिक वर्ष २०७५÷७६ मा सुरु गरिएको ल्हाज्यालो वाङ्थिप गुम्बा निर्माण अलपत्र परेको हो ।
स्थानीय जितबहादुर तामाङका अनुसार गुम्बा निर्माण उपभोक्ता समितिले बजेटको सही सदुपयोग नगर्दा निर्माण अलपत्र परेको हो । उक्त गुम्बा करिब २१ करोडको लागतमा पाँच वर्षभित्र सक्ने गरी निर्माण सुरु गरिएको थियो । आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाको १५ लाख र आर्थिक वर्ष २०७६/७७ मा तत्कालीन प्रदेश नं १ को ९९ लाख रूपैयाँ बजेट, गुम्बा निर्माणमा खर्च गरिएको थियो । प्रदेश सरकारले एक करोड ५० लाख रूपैयाँ विनियोज गरे पनि उपभोक्ता समिति मार्फत काम गर्दा एक करोड भन्दा कम बजेटमा मात्र गर्न मिल्ने भएकाले बजेट टुक्राइएको तामाङले सुनाएका छन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले उपलब्ध गराएको १५ लाख रूपैयाँबाट जगवीर तामाङको अध्यक्षतामा बनेको उपभोक्ता समितिले गुम्बाको घडेरी सम्याएको थियो । प्रदेश नं १ बाट उपलब्ध ९९ लाख रूपैयाँको बजेट चाहिँ महेश तामाङको अध्यक्षतामा बनेको उपभोक्ता समितिले खर्च गरेको थियो । यति मात्र होइन, स्थानीयले चन्दा वापत सङ्कलन गरेको रकम पनि सही सदुपयोग नभएको समेत तामाङको भनाइ छ ।
उक्त गुम्बा तत्कालीन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हेलिकोप्टरमार्फत आएर उद्घटन गरेका थिए । यत्तिको रकम खर्च गरिए पनि गुम्बाको जग मात्र तयार भएको छ । कार्यसम्पादन मुल्याङ्कन चित्त बुझ्दो नभए पनि नगरपालिका र प्रदेशले फरफारक गरेकोप्रति स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित