एडीबी प्रतिनिधि र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकद्वारा दूधकोसी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण

  • प्रकाशित मितिः कार्तिक १५, २०८०
  • 432 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १५–एशियाली विकास बैंक (एडीबी)का कन्ट्री डाइरेक्टर अर्नर्ड कुस्वा, एडीबीका हेडक्वाटरका रमेश सुब्रमन्याम र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दूधकोसी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । मुआब्जा प्रक्रियानै अल्झिरहेको बेला कात्तिक १५ गते स्थलगत अनुगमन गरेका हुन् ।
अनुगमनको क्रममा आयोजनाबाट प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसंग समेत छलफल गरेका छन् । हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राई, रावाबेसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ, ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्मा लगायतसंग छलफल गरेका छन् । यसक्रममा आयोजनाबाट प्रभावितहरुलाई मुआब्जा वितरण गरी यथासिघ्र बढाउँन अनुुरोध गरेको हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राईले बताइन् ।
दूधकोसी जलविद्युत आयोजनाको जग्गा रोक्का गरिएको दुई वर्ष बितिसक्दा मुआब्जा नदिएको भन्दै प्रभावितहरुले गुनासो गर्दै आएका छन् । यत्तिका समय बितिसक्दा पनि स्थानीय प्रशासनको बेवास्ताले मुआब्जा निर्धारण नभएको भन्दै गुनासो गरेका हुन् ।

3
छ सय ३५ मेगावाट क्षमताको जलविद्युत आयोजनाका लागि रोक्का गरिएको पाँच हजार आठ सय २६ कित्ता जग्गाको मुआब्जा निर्धारण गर्न नसकेको प्रभावितहरुको गुनासो छ । भएभरका सबै जग्गा सरकारले रोक्का गरेको तर मुआब्जा नपाउँदा आफूहरुलाई नरमाइलो लागेको रावाबेसी गाउँपालिका–३ की ७० वर्षीया चिनामायाँ माझीको भनाई छ । रोक्का गरिएको जग्गाको मुल्य निर्धारण अब चाँडै नै हुने खोटाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए
खोटाङको रावाबेसी गाउँपालिका–३ लामीडाडाँ र ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने दूधकोसी नदीस्थित रभुँवाघाटबाट उक्त विद्युत उत्पादन गर्न खोटाङतर्फको जग्गा दुई वर्ष पहिले रोक्का गरिएको थियो । खोटाङको रावाबेंसी गाउँपालिका वडा नं १,२,३,४,५,६, ऐंसेलुखर्क गाउँपालिकाको वडा नं ४, ५ र ६ र हलेसी तुवाचुङ नगरपालिकाको वडा नं ५, ७, ८ र ९ का केही वस्तीहरू समेत गरी करिब १५ हजार रोपनी जग्गा अधिग्रहणको प्रक्रिया बढाइएको थियो । यसमध्ये १३ हजार रोपनी जग्गा २०७८ मङ्सिरमा र दुई हजार जग्गा फागुन–चैतमा रोक्का गरिएको थियो ।

5
ओखलढुङ्गामा डेढ वर्षअघि जग्गा रोक्का गरिए पनि मुआब्जा निर्धारण हुन सकेको छैन । आयोजनामा लगानी कर्ताको बजेट सुनिश्चितता नहुदा मुल्य निर्धारण ढिलाई भएको हो । ओखलढुङ्गाको चिसङ्खीगढी गाउँपालिकाका पाँच वडाका दुई हजार चार सय २१ कित्ता जग्गा, घर, गोठ, टहरा र रुख–बिरुवा, वडा नम्बर १ साविक कुइभिर गाविसका एक हजार एक सय ४९, वडानम्बर २ (साविक पोखरे गाविसका दुई सय ५३ घरपरिवार, वडानम्बर ३ साविक दियाले गाविसको छ सय, वडानम्बर ६ साविक भदौरे गाविसको तीन सय ७१ र वडानम्बर ७ साविक माम्खा गाविसका ४८ र सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको वडा नं ४ र दूधकौशिका गाउँपालिकाको वडा नं ३ र ४ का जग्गा रोक्का गरिएको छ ।

4
आर्थिक वर्ष ७७÷०७८ बाट राष्ट्रिय गौरवको आयोजनाको प्राथमिकतामा राखिएको यो आयोजनामा झण्डै दुई खर्ब खर्च हुने अनुमान गरी बजेत विनियोजन गरिएको थियो । यसका लागि एसियाली विकास बैङ्क, युरोपली लगानी बैङ्क, एसीयाली पूर्वाधार लगानी बैङ्क र कोरियाली एक्जिम बैङ्कको संयुक्त लगानी रहने बताइएको थियो । यो आयोजनाले खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका नौ सय ८८ घरपरिवार प्रभावित हुने भएको हो । उक्त क्षेत्रका आठ सय ७६ हेक्टर जमिन डुबानमा पर्ने छ । लामिडाडाँको रभुवाबाट १३ दशमलव ५ किलोमिटर लामो सुरुङ मार्फत हलेसी तुवाचुङ नगरपालिकाको धितुङमा पानी खसाएर विद्युत उत्पादन हुने छ । जलाशय क्षेत्र १७ किलोमिटर दूधकोसी नदीमा, ठोट्ने खोलामा पाँच दशमलव पाँच किलोमिट, रावाखोलामा आठ किलोमिटसम्म फैलने छ । एक हजार दुई सय पाँच मिटर लामो दुई वटा पक्की डाइभर्सन सुरुङबाट छ सय मेगावाट विद्युत् उत्पादन हुने छ भने ड्यामदेखि तल्लोपट्टीको भागबाट ३५ मेगावाट गरी कुल छ सय ३५ मेगावाट विद्युत् उत्पादन हुने छ ।

6
आयोजनाले तीन जिल्लाका एक हजार एक सय ५० घरधुरी प्रत्यक्ष प्रभावित हुने छन् । यसअन्तरगत खोटाङका छ सय ५७, ओखलढुङ्गाका चार सय ७९ र सोलुखुम्बुका चार घरधुरीलाई असर पर्ने डिपिआरमा उल्लेख छ । यसमध्ये एक सय ६२ घरधुरी अति प्रभावित हुने र एक सय आठ घर भने पूरै पानीमुनि हुने छ । खोटाङमा ८१, ओखलढुङ्गामा २५ र सोलुखुम्बुमा दुई घर पर्ने छन् । जलाशयको क्षेत्र १९ दशमलव सात वर्ग किलोमिटर रहनेछ । यसको कुल क्षमता १५८.१ करोड घनमिटर रहनेछ । आयोजना निर्माणको क्रममा अहिले सञ्चालन भइरहेका विभिन्न किसिमका भौतिक संरचनाहरूमा समेत क्षति पुग्नेछ । यसअन्तरगत १२ वटा झोलुंगे पुल, दुई वटा पक्की पुल, छ वटा मन्दिर, दुई वटा लघु तथा साना जलविद्युत, आठ वटा घाट, चार वटा चौतारा मासिने छन् । एउटा बाल सिकाइ केन्द्र, एउटा सामुदायिक भवनमा समेत क्षति पुग्ने छ ।

तस्बिर सौजन्य : विमला राई (प्रमुख, हलेसी तुवाचुङ नगरपालिका)

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित