मझुवागढी : इतिहासको धरोहर

  • प्रकाशित मितिः जेठ 2, 2077
  • 307 पटक पढिएको
  • संवादताता

टंकबहादुर थापा–
देशकै पुरातात्विक महत्वका विषय भएकाले यसको संरक्षण गर्नु राज्यको दायित्व हो । मझुवागढीको बारेमा थप तथ्य र प्रमाणहरुका लागि पुरातात्विक विभाग एबम् पुरातात्विकशास्त्रीहरुले अध्ययनलाई व्यवस्थित रुपमा अगाडि बढाउनु पर्ने देखिन्छ ।
परिचय :
खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबाट दक्षिणतर्फ पर्ने मझुवा  गढी ऐतिहासिक तथा पर्यटकीय स्थल हो । समुद्र सतहदेखि १९१४ मिटर अग्लो स्थानमा रहेको मझुवा गढीको अध्ययनका लागि छरिएर रहेका तथ्यहरुलाई संकलन गर्ने तथा स्थानीयबासी बुढापाका र जानकार व्यक्तिहरुसंग छलफल तथा कुराकानी गरेर एबम् सो स्थानको प्रत्यक्ष अबलोकन गरेर यो सामग्री तयार पारिएको हो ।
विगत वर्षहरुमा यसको व्यवस्थित खोज अनुसन्धान भएको देखिदैन । लामो समयसम्म एकात्मक केन्द्रीकृत व्यवस्थाका कारण यसको अध्ययनलाई अगाडि बढाउन नसकिएको हो । खासगरी २०६२/६३ को जनआन्दोलनले नेपाली राजनीतिक र सांस्कृतिक क्ष्ँेत्रमा उथल–पुथल ल्यायो । पहिचानको मुद्दालाई अगाडि बढायो । यसले राजसंस्थाको उन्मुलन गरी हिन्दू अधिराज्यलाई धर्मनिरपेक्ष राज्य बनायो । यही ऐतिहासिक कडिबाट इतिहासको गर्तमा लुकेको ऐतिहासिम मझुवा गढीको बारेमा चासो रुची र खोजी कार्यहरु अगाडि बढ्यो । यसरी खोटाङ जिल्लामा रहेको मझुवा गढीको बारेमा सानातिना लेख रचना, टिपोर्टहरु तयार पार्न थालियो । यसै आधारमा मझुवा गढीको बारेमा यो सामग्री प्रस्तुत गरिएको छ । 
नेपालका आदिवासी जनजाति किरातहरुको स्वाधीन किरात राज्य कायम रहेको बेला स्थापना गरिएका विभिन्न गढीहरुमध्ये मझुवा गढी एक महत्वपूर्ण गढी हो । मझुवा गढीको वरिपरि थुप्रै डा“डाहरु भएको र यो स्थान ती डा“डाहरुको माझमा रहेकाले पनि यसलाई मझुवा भनिएको भनाइछ ।
मझुवा गढीको ऐतिहासिक आधार :
क) राज्य विस्तार अगाडिको मझुवा गढी :
इतिहासकार तथा स्थानीयबासीका अनुसार मझुवा गढीको स्थापना आजभन्दा करिव तीन सय वर्ष अगाडि तत्कालीन किरात राजा रणवीर हाङले गरेका हुन् भन्ने अध्ययनले देखाएको छ । यिनै राजा रणवीर हाङका सन्तानहरु लाफेह“छा हुन् । यही लाफेह“छा पाछाबाट लफ्याङ गाउ“को नाम राखिएको पाइन्छ । यसै आधारमा गाविसको नाम नै लफ्याङ भएको स्थानीय बुढापाकाहरुको भनाइ छ (हाल दिक्तेल नगरपालिका भएपछि वडा नं १०,११ र १२)। मझुवा गढी तत्कालीन माझकिरातको अतिउत्तम सामरिक महत्वका ठाउ भएकाले यसलाई सात सय मझुवा पनि भनिन्थ्यो । यसको अर्थ मझुवा गढीको आसपासका सात सय क्षेत्र मझुवा गढीको शासनमा चलेको थियो । यसैले मझुवा त्यसको केन्द्रविन्दु भएको देखिन्छ । स्थानीयबासीका अनुसार यो सामान्य गढी मात्र नभएर राजधानीजस्तै महत्वपूर्ण मानिएको थियो । नेपाल खाल्डोमाा ३२ पुस्ता शासन गरेपछि किरातहरु पूर्वतर्फ सीमित भएका थिए । ‘काठमाडौंबाट (तत्कालीन नेपाल) विस्थापित भएपछि किरातहरुले पूर्वमा स्थानीय (प्रादेशिक) राज्य स्थापना गरेका हुन कि, त्यसपूर्व पनि थियो ? यसबारे गोपाल राज बंशावली र अन्य भाषा बंशावलीहरु केही पनि बताउ“दैनन् । तर मानदेवको चाकुनारायणको चर्चित अभिलेखले लिच्छवीकालको सुरुतिरै किरातहरुको स्थानीय राज्य थियो भन्ने देखाउछ ।’ (चाम्लिङ भोगिराज) । ‘पूर्वमा कोशी क्षेत्रको इतिहास लामो छ......कोशी क्षेत्रको पहाड खण्डमा सातौं शताब्दीदखि नै किरातीहरुको समूहगत क्षेत्र थियो ।’–(गुरुङ हर्क : २१६) 
इतिहासकार ज्ञानमणि नेपालका अनुसार विक्रम सम्वत ५२२ भन्दा केहीअघि राजा मानदेवले त्यहा“का किरातहरुलाई आफ्नो अधिनस्त तुल्याएका थिए । ‘विक्रम सम्वत १८२९ मा माझकिरात पृथ्वीनारायण साहले जित्नुअघि माझ किरात किराती राजा सेनहरुको नाम मात्रका अधिनस्त थिए र तिनीहरुका स्वशासित क्षेत्रहरु थिए । यतिमात्र होइन किरातीहरुले मकवानपुरको सेन बङ्शीय राज्यमा बङशानुगत चौतारिया (प्रधानमन्त्री) पद समेत सम्हालेका थिए’–(राई टंकबहादुर : ८५) । विक्रम सम्बत १८२९मा पृथ्वीनारायण साहले पठाएको फौजले माझकिरात जितेको समयमा मझुवागढीमा पनि आक्रमण गरी विजय गरेको र आक्रमणमा प्रयोग भएका हातहतियार मझुवागढीको उत्तरपूर्वमाा रहेका कुवामा (हाल दिक्तेल बजारको हाटडाडाको पूर्वतर्फ) धोएको हु“दा यस क्षेत्रका किरात राईहरुले हालसम्म पनि त्यो कुवाको पानी नखाएको स्थानीय शिक्षक जसराज किरातीको भनाइछ । मझुवागढीमा आक्रमण भएको इतिहासकार बाबुराम आचार्यले उल्लेख गरेका छन् । पृथ्वीनारायण साहले रामकृष्ण कु“वर र अमरसिंह थापालाई विक्रम सम्वत १८३० माघ १ गते पढाएको चिठीमा लेखेका छन्–‘मझुवा, कुलुम महादिग्ला पौवामा बैरीलाई काट्यौं.....’ (आचार्य, २०६१ : ४२८)
पृथ्वीनारायण साहले मझुवागढी जित्नुअघि विक्रम सम्वत १८०४ सम्म लाफेह“छाका पुर्खा रणवीर राई मझुवा गढीका राजा थिए भन्ने किरातहरुको संस्कृति अनुसार बनाइएको चौतारामा राखिएको किताब ढुङ्गा/शिलालेख हालै गरिएको अध्ययनका क्रममा फेला परेको छ । किरात राई यायोक्खा खोटाङका पूर्व अध्यक्ष तथा स्थानीयबासी प्रश्नराज राईले दिएको सूचनाको आधारमा यो लेखको खोजकर्ता हालको दिक्तेल नगरपालिका वडा नं १२ (दिक्तेल नगरपालिका बन्नुअघि लफ्याङ गाविस वडा नं ६) पुरानो गाउ“मा पुगरेर चौतारामा राखिएको अवस्थाको कितावढुङ्गा पाइएको छ । (शिलालेख तस्बिरमा हेर्नुहोस्) उक्त किताबढुङ्गाको भाषा प्राचीन खस नेपालीमै छ । यस शिलालेखको आधारमा ‘आजभन्दा तीन सय वर्ष अगाडि रणवीर राई मझुवा गढीको राजा थिए ।’ (राई मणि) भन्ने पुष्टि भएको छ ।
रणवीर राईका १३ पुस्ताका सन्तान लफ्याङका राजेन्द्र राईका अनुसार उनका पुर्खा रणवीर राई मझुवागढीका राजा थिए । पुर्खाहरुबाट भन्दै आइएको यो भनाइबाट पनि मझुवागढीका राजा रणवीर राई थिए भन्ने प्रष्ट बुझिन्छ । लफ्याङ र दिक्तेलमा प्रचलित जनश्रुतिअनुसार मझुवागढी नजिकै रहेको बुढेश्वरगुफा पत्ता लगाउने पनि यिनै रणवीर राईबाट भएको र उक्त गुफाको पूजाआराधना गर्ने अधिकार उनका समकालीन बिरन्ची आचार्यलाई दिएका थिए । रणवीर हाङका सन्तान प्राध्यापक डा. नवलकिशोर राई लाफेह“छाका अनुसार नौ पुस्ता अगाडिका आमाका गर्भमा रहेका पुर्खा पृथ्वीनारायण साहको आक्रमणबाट बाच्नका लागि आमा भागेपछि जन्मेका थिए । र प्रा.डा. राईका पुर्खाहरु इलाममा बसेका थिए । यस कुराबाट पनि मझुवागढीका शासक रणवीर राई थिए भन्ने प्रष्ट हुन जान्छ । प्राप्त किताबढुङ्गाबाट यस्तो तथ्य खुलेको छ–पृथ्वीनारायण साहले माझकिरात जितेपछि किरातीहरुलाई राईको पदवी दिएका थिए भन्ने गलत साबित भएको छ । किन भने त्यो भन्दा अगाडि विसं १८०४ मा मृत्यु भएका मझुवागढीका राजा रणवीर राईका सन्तानले बनाएका चौताराको किताबढुङ्गामा रणवीर राई र आफ्नी रायनी भनेर उल्लेख गरिएको छ । जब कि पृथ्वीनारायण साहले माझकिरात जितेको विक्रम सम्वत १८२९ मा मात्रै हो । यसले गर्दा ‘राई’ पदवी नभएर किरातहरुले राजाको रुपमा नै राई शब्द प्रयोग गरेको पाइन्छ । “राई शब्द राजाबाट उत्पन्न भएको हो । यो पदबी खम्बुवानमा अधिपत्य भएपछि पृथ्वीनारायण साहबाट खम्बु प्रमुखलाई दिइएको थियो भनिन्छ तर त्यसभन्दाअघि पनि पूर्व नेपालका सेन शासकहरुले त्यस प्रकारको सम्बोधन गरेका थिए ।’ (राई टंकबहादुर, किरात इतिहास: २०)   
माथिका तथ्य अनुसार ‘राई’ शब्दको प्रयोग राजालाई बझाउन प्रयोग भएको पाइन्छ । किताबढुङ्गामा रणवीर राई उल्लेख हुनुले रणवीर राई मझुवागढीका राजा थिए भन्ने प्रमाणित हुन्छ । यसर्थ मझुवागढी किरात स्वशासित क्षेत्रको केन्द्र थियो । र त्यहा भएका दरबार भएको भग्नावशेष अहिले पनि भएको हुदा मझुवागढी एउटा महत्वपूर्ण ऐतिहासिक स्थल भएकोमा दुई मत हुन सक्दैन ।
ख) एकीकरणपछिको मझुवागढी :
स्थानीयबासी बबि चाम्लिङका अनुसार मझुवागढी राणाकालीन समयको प्रशासनिक निकाय ‘मझुवाथुम्’ थियो । यसथुम्भित्र लफ्याङ, खाल्ले, बाम्राङ, दिक्तेल, नेर्पा, दोर्पा र लामाखु पर्दथे । “विक्रम सम्बत १९६८ को राणाकालको प्रशासनिक व्यवस्था अनुसार खोटाङबजारमा रहेको इलाका अदालत अन्तरगत मझुवाथुम्लाई राखियो ।’ (हम्रुङ, नमस्ते खोटाङ : ३४,४०) 
३) गढीको भौतिक अवस्था :
संरक्षणको अभावमा मझुवागढीको मुख्य भाग खुम्चदै गएको छ । हालै गरेको स्थलगत अवलोकनका क्रममा गढीको मुख्य भागको नापजाच गर्दा लम्बाइ एक सय ३० मिटर मात्र रहेको छ । यो दूरी नर्सिङ्गे ढुङ्गादेखि दरबारको भग्नाबशेषबाट बारुद ढुङ्गासम्मको हो । गढीको मुख्य भागमा दरबारको भग्नाबशेषको रुपमा दश मिटर लम्बाइ र सात मिटर चौडाइको ढिस्को छ । दरबारको आकार प्रकार कस्तो थियो भन्ने चाही प्रष्ट हुदैन । मुख्य दरबारको उत्तरतर्फ दरबार भएको ढिस्कोदेखि ४५ मिटरको दूरीमा अर्को सुरक्षाकर्मी बस्ने भनिएको अर्को भग्नाबशेष छ । यसको लम्बाइ १८ मिटर र चौडाइ १२ मिटर छ । गढीको समग्र चौडाइ चाही सा“गुरिदै गएको छ । गढीको चौडाइ २०–२५ मिटरसम्मको छ । सशस्त्र प्रहरी बलको क्याम्प २०६८ सालमा गढीको पूर्वी मोहडामा बसेपछि गढीको क्षेत्रफल घटेको छ । 
गढीको सुरक्षाकर्मी बस्ने भनिएको उत्तरतर्फ ३०–४० मिटरको लम्बाइ र तीन मिटर चौडाइको एउटा दुबैतर्फ खोल्सी परेको देखिन्छ । त्यसलाई गढीको सुरक्षा गर्न र लडाइको बेला लुकेर हतियार चलाउने ट्रेन्स् (नाली) छ । त्यस्तै पश्चिमतर्फ पनि ३० मिटर लम्बाइ र तीन मिटर चौडाइको नाली छ । दरबारको दक्षिण पश्चिमतर्फको नाली र पूर्वतर्फको नाली चाहि पुरिएर नचिनिने अवस्थामा छ । गढीको मुख्य भागको उत्तर देविस्थान मन्दिरतर्फ तीन सय मिटरको दूरीमा तारा खसेको भनिएको खाल्डो छ । अहिले पनि यो गोलो आकारको खाल्डो प्रष्टसंग देखिने तत्कालीन बङ्कर हो भन्ने देखिन्छ । त्यसैगरी गढीको दक्षिणपश्चिम करिब २५० मिटरको दूरीमा रा“गा आहाल चाहि पुरिसकेको छ । यसरी हेर्दा देविस्थान छेउको बङ्करदेखि गढीको मुख्यभाग समेत र रागा आहालसम्मको जम्मा दूरी करिब ६८० मिटर हुन आउछ । यो गढीको बृहत क्षेत्र हो । गढीको पश्चिमतर्फ केही भिरालो भागमा जंगल र पूर्वी मोहडामा सशस्त्र प्रहरी बलको क्याम्प छ । सशस्त्र क्याम्प बसेपछि गढीको पूर्व मोहडाको भाग ओगटिएको छ । गढीमा गएर अवलोकन गर्दा गढी क्षेत्रलाई दुई भागमा बाडेर हेर्न सकिन्छ । गढीको मुख्यभाग सीमित रहेको छ भने बाहिरी भागले चाही धेरै क्षेत्रफल ओगटेको छ । मझुवागढीको मुख्यभागमा उभिएर हेर्दा पूर्वमा टेम्केडाडा हुदै रतन्छा, खिदिमा, मात्तिम, बा“झेच्यानडा“डा, लामाखु, दोर्पा लगायतका गाउहरु छर्लङ्गै देखिन्छन् भने दक्षिणतर्फ याम्खा, टेम्मा, बतासे र उदयपुरका केही क्षेत्रहरु देखिन्छन् । पश्चिमतर्फ बुइपा हुदै हलेसी र क्षितिजमा टाढासम्म थुप्रै पहाडका श्रृङ्खलाहरु देख्न सकिन्छ । गढीको उत्तरतर्फ रुपाकोट, नुनथला हुदै हिमाली श्रृङ्खलाहरु देखिन्छन् । यो गढी धेरै डा“डाहरुको बीच भागमा रहेकाले मझुवा भनिएको भनाइ सत्य रहेको अनुभव हुन्छ ।
४) गढीप्रति राज्यको चासो :
विगत लामो समय एकात्मक केन्द्रीकृत शासन व्यवस्था चलेका कारण किरात राईहरुसंग सम्वन्धित ऐतिहासिक गढीप्रति राज्य पूर्णतः उदासिन देखिन्छ । राज्यले ऐतिहासिक सम्पत्तिको संरक्षण सम्बद्र्धन गर्नु पर्नेमा उल्टै अतिक्रमण गरी यस्ता ऐतिहासिक धरोहरको अस्तित्व नामेट गर्न समेत तीतोसत्य समेत हामीले भोगेका छौं । तर किरात समुदाय, स्थानीयबासी, विभिन्न संघसंस्था एबम् सञ्चार माध्यमले मझुवागढीको संरक्षणमाा महत्वपूर्ण योगदान गरेका छन् । आर्थिक वर्ष २०७२÷७३ मा दिक्तेल नगरपालिकाले मझुवागढी क्षेत्रको बृहत गुरु योजना बनाउने काम सम्पन्न गरेको छ । मझुवागढीको ऐतिहासिक स्थललाई कुनै असर नपार्ने गरी तयार पारिएको गुरु योजना निर्माणमा संलग्न पत्रकार डम्बरसिं राई हम्रुङको भनाइ छ । विभिन्न निकायबाट विनियोजित बजेट तथा कार्यक्रमहरु यसै गुरु योजनाको आधारमा मात्र लागू गराइने दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत अनिल किरातीको भनाइ छ ।
सशस्त्र प्रहरी बलको क्याम्पले मझुवागढीको अस्तित्व नामेट हुने भन्दै त्यसको संरक्षण र पर्यटन विकास गर्न २०६७ सालमा स्थानीयबासी बबि चाम्लिङको अध्यक्षतामा मझुवागढी संरक्षण तथा पर्यटन विकास समिति पनि बनेको छ । यसै गरी २०६७ मङ्सिरमा खोटाङ विजयखर्कका किरात चाम्लिङ भाषा, संस्कृति र इतिहासका खोजकर्ता तथा लेखक टंकबहादुर राईको नेतृत्वमा गढीको अवलोकन तथा दिक्तेलमा एक कार्यक्रम गरी गढी अतिक्रमणको विरोध गरेको थियो । त्यस्तै प्रा.डा. नवल किशोर राई, जितपाल किराती लगायत वरिष्ट किरात व्यक्तित्वहरुले मझुवागढीको संरक्षण र सशस्त्र प्रहरी बल राखिएकोप्रति विरोध गर्न गढीमै कार्यक्रम गरिएको थियो । त्यस कार्यक्रमको प्रत्यक्ष प्रसारण स्थानीय रुपाकोट रेडियोले गरेको थियो । त्यस्तै स्थानीय रुपाकोट पत्रिका लगायत विभिन्न सञ्चार माध्यमहरुले गढी अतिक्रमण बारेमा समाचार तथा लेखहरु प्रकाशन गरेका थिए । यस्ता थुप्रै प्रयास र दबाबका कारण मझुवागढीको मुख्यभाग जोगिएको छ । तर गढीको पूर्वी मोहडा भने सशस्त्र प्रहरीबाट गुमाइएको छ ।
५) मझुवागढीले पारेको प्रभाव :
किरात राईहरुको मात्र होइन, मझुवागढीको संरक्षण गर्नु राज्यको दायित्व हो । हालसम्म भएको मझुवागढीको संरक्षणले पर्यटन विकासलाई अगाडि बढाएको छ । हरेक वर्ष बैशाखे पूर्णीमाको दिन उभौली पर्वको अवसरमा किरात राईहरुले साकेला सिली यही गढीबाट गर्ने गरेका छन् । गढीको संरक्षणले खोटाङ जिल्लामै आर्थिक विकास र संस्कृतिको विकासमा टेवा पुगेको छ । 
निष्कर्ष र सुझाव : 
किरातहरुको इतिहास, संस्कृति, सभ्यता तथा पुरातत्व र पर्यकीय दृष्टिले महत्वपूर्ण स्थलहरुमध्ये मझुवागढी एक ऐतिहासिक थलो हो । देशकै पुरातात्विक महत्वका विषय भएकाले यसको संरक्षण गर्नु राज्यको दायित्व हो । मझुवागढीको बारेमा थप तथ्य र प्रमाणहरुका लागि पुरातात्विक विभाग एबम् पुरातात्विकशास्त्रीहरुले अध्ययनलाई व्यवस्थित रुपमा अगाडि बढाउनु पर्ने देखिन्छ ।
(लेखक समाजवादी पार्टी नेपाल खोटाङका अध्यक्ष हुन् )

प्रतिक्रिया दिनुहोस


Copyright © 2021 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित