हलेसीको सम्भावना

  • प्रकाशित मितिः असार ९, २०७७
  • 1168 पटक पढिएको
  • संवादताता

टंक राई
हलेसीलाई कसैकसैले पूर्वको पशुपति भनेको पनि सुनियो । यो भनाइ बिल्कुल गलत हो । यो आफ्नै विशेषतायुक्त हलेसी हो । यो पूरै नेपालको हलेसी हो ।
हलेसीलाई महादेवस्थान भनिएतापनि यो स्थान त्रीधार्मिक महत्व बोकेको स्थान हो भन्ने अहिले सबैलाई थाहा भइसकेको छ । किरात, हिन्दु र बौद्ध धर्म, संस्कृति र सभ्यताको संगम हलेसी सामाजिक सद्भाव र सांस्कृतिक सहअस्तित्व र समागमको प्रतिक पनि हो । यहाँ धार्मिक आस्था राख्ने ३ नै समुदायका लागि पवित्र भूमि र अन्यका लागि सांस्कृतिक सम्मिलन र प्राकृतिक दृष्यावलोकनका लागि अभूतपूर्व रहेको यो स्थल अत्यन्त धेरै सम्भावना बोकेको ठाउ“ हो । यसको राम्रो व्यवस्थापन गर्न सके यसले आफ्नो छुट्टै पहिचान सहित स्थानीयको जीवनस्तर उठ्ने गरी आय आर्जन गर्ने थलो मात्रै होइन देशकै लागि समेत आर्थिक योगदान गर्न सक्ने आधार भएको ठाउ“ हो हलेसी । यस्तो ठाउ“को व्यवस्थित विकासका लागि सबै क्षेत्रको ध्यान जान जरुरी भइसकेको छ । आर्थिक श्रोत, विषय विशेषज्ञता, अनुभव र अन्य क्षमताका कारण स्थानीय जनता र स्थानीय निकायको मात्रै पहल र सक्रियताले यसको समूचित विकास सम्भव छैन । यसका लागि प्रदेश सरकार र संघीय सरकार मिलेर अघि सर्नु पर्दछ । यसै सन्दर्भमा केही समय अघि संघीय सरकारले यसलाई आफ्नो मातहत राख्ने निर्णय गरेर स्वागत योग्य काम गरेको छ । स्थानीय नगरपालिकाको सक्रियतामा गुरु योजना निर्माणको काम समेत अघि बढ्नाले यसको विकासमा सबैको सचेत प्रयास भइरहेको छ भन्न सकिन्छ । यस सानो टिप्पणीमा केही साना तिना कुरा उठाउन खोजिएको छ । 
हलेसीको महत्व : हलेसी मानव निर्मित नभएर यो प्राकृतिक निर्मित गुफा हो । धार्मिक आस्था राख्नेहरुका निम्ति यो गुफा स्वयम् भगवानले निर्माण गरेको अलौकिक मन्दिर हो । यसको सबैभन्दा ठूलो महत्वको पक्ष भनेको नै यसको प्राकृतिक स्वरुप हो । यसलाई भौतिक निर्माणद्वारा धेरै सिंगार पटार गर्न खोज्दा प्राकृतिक स्वरुप नष्ट हुन जाने भएकाले यसको प्राकृतिक स्वरुपलाई हानी नोक्सानी पु¥याउने कुनै पनि काम गर्नु हुन्न । अहिले जथाभावी गरिएको संरचनाको निर्माणले गुफाको प्राकृतिक स्वरुपलाई त बिगार्ने काम भएको छ । गुफाको दीर्घ जीवनलाई समेत गंभिर खतरा निम्त्याएको छ । अधिकाधिक रुपमा भइरहेको सिमेण्टको प्रयोगले पनि सम्पदालाई नोक्सान पारेको र कुरुप बनाएको छ । गुफाको मुखैमा र गुफामाथि निर्माण गरिएको संरचनाले गुफालाई खतराको घण्टी बजाइरहेको छ । धार्मिक आस्था राख्ने र नराख्ने दुवैका लागि हलेसी घुम्न आउने निकै राम्रो गन्तब्य हो । यसबाट पर्यटनको अधिक विकास गर्न सकिन्छ । २०२० नेपाल भ्रमण वर्षको १०० गन्तब्य र अहिले सत्तारुढ दलको घोषणापत्रमा विकास गरिने ५ धार्मिक पर्यटन क्षेत्रको घोषणाले पनि यसको महत्व प्रष्ट पार्छ । 
हलेसीमा तत्काल ध्यान दिनु पर्ने कुराहरु : 
१) फोहोरको व्यवस्थापन हलेसीको चुनौति देखिन्छ । जतासुकै फोहोर फाल्नाले यो ठाउ“को सुन्दरता धुमिल भएको छ । त्यसैले तुरुन्त सरसफाइमा ध्यान दिनु जरुरी छ । २) जताततै कक्रिटको जन्जालले हलेसी घेरिदै जादैछ । यसले यो ठाउँ कतै दिक्क लाग्दो कक्रिटको सानो जंगल त हुन्न भन्ने चिन्ता बढेको छ । यसलाई समयमा नै ध्यान दिन जरुरी छ । 
३) निर्माण सामग्री जताततै बाटोभरी छरिएर रहेका छन् । यसले बाटो हिड्ने बटुवा, गाडी समेतलाई अप्ठेरो परेको छ । त्यत्ति मात्रै होइन हेर्दा पनि कुरुप देखिएको छ । निर्माण सामग्री जताततै नराख्ने, राख्दा पनि अरुलाई असर पर्ने गरी नराख्ने गरे राम्रो हुन्छ । 
४) हलेसीका धेरै होटल र खाजाघरहरुमा स्थानीय परिकारको कुनै चिज वस्तु बन्दैन । तराइ र सहरबाट नै आएका तयारी खानेकुरा र पेयको बोलबाला छ । यसले गर्दा पैसा पनि तराई र सहर तिरै फर्किरहेको छ । कमसेकम स्थानीय परिकार विकास गर्न सके स्थानीय नै लाभान्वीत हुने थिए । 
५) हलेसीको कोर क्षेत्र (मन्दिर छेउछाउ) मा बंगुर, बाख्रा र कुखुरा पनि पालेको देखिन्छ । पहिले त बंगुर सुंगुर बाटोमा समेत देखिन्थे । अहिले यो अवस्थामा सुधार आएपनि यी चिजहरु निश्चित दुरी सम्म नपाल्दा राम्रो हुने थियो । 
६) धेरै विवाद हुँदा तानातान हुदा सबैलाई वेफाइदा नै हुन्छ । हलेसीका कतिपय मामिलामा आवश्यक भन्दा धेरै विवाद हुने देखिएको छ । राजनीतिक लाभ हानीको हिसाव गरेर काम हुने समेत देखिन्छ । हुनत सभासद हुनलाई २३ जनालाई जिउदै भट्टिमा हाल्ने सम्मको आपराधिक राजनीति अनुमोदित भएको देशमा यो आग्रह कतिको उचित हो ? भन्न सकिन्न । तर राजनैतिक लाभ हानीको जोख तौल भन्दा स्थानीय हितलाई सबैले ध्यान दिएको राम्रो हो । हलेसीबाट कसरी धेरै फाइदा लिने ? हलेसी सुनको फूल पार्ने कुखुरी हो । यसले विस्तारै अण्डा पार्दै जान्छ र हामी र हाम्रो देशलाई धनी बनाउन मद्दत गर्छ । तर हामी कुखुरी मारेर एकैचोटि फुल सोहोर्ने लोभ गरे जस्ता देखिएका छौं । माथि नै भनियो जथाभावी र अब्यवस्थित संरचनाले के नोक्सान गर्न सक्छ भनेर त । यहा“ लाभ लिन सकिने केही सानातिना उपाय प्रस्तुत गरिएको छ । 
१) हलेसी पर्यटकीय गन्तब्य हो । आफ्नो बसोबास वा कारोबार रहेको ठाउँबाट कुनै अर्को ठाउँमा जान्छ र कम्तिमा २४ घयटा व्यतित गर्छ भने मात्र त्यस्ता व्यक्तिलाई पर्यटक भन्न सकिन्छ । सडकको पहुच र अन्य गन्तब्य नभएकाले तिर्थयात्रीहरु सिधै मन्दिरको गेटसम्म गाडी लिएर जाने, भित्र पस्ने, पुजा गर्ने र निस्केर फर्किहाल्ने गर्दछन् । उनीहरुलाई पर्यटक बनाउन सकिएको छैन र स्थानीयको काम टपरी सोहोर्नेमा सिमित छ । यसैले हलेसीमा आगन्तुकको बसाइ लामो बनाउनका लागि यहाँ भएका विविध गुफाहरु, दर्शनीय स्थलहरुको अवलोकन गराउने काम तत्काल गर्नु पर्दछ । दुक्सीली, ककनी, तुवाचुङ लगायतका ठाउँहरुका बारेमा ब्यापक प्रचार गरे र ती ठाउँहरुमा भ्रमण गर्न प्रेरित गरे अवश्य राम्रो नतिजा आउछ । 
२) बेलुकी पुगेका पाहुनाहरुको लागि अहिले कुनै मनोरञ्जनको कार्यक्रम छैन । माझकिरात क्षेत्रमा पर्ने हलेसी धेरै स्थानीय सांस्कृतिक सम्पदाहरु छन् । साकेला, मारुनी, वालन, संगीनी जस्ता मौलिक र ऐतिहासिक नृत्यहरु छन् । यसैलाई समेत प्रदर्शनको व्यवस्था गर्न सके राम्रो हुनेछ र अलिकति भएपनि बढि फाइदा लिन सकिन्छ । 
३) हलेसीको मन्दिर क्षेत्रमा संरचना निर्माण नगर्दा राम्रो रोक्न सकिदैन भने कमसेकम एउटा आचार संहिता निर्माण गरेर त्यस वरपर बस्नेले पालना गरे राम्रो हुन्छ । जस्तो कि विहान बेलुकी हिन्दु समुदायले आरती बजाउने, धुप बाल्ने, बौद्ध मार्गीहरुको घरमा बौद्ध मन्त्र उच्चारण गर्ने, किरातीहरुको घरमा किरात मुन्दुम फलाक्ने एकै समयमा गर्ने हो भने त्यसलाई पनि आकर्षणको वस्तु बनाउन सकिन्छ । त्यस्तै सबै घरहरुमा फुल रोप्ने, रंगरोगन गर्ने समेत गर्न सकिन्छ । 
४) हलेसीमा र वरपर यत्रतत्र पर्यटक आकर्षित गर्ने ठाउँहरु छन् । तर त्यसको परिचय दिने, जानकारी दिने ब्याख्या गर्ने कोही छैन । त्यसैले तुरुन्तै स्थानीय स्तरबाट पथप्रदर्शक (गाइड) को व्यवस्था गर्नु पर्दछ । स्थानीय कलेज पढ्ने विद्यार्थीलाई नै गाइडको रुपमा विकास गर्न सकिन्छ । यसो गर्दा उनीहरुको आय आर्जन हुने र पर्यटकलाई खुसी पार्न धेरै जानकारी दिन पनि सकिन्छ । 
५) हलेसी जाने धेरै मानिसहरु अहिले पनि जयराम घाट तर्फबाटै आउने गरेका छन् । दुधकोशी सगरमाथाको पानी झर्ने नदि हो । संसारको सबैभन्दा धेरै उचाइबाट झर्ने पानीको आफ्नै महत्व छ । यसैले जयराम घाटलाई विकसित गरी नुहाउने नदि किनारमा रमाउने खालको बनाउन सके धेरै फाइदा लिन सकिन्छ । 
६) हलेसी क्षेत्र सुक्खा क्षेत्र हो । यसैले यसको प्रवेश स्थलदेखि नै उजाड जस्तो देखिन्छ । योजनाबद्ध रुपमा हरियो हलेसी बनाउने तिर लाग्नु पर्दछ । बाटामा फूल र सदावहार रुखका विरुवाहरु रोपेर यो काम गर्न सकिन्छ । हलेसीका विकासका लागि अव के गर्ने ? हलेसीको विकासका लागि सरकारको तर्फबाट हलेसी विकास समिति बनेको छ । त्यसको अधिकार, बजेट र कृयाकलापले के सिद्ध भइसकेको छ भने यसबाट हलेसीको समग्र विकास संभव छैन । त्यसैले केन्द्र सरकारले जिम्मा लिएको यो हलेसीका लागि पशुपति विकास कोष वा लुम्वीनी विकास कोष जस्तो आफ्नै ऐनबाट सञ्चालन हुने स्वायत्त संस्थागत संरचना तत्काल निर्माण गरिनु पर्दछ । यस संस्थाले स्थानीय नगरपालिकाको पहल र सक्रियतामा निर्माण हु“दै गरेको गुरु योजनालाई परिस्कृत परिमार्जित गरी स्वामित्व लिएर अघि बढ्नु पर्दछ । प्रदेश सरकारले संघीय सरकार र स्थानीय सरकारसँग मिलेर आफूले सक्ने योजना थाली हाल्नु पर्दछ । स्थानीय सरकारले ठोस योजना तर्जुमा गरी आफुले स्थानीय तहबाट गर्न सक्ने काम गर्नु पर्दछ । यसरी सबै पक्ष मिलेर काम गर्न अब ढिला गर्नु हुदैन । समयमा नै काम अघि बढे यसले समग्र अर्थतन्त्रलाई भरथेग गर्न सक्ने राम्रो सम्भावना देखिन्छ ।
नोट : हलेसीलाई कसैकसैले पूर्वको पशुपति भनेको पनि सुनियो । यो भनाइ बिल्कुल गलत हो । यो आफ्नै विशेषतायुक्त हलेसी हो । यो पूरै नेपालको हलेसी हो ।
प्रकाशित मिति : २०७७ असार ९ (राई हलेसी विकास समितिका अध्यक्ष हुन् । यो लेख राईकै ब्लगबाट साभार गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित