कोरोना कहर र हाम्रो प्राथमिकता

  • प्रकाशित मितिः बैशाख १४, २०७७
  • 1472 पटक पढिएको
  • संवादताता

टंक राई-
मानवीय सभ्यता नै संकटमा  पार्ने गरि कोरोनाले विश्व आक्रान्त छ । इतिहासमा यस्तो महामारी मानव सभ्यताले धेरै पटक बेहोरेको छ । जतिसुकै मानवीय क्षति भएपनि त्यसलाई परास्त गर्दै मानवीय विकास अगाडि बढेको छ । आसा गरौं यो कोरोना भाइरसलाई पनि जित्दै छिटै आफ्नो विकास यात्रा विश्वले अघि बढाउने छ । 
कोरोना भाइरसले विनाश मात्रै गरेको छैन, केही राम्रा सन्देस पनि दिएको छ । हामी नेपाली कै हकमा पनि सफाइको महत्त्व राम्ररी नै सिकाएको छ । १७% ले मात्रै हात धुने नेपालीको बानी सुधार भएर शतप्रतिशत पुग्ने भो । नमस्ते सबैभन्दा राम्रो अभिवादनका रूपमा स्थापित हुने भो । अब आशा गरौं हात पानीले भिजाएर मात्रै खाना कसैले खादैनन, कमसेकम धोएरै खान्छन् ।
यी त भए हाम्रा बानीबेहोराको कुरा । अब चर्चा गरौं हामीले बिकास भनेर सामुदायिक रूपमा, सरकारी रूपमा गरिरहेका कामहरूको बारेमा । विश्वलाई नै समाप्त गर्न सक्ने सामरिक सामर्थ्य राख्ने मुलुकहरू वा भौतिक उन्नतिका शिखर पुगेका मुलुकहरू कोरोनाका अघि निरीह भएको देख्दा सम्पन्नता र शक्ति भनेको आखिर के हो ? भन्ने प्रश्न खडा भएको छ । आखिर मामुली भाइरसका सामु ती सबै उन्नति र प्रगति अत्यन्त पुड्को देखिए । 
यो समयमा विश्वका धेरै देशहरू लकडाउनमा छन । काठमाडौको मात्रै होइन विस्वकै वातावरणमा उल्लेख्य सुधार आएको छ । यसलाई प्रकृतिको आफ्नो सन्तुलन कायम गर्ने माध्यम हो भन्नू पर्ने देखियो । प्रकृति नै असन्तुलित हुने गरि गरिने दोहनलाई रोकथाम गर्न पनि प्राकृतिले बेला बेला येस्तो गर्ने गर्छ भन्ने प्रमाण हो यो कोरोना । 
यो महामारीले विश्व अर्थतन्त्र प्रायः ध्वस्त बनाएको छ ।  खासगरी पर्यटनमा आधारित अर्थतन्त्र भएका देशहरूको अर्थतन्त्र सहज हुन लामो समय लाग्नेछ । विश्व शक्ति संरचनामा नै यसले परिवर्तन गरिदिने निश्चित छ । यो महामारी पछि जुन देशहरूले कृषि, स्वास्थ र शिक्षामा जोड दिएका छन्, ती देशहरूले आफुलाई छिट्टै लयमा फर्काउने छन । तर हतियार, पर्यटन र विलासितामा आधारित उद्योगलाई अर्थतन्त्रको आधार बनाएका देशहरूले आफुलाई हिजोको अवस्थामा फर्काउन निकै धेरै मिहिनेत गर्नुपर्नेछ । यसका अलवा हाम्रो जस्तो रेमिटान्समा आधारित अर्थतन्त्रले त यो संकट धान्न झनै गाह्रो छ । 
हामीले अहिले देख्यौं, कोरोनाको हल्ला चल्ने बित्तिकै मानिसहरू सलह झै गाउँ फर्किए । अझ लकडाउन भएपछि पनि रातारात हिडेरै भएर पनि गाउँ फर्किरहेका छन । यसले के प्रस्ट पारेको छ भने आपतको बेला भरपर्दो आस्रय मानिसहरूले गाउँलाई ठानेका छन र त्यो हो पनि । हाम्रा गाउँहरु आफैमा अर्ध बन्दाबन्दी (सेमी लकडाउन) खालका छन । सहर जस्तो सबै घरहरू एकै ठाउँ साघुरो जग्गामा खचाखच छैनन् । आवश्यक दुरी कायम गरेर बनेका छन । कतिपय सेवा प्रबाहमा येस्तो छरिएको बस्ती हुनुले कठिनाइ भएको भएतापनी महामारी नियन्त्रणका लागि अति नै उपयोगी हुने रहेछन । हाम्रा पुर्वजहरुले सायद बिफर लगायतका महामारी भोगे देखेरै यो बसोबासको शैली अपनाएका हुन कि ? जे होस् अहिले सहर भन्दा गाउँ कैयौं गुणा सुरक्षित छ । निर्वाहमुखी खेती गर्ने भएकाले आर्थिक प्रगति तीब्र नभए पनि सहर भन्दा धेरै लकडाउन खेप्न सक्ने क्षमता राख्दछ ।
तर अहिले गाउँ सुरक्षित नरहन सक्ने खतरा बढेको छ । बिदेशबाट फर्केका र सहरबाट गाउँ फर्केकाहरुमा संक्रमण भए त्यसले पुरै गाउँ सखाप पार्न बेर लाउदैन । गाउँमा सामान्य स्वास्थ उपचार सेवा समेत उपलब्ध नभएको र सहरसम्म सहजै पुग्न यातायात सेवा पनि रोकिएको बेला संक्रमण भए मर्नुको विकल्प मुस्किल छ । त्यसैले होशियार हुनु नै पहिलो काम हो ।
ढिलो चाडो यो कोरोना कहरबाट हामी मुक्त हुन्छौ नै । तर क भबिस्यमा यस्ता महामारी आउदैन ? इतिहासले भन्छ यो लगातार दोहोरिरहने प्रक्रिया हो । तेसो हो भने अहिलेको अनुभवबाट हामीले पक्कै सिक्नु पर्दछ ।
यदि यति धेरै मानिसहरू गाउँ नपसेको भए वा यति धेरै मानिसहरूले गाउँ नछाडेको भए गाउँ पुर्ण सुरक्षित हुने थियो र गाउँमा दैनिक गतिविधि प्रभावित हुने थिएन । यो तथ्य जान्दाजान्दै पनि हामीले अहिलेसम्म के गर्‍यौ ? हाम्रा स्थानीय सरकारका योजनाहरुले के काम गर्‍यो ?
मानिसहरू मुख्यत रोजगारी, शिक्षा र स्वास्थका लागि गाउँ छोड्छन । ग्रामीण रोजगारी वृद्धिका लागि हामीले थोरै काम गरेको भए वा शिक्षाको क्षेत्रमा थोरबहुत सुधार गरेको भए वा स्वास्थ्य क्षेत्रमा केही गरेको भए यत्रो विधि खतरा अहिले हुने थिएन । यश कुरालाई अझै हामीले गम्भीरताका साथ लिएका छैनौं । हाम्रा जनप्रतिनिधि देखिने र त्यसमा पनि सिधै उद्घाटनका फोटो पोस्ट गर्न मिल्ने योजना छनौटमा नै ध्यान केन्द्रित गरिरहेका छन । कतिपय ठाउँमा त कमाउने कुराले पनि प्राथमिकता पाएका छन् । स्कुलमा नानीहरू खाली भुइँमा बिना छानाका भवनमा पढ्न बाध्य छन तर हामी बिलासी पार्क बनाएर पर्यटन मार्फत आर्थिक बिकाशको सपना देखिरहेका छौ । सरकारी वा सामुदायिक स्वास्थ संस्थाहारु निरीह भइरहेको देखादेखी मनोरञ्जन गर्ने पोखरी बनाइरहेका छौं । आफ्नै कार्यकर्ता पहिरोले पुरिएर मरिरहे पनि भालुले चिथोरेको अनुहार जस्तो पहाडलाई बिरुप पारेर सडक खनिरहेका छौं । खेतीबाट मनग्ये रोजगारी सिर्जना गर्न सक्ने सम्भावना भएर पनि भ्यु टावरमा लाखौं खर्च गरिरहेक छौं । के यो जायज छ ? अब प्रश्न गर्नै पर्छ । प्रश्न मात्रै गर्ने होइन जनस्तरबाट हस्तक्षेप समेत आवश्यक परे गर्नु पर्छ ।
अबको हाम्रो स्थानीय सरकारको पार्क पोखरी र भ्यु टावर बनौने काम रोकेर शिक्षा, स्वास्थ र कृषिमा लगानी लगाउन अनुरोध गर्नु पर्छ । अनुरोधले नपुगे हस्तक्षेप गर्नु पर्छ ।
हामीले बुझ्यौ अब पर्यटन र बिलासी ब्यापार सहज अबस्थामा मात्रै हुने हो । अप्ठ्यारो अबस्थामा पहिलो शर्त रहेछ खाना । हो त्यसैले खेतिपाती मै जोड गर्नु पर्छ ।
अहिले दिङ्लाको रुद्राक्ष भन्दा रावा बेसीको धान महत्त्वपूर्ण रहेछ वा तिमालको बुद्धचित्त भन्दा मुढेको आलु आवश्यक वस्तु रहेछ भन्ने पनि बुझ्नु पर्ने भएको छ । सुन्दर पोखरीहरु भन्दा सुन्दर स्कुल बनाउनु कैयौं गुणा राम्रो रहेछ । पार्क बनाउनु भन्दा भएका अस्पतालमा सुबिधा बढाउनु र थप स्वास्थ संस्था निर्माण गर्नु धेरै धेरै उत्तम रहेछ । भ्यु टावरले भन्दा कृषि र वन आधारित कुटिर उद्योगले धेरै रोजगारी सिर्जना गर्ने रहेछ । शिक्षा, स्वास्थ र रोजगारी  नै हाम्रो पहिलो आवस्यकता हो र यसमा दरो खुट्टा टेकेपछी मात्रै  अन्यत्रको कुरा सोच्न सक्छौ र अघि बढ्न सक्छौ ।
प्रकाशित मिति २०७७ बैशाख १४ 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित