गोठस्टे : अवधारणा

  • प्रकाशित मितिः बैशाख २४, २०७८
  • 1378 पटक पढिएको
  • संवादताता

टंक राई
पृष्ठभूमि :
किराँत धर्मशास्त्र मुन्धुममा सालपा र शिलिचुङलाई अत्यन्त महत्व दिइएको छ । पवित्र र करिब सर्वोच्च स्थान छ, सालपा र शिलिचुङको । यसै मुन्धुुमी पवित्र गन्तव्यलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले सुरुवात गरिएको छ, मुन्धुुम ट्रेल । चखेवादेखि सुरु हुने यो ट्रेल शिलिचुङमा सकिन्छ । मध्य पहाडी भूभागमा अवस्थित यो पदमार्ग लगभग ३००० मिटर उचाईदेखि सुरु भई ४१५३ मिटरमा टुङ्गिन्छ । 
डाडैडाडा हिड्नु पर्ने, प्रायः हिमाल देखिने र प्राकृतिक विविधताले भरिपुर्ण यो पदमार्ग नेपालको मध्य पहाडी पदमार्गहरुम सबैभन्दा लोकप्रिय पदमार्ग हुने सम्भावना बोकेको गन्तव्य हो, मुन्धुम पदमार्ग । तर यसलाई बचाउने, व्यवस्थित गर्ने काम चुनौतिपूर्ण छ ।
सामान्यतया पहाडी भूभागमा २५०० मिटरमाथि वस्ती बस्ने गरिन्न । त्यस्तै यो पदमार्गमा कुनै गाउँ भेटिन्न । मानव बस्ती नभएकोले कुनै नौलो मान्छे त्यस ठाउँमा जादा बस्ने ठाउँ र पानीको मुहान थाहा नपाउदा अलपत्र पर्ने सम्भावना हुन्छ ।
राम्रो घासे मैदान प्रसस्त भएकोले पशुपालनको उत्तम ठाउँ हो यो । चखेवादेखि नै धेरै गोठहरु यो मार्गमा पाइन्छन् । गाउँ घर नभेटिए पनि गोठहरुले मानवीय उपस्थिति गराएको छ । 
हाल नेपालमा होमस्टे लोकप्रिय बनिसकेको छ । होमस्टे भनेको घरमै पाहुना राख्ने व्यवस्था हो । नेपालको ग्रामीण पर्यटनको एक हिस्सा बनेको छ यो । प्रोडकट पनि र पर्यटकका लागि पूर्वाधार पनि । तर मुख्य मुन्धुम ट्रेलमा कुनै गाउँ छैन । त्यसैले यो पदमार्गमा होमस्टे सम्भव छैन । (हाँस पोखरीको होमस्टे वास्तविक होमस्टे होइन । सिर्फ पाहुना घर हो ।) पर्यटकको मनोरञ्जन र बसोबासको व्यवस्था यो पदमार्गको चुनौति रहेको यो बेला ‘गोठस्टे’ उपयुक्त विकल्प हुन सक्छ ।
गोठस्टे : जसरी घरमा पाहुना राख्ने होमस्टे हो, त्यस्तै गोठमा पाहुना राख्ने गोठस्टे । अहिले भएको गोठहरुमा पनि मानिस बस्छन् । यसलाई अलिकति सुधार गरेर पाहुना बस्न सक्ने बनायो भने काइदाको गोठस्टे हुन्छ । नयाँ प्रोडक्ट पनि, पर्यटकको सुबिधा पनि ।
यो पदमार्गमा रहेका गाई, चौरी र भेडाको धेरै गोठहरु पर्यटकको हाल पनि आश्रय बनेका छन् । यिनै गोठहरुलाई व्यवस्थित गरेर गोठस्टे संचालन गर्न सकिन्छ ।
१) गोठ्हरुलाइ अलिकति फराकिलो बनाउने ।
२) लिपपोत गरेर सफा सुग्घर बनाउने ।
३) चर्पी (सके नुहाउने ठाँउ पनि) को व्यवस्था गर्ने ।
४) ओढ्ने, ओछ्याउनेको व्यवस्था गर्ने ।
५) चुल्हो सुधार गर्ने ।
यति व्यवस्था गर्न सके यो पर्यटकको आवाश बनाउन सकिन्छ । यसमा मनोरञ्जन समेत जोड्न सकिन्छ ।
किन गोठस्टे ? :
१) पर्यटन भनेको आफ्नै पना अर्थात युनिक हुनु पर्छ । सबैतिर भएको वस्तु वा गतिविधि हेर्न कोही आउदैन । यो ट्रेलमा गोठस्टे सुरु गर्न सकिए यो आफैमा नौलो हुनेछ ।
२) अहिलेको  समाजमा गोठ संस्कृति हराउँदै गएको छ । केही दशक अघिसम्म यो हाम्रो पहाडी र हिमाली जीवनको अभिन्न अंग थियो । गोठस्टेले हाम्रो इतिहास र पुरानो संस्कृति जोगाउन मद्दत गर्छ । कतिपय मानिस त यसैको लागि मात्र पनि आउछन् ।
३) गाई, चौंरी, भेडा आदि जनावर नदेख्ने बालबालिका, किशोर र युवा जमात अहिले थुप्रै छ्न । उनीहरुको लागि यो आफैमा प्रदर्शनी हुनेछ ।
४) सहरमा उपलब्ध सुविधा सहर मै उपभोग गर्न सक्छन् मानिसले । त्योभन्दा फरक स्वाद गोठले दिन्छ ।
५) सुविधा सम्पन्न होटेल लज जहाँ पनि खोल्न सकिन्छ । तर जीवन्त गोठ चाहेर पनि अन्यत्र गर्न सकिन्न । त्यसैले यो आफैमा अनौठो प्रडक्ट हुन्छ ।
६) आफूसंग भएको कुरालाई व्यवस्थापन गर्न सजिलो र कम खर्चिलो हुन्छ ।
बसोबास र अन्य :
१) राती क्याम्प फायर ।
२) चौरी, भेडा तथा गाई हरु सङ सङ्गै मानिस, तर निस्चित दुरी काय्म गरेर ।
३) दूध धोएर ताजा दूध, घिउ, मोही खुवाउने ।
४) अर्गानिक खाना खुवाउने ।
५) जंगली खानेकुरा खुवाउने, जस्तो कि च्याउ, निगुरो, सिस्नु, झ्याउ, कुकुर दाइने आदि ।
६) जंगली फलफूल , जस्तै काफल, ऐसेलु, चुथ्रो आदि ।
७) खास गरी शेर्पा र किरात राईको परम्परागत खाना खुवाउने ।
८) यसका साथै नाचगानको समेर व्यवस्था गर्न सकिन्छ ।
कठिनाई :
१) यस क्षेत्रका गोठहरु मौसमी छन । बर्खा याममा मात्रमाथि आउने । यसलाई सधैं कसरी संचालन गर्ने ?
२) गोठको प्रकृति घुमन्ते हुन्छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने ।
३) यसका अलावा सुरक्षा, संचार, उपचार र उद्दार कसरी व्यवस्थित गर्ने ।
अन्तमा :
१) मुन्धुम ट्रेल ध्वस्त हुनबाट जोगाउन, वन विनास रोक्नु, मोटर बाटोबाट बचाउनु जरुरी छ । 
२) केही समयपछि नै मोटरको धुवाँ र आवाज नसुनिने गन्तव्य मानिसको सबैभन्दा प्रिय गन्तव्य हुनेछ । सालपा शिलिचुङ बाच्यो भने यसले त्यो अवसर र ३) गौरव पाउने छ । यसका लागि माथिल्लो भेगका जनतालाई स्थानीय सरकारले ढुवानीमा अनुदान दिएर भए पनि भर्जिन ल्याण्डका रुपमा यस क्षेत्रलाई बचाउनु पर्छ ।
गुराँस यस क्षेत्रको अर्को आकर्षण हो । दाउराका रुपमा यसैको धेरै विनाश भइरहेको छ । यसलाई तुरुन्त रोक्नु जरुरी छ ।
त्यसैले यो गोठस्टे संचालन गर्न ढिला गर्न हुदैन । आवस्यक तालीम र संयोजन गरी छिटोभन्दा छिटो संचालन गर्न सके सबैलाई फाइदा हुनेछ ।
प्रकाशित मिति २०७८ बैशाख २४

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित