आँधीहुरी बिरुद्ध जुझ्दाका क्षणहरु (संस्मरण)

  • प्रकाशित मितिः बैशाख १३, २०७७
  • 1130 पटक पढिएको
  • संवादताता

टंक राई
त्यसदिन घनघोर दर्के पानी परेको थियो । म तिथि मितिको खासै ख्याल नगर्ने मान्छे भएकाले ठ्याक्कै मिति भन्न सक्दिन, २०३९ सालको वर्षा लाग्न शुरु हुन लागेको समय थियो सायद । म घरबाट हिड्दा दिन सामान्य थियो । घाम लागेकै थियो । भोटेबासमा पुग्दा नपुग्दा पानी पर्न थाल्यो र चण्डी डाँडाँ पुग्दा त मुसलधारे पानी पर्न थालिसकेको थियो । एउटा सानो झोला भिरेर हिडेको म, छाता थिएन । छाता भएको भएपनि सायद त्यो पानीका सामुन्ने निरिह हुँने थियो । त्यसबेला अहिलेजस्तो जताततै बाटामा घरहरु थिएनन् । मुडे पुगेपछि मात्र ओत लाग्ने ठाउँ भेटिन्थ्यो । दर्के झरीले म मुसो भएरमात्र मुडे पुगे । अब मसँग फेर्नका लागि कुनै कपडा पनि बाँकी थिएन । झोलामा बोकेका सबै कपडा भिजिसकेका थिए र लगाएको कपडाबाट पानीको धारो बगिरहेको थियो । त्यसैले मुडेको कुनै घरमा ओत लाग्नुको कुनै अर्थ थिएन । म लगातार मुसलधारे पानीमा छिटो छिटो दौडिरहें ।

भिजेर मुसो भएको म ओरालो भर्खर लाग्न लाग्दा त्यसबेला दिक्तेलमा माध्यमिक विद्यालयमा अध्ययन गर्ने गाउँका साथीहरु इमान, विकास, तेजबहादुर र जयमल छाताले मुस्किलले ओतिएर आधी झिजिसकेको अवस्थामा घर फिर्दै गरेको भेट भयो । मैले ती सबै साथीहरु खासगरी इमानजीलाई दिक्तेलमा नै भेट्ने योजना बनाएको थिए । आजभोली जस्तो टेलिफोनको सुविधा नभएकाले कुनै खालको अग्रिम जानकारी गराउँन सक्ने कुरै भएन । मेरो दिक्तेल आउने योजना बारे वहाँहरुलाई केही थाहा नहुनु त्यसैले स्वाभाविक थियो । मुडेमा दर्के झरी परिरहेकै बेला बाटामा उभिएर ठुलो ठुलो स्वरमा कुरा गरेर मैले अरु साथीभाइहरुलाई घर जान दिने र इमानजी चाही मसँग दिक्तेल नै फर्किने भन्नेमा सहमत गराए । के का लागि भनेर विवरण दिने अवस्था थिएन त्यसैले महत्वपूर्ण काम छ फर्कौ भने पछि इमानजीको सानो छातामा कहिले ओत लाग्दै र कहिले भिज्दै दिक्तेलमा साथीहरुको साघुरो डेरामा आइपुगियो । कपडाबाट पानीको भेल बगेको थियो । डेरामा जस्को कपडा ठीक हुन्छ उसैको कपडा फेरेर झोला र जीउको कपडा सुकाउनलाई टाँगेपछि मात्र ईमानजीलाई मेरो योजना बताउँन थाले जालपामा माध्यमिक विद्यालय स्थापना गर्ने ।

म त्यसबेला धरान क्याम्पस हात्तिसारबाट आइएस्सी सक्न लागेको थिए । सायद अन्तिम सेमेस्टरको परीक्षा पछि म गाउँ फर्केको थिए माध्यमिक विद्यालय स्थापनाको सपना बोकेर । यो सपनालाई यथार्थमा परिणत गर्न घर आइपुगेको भोलिपल्टै त्यसबेला विद्यालयमा पढाइरहनुभएका आदरणीय दाइहरु रामप्रसाद राई र जयश्वर राईसँग सरसल्लाह गर्न विद्यालय आँए । निमाविको दुइ तल्ले भवनको पूर्वपट्टिको खाली चौरमा हामी ३ जना बस्यौं । मैले माध्यमिक विद्यालयको औचित्य र आवश्यकताका बारेमा आफुलाई लागेको कुरा बताए । त्यो बेला जयश्वर दाइ निकै उत्साहित हुनुभएको थियो भने रामप्रसाद दाइलाई यत्ति ठुलो काम गर्न सकिन्छ र ? भन्ने द्विविधा भएको थियो । मैले गाउँलेहरुप्रति भरोसा गर्न र उनीहरुकै सहयोगमा मावि बनाउँन सकिने कुरा आफूले जानेसम्मका सीप प्रयोग गरेर वहाँहरु समक्ष राखें । जालपाबाट दिक्तेल पढ्न पठाउँदा कति खर्च लाग्छ र त्यो खर्च बेहोरेर कतिले पढाउँन सक्छन् ? जालपामा नै मावि खुल्यो भने कति पैसामा एसएलसी पास गर्न सकिन्छ ? त्यो पैसा तिरेर कतिजनाले एसएलसी गर्न सक्छन् ? र मावि स्थापनाका लागि कति रकम संकलन गर्नुपर्ने हुन्छ र त्यो रकम दिक्तेलमा घरको एउटामात्र विद्यार्थी पढाउँने हो भने सस्तो कि महँगो पर्छ ? जस्ता मेरा कोरा हिसाबी तर्कहरु समेत राखेर हामीले करिब ३ घण्टा छलफल ग¥यौ । अन्तमा हामी अब मावि स्थापनाको गृहकार्य गर्ने भन्ने निस्कर्षमा पुग्यौं । राम दाइ अझै धरमर हुनुहुन्थ्यो । सायद उमेरका कारण पनि वहाँ धेरै कुरा बिचार गर्नु पर्ने मान्यता राख्न लायक भइसक्नु भएको थियो । वहाँलाई गाउँको बारेमा हामी २ लाईभन्दा धेरै थाहा थियो । हाम्रो गाउँ नेता पनि नभएको, पहुँचवाला पनि नभएको र कोही धनीमानी पनि नभएको एउटा निरिह र गरीब गाउँ थियो । त्यस्तो निम्छरो गाउँले मावि स्थापना गर्न र अझ थाम्न धेरै गारो हुने कुरा वहाँले प्रष्ट देख्नुभएको थियो । हामी भने किशोर जोसका कारण ए गर्न सकहालिन्छ नि भनी उत्साहित भएका थियौं । हामीले आपसमा काम पनि बाड्यौ, मैले जिल्ला शिक्षा कार्यालयमा गएर सबै कुरा बुझ्ने र राम दाइ र जयश्वर दाइले स्थानीय अगुवा र मन मिल्ने साथीभाइसँग कुरा गर्दै गर्ने । हो यसै कामका लागि म इमानजीलाई शिक्षा कार्यालयसँगै लिएर जान चाहन्थे । किनभने म घर नफर्कि सिधै धरान झर्नु पर्ने भएको थियो । म फर्केर मात्र ती कुराहरु भन्नुभन्दा इमानजीले तत्काल गएर दाइहरुलाई यथार्थ जानकारी गराए म फर्कदासम्म धेरै काम भइसक्छ भन्ने मलाई लागेको थियो ।

त त्यस दिन रात परिसकेको थियो र हामीले भोलि शिक्षा कार्यालय जाने सल्लाह ग¥यौ । भोलिपल्ट शनिबार थियो । कार्यालय विदाको दिन । दिक्तेलमा नै शिक्षक पेशा गरेर बस्नुहुँने लमर्खुका ललितकुमार श्रेष्ठ दाइलाई पनि हाम्रो योजना बताएर शिक्षा कार्यालय सँगै जाने बनाइयो । हामी ३ जना शिक्षा कार्यालयमा जाँदा कार्यालय बन्द थियो । शिक्षा अधिकारी कार्यालय पछाडिको घरमा बस्थे । हामी सरासर उनैको कोठामा गयौं । ती शिक्षा अधिकारीको नाम के थियो मलाई अहिले सम्झना छैन । तर उनीप्रति म अहिले पनि कृतज्ञ छु, किनभने हामी २०÷२१ वर्षका अल्लारे केटाहरु लखर लखर आफ्नो कोठामा छिर्दा समेत उनी रिसाएनन् र हाम्रो सबै कुरा ध्यान दिएर सुने मात्र होइन हामीलाई उत्साहित समेत बनाए । मलाई लाग्छ उनी शिक्षाको महत्व बुझ्ने अधिकारी थिए, त्यसैले उनले माध्यमिक विद्यालय निजी श्रोतबाट सञ्चालन गर्दा अपनाउँनु पर्ने कार्यविधि र त्यसका लागि लाग्ने खर्च मात्र बताएनन् कसरी योजना निर्माण गर्न सकिन्छ भनेर समेत उनको तर्फबाट सल्लाह र सुझाव दिए । कापीको पानामा मुख्य मुख्य कुराहरु टिपेर हामी धेरै कुरा बुझेको र अब मावि पक्का स्थापना गरिन्छ भन्ने विश्वासका साथ जिशिअको क्वाटरबाट फक्र्यौ ।

भोलिपल्ट इमानजीलाई क्लास छोड्न लगाएर गाउँ पठाइ म धरानतिर लागें । इमानजी सायद २÷३ दिन गाउँ बसेर दिक्तेलमा बुझेको कुरा सबै (खासगरी राम र जयश्वर दाइहरु) लाई बताएर अरु पनि आवश्यक सल्लाह पछि दिक्तेल फर्किनु भो भने म केही पछि मात्र गाउँ फर्के । नभन्दै म गाउँ फर्किदा मावि स्थापना गर्ने छिपछिपे हल्ला गाउँघरमा चल्न थालेको रहेछ । हाम्रो पहिलाको सल्लाह नै के थियो भने एक वर्ष सम्म धारा पधेरा, चौतारो बिहे बटुलो, घाँस दाउरा, बाटो घाटो जहाँ हुन्छ मावि स्थापनाको बारेमा प्रचार गर्ने, छलफल गर्ने र वातावरण तयार गर्ने अनिमात्र ठोस काम शुरु गर्ने । त्यसै अनुसार गाउँघरमा हल्ला हुन थालेको रहेछ ।

म गाउँ आएर पुःन दाइहरुसँग सल्लाह गरेपछि प्रचारको काममा निर्लिप्त भएर लागे । पहिलाको तर्कहरुलाई अझ परिमार्जित गरेर गाउँलेहरुका बीचमा प्रचार गर्न थाले । आप्mनै वडा भएकाले मैले जालपा वडा नं. ४ पुरानोगाउँको प्रायः सबै घरमा गएर मावि स्थापनाका बारेमा छलफल गरिसकेको थिए । त्यो वर्ष हाम्रो जिल्लामा नापी शुरु भएको थियो र नापीको पहिलो वर्ष नै हाम्रो गाविस नापी हुनेमा परेको थियो । नापीको फिल्ड अफिस हाम्रो घरमा बसेको थियो । त्यसैले स्वाभाविक थियो, गाविसभरिका मानिस हाम्रो घरमा आउँनु । हमलसिंह दाइ त्यसबेला मस्त जवान हुनुहुन्थ्यो र सायद वहाँ वडा सदस्य यस्तै केही पदमा पनि हुनुहुन्थ्यो र हुनुहुन्थ्यो, उत्साही । वहाँ मावि स्थापना गर्नैपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । हामीले फुर्सदका बेला नापीका लागि हाम्रो घरमा आएका गाउँलेका बीचमा मावि स्थापनाको प्रचार गर्ने सल्लाह गरेका थियौं । एक दिन हमल दाइले मावि स्थापनाको प्रचार गरिरहेका बेला एक जना अमिनले तिमीहरु मावि स्थापना गर्नै सक्दैनौं भनिदिएछ । हाम्रो गाउँको जग्गा जमिनको अवस्था र स्वामित्वका बारेमा कान्ला कान्ला जानेको अमिनले हाम्रो गरिबी बुझेर नै त्यो प्रतिकृया दिएको थियो । वास्तवमा त्यो बेला मावि स्थापना गर्नु फलामको च्युरा चपाउनु सरह छ भन्ने त हामीलाई पनि लागेकै हो । तर पनि कुनै पनि हालतमा मावि स्थापना गर्नै पर्छ भन्ने भुत हाम्रो दिमागमा सवार भएको थियो । त्यसैले हमल दाइले चर्का चर्की नै गरेर अर्को साल जसरी पनि मावि स्थापना गर्ने ठोकुवा नै गर्नु भएछ । त्यो अमिनसँग अलि भनाभन समेत भएछ । यो कुरा मैले बेलुकाको हाम्रो मिटिड (त्यसबेला हामी हरेक साँझ कहि न कहि भेला भएर कुराकानी गथ्यौं) मा थाहा पाँए । यो कुराले एकातिर हमल दाइको इख बढायो र वहाँ दोब्बर जोस र सकृयताका साथ मावि स्थापनाको प्रचारमा लाग्नु भयो भने अर्कोतिर एककान दुइकान मैदान हुँदै आफ्नो गाउँलाई अमिनले नपत्याएको कुरा गाउँलेहरु समक्ष पुग्यो । सबै गाउँलेहरुमा एक खालको चुनौति त्यो अमिनले आपूm र आफ्नो गाउँलाई दिएको आभाष भएछ । प्रचारको काम एकदम तिब्र रुपमा हुनथाल्यो । अब जालपाको २ जना मानिसमात्र भेटे पनि माविको कुरा हुन थाल्यो ।

३९ सालको हिउँदसम्म आइपुग्दा गाउँघरमा कोही पनि मावि स्थापनाका बारेमा नजान्ने नसुन्ने रहेनन् । यसरी वातावरण तयार भयो । त्यसैसालको अन्ततिर गाउँसभा भएको बेलामा तात्कालीन जिल्ला पञ्चायत सभापति तेजबहादुर बस्नेत प्रमुख अतिथि भएर आएका थिए । उनले पनि गाउँलेबाट सस्तो लोकपृयता लिन कै लागि मात्र भएपनि मावि स्थापनामा आफूले हदैसम्म सहयोग गर्ने वचन दिएछन् । (सस्तो लोकपृयता किन मलाई लाग्यो भने मावि स्वीकृति दिलाउन र सञ्चालन गर्न उनले खासै मद्दत गरेनन्) । त्यसले पनि गाउँलेलाई पूर्ण विश्वास दिलायो कि हामी मावि स्थापना र सञ्चालन गर्न सक्छौं । ०४० लाग्यो हाम्रो अभियान जारी नै छ । तर, त्यो बेलासम्म न कुनै औपचारिक समिति बनेको छ न त कुनै औपचारिक निर्णय नै भएको छ । खाली हामी केटाहरु लगातार प्रचारमा लागेका छौं । अब भने संस्थागत पहलको आवश्यकता प्रष्ट देखिएको थियो ।

त्यो समयमा गाउँको प्रधानपञ्च कुबिर राई हुनुहुन्थ्यो । वहाँलाई पनि हामीले अभियानमा सरिक बनाएका थियौं । राम दाइले निकाल्नुभएको योजना अनुसार नै हामीले वहाँलाई नाम अमर गर्ने बेला यहि हो भनेर अगुवा बनाउने काम गरेका थियौं । किनभने निरंकुश व्यवस्थाका आँखामा हामी (म, जयश्वर, राम र इमान लगायतका साथी) हरु भरोसा गर्न नसक्ने र व्यवस्था विरोधी थियौं । म त्यसबेला तात्कालीन नेकपा (माले) समर्थित विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सदस्य र धरान बहुमुखी क्याम्पसको सभापति थिए, राम दाई धनकुटाको पाँचौको विद्यार्थी, जयश्वर दाइ जनमत संग्रहमा बहुदलको प्रतिनिधी भएर जालपा बुथमा बसेको मान्छे र तत्कालीन मसाल समर्थक, इमानजी छैटौंको जिल्ला नेता । यस्तो बेलामा हामीलाई प्रशासनले सहयोग गर्ने त के पत्याउँने कुरै भएन । हामी प्रशासन समक्ष देखा परे झन कुरा विग्रने र विद्यालयले स्वीकृति नपाउँने पक्का थियो । यस्तो बेलामा प्रधानपञ्च नै सकृय हुनु जरुरी थियो । अर्कोतिर गाउँमा मान्यजनका रुपमा रहनुभएका रामबहादुर राई दाइ हुनुहुन्थ्यो । वहाँलाई पुरानो पुस्ताले विद्धानका रुपमा, समाजसेवीका रुपमा र पञ्चायतको सकृय अगुवाका रुपमा आदर र विश्वास गर्दथे । त्यसैले वहाँलाई पनि हाम्रो योजनामा सरिक गराउँनु जरुरी थियो । जनक राई विद्यालयको संस्थापक हुनुहुन्थ्यो वहाँ स्वाभाविक रुपमा मावि स्थापना गर्ने पक्षमा भएपनि घरायशी झमेला र तनावका बीच हुनुहुन्थ्यो । यस्तो अवस्थामा हामीले सञ्चालक समितिको निर्णयले भेला बोलाएर चन्दा संकलन समिति कुबिर राईको नेतृत्वमा निर्माण ग¥यौ ।

धेरै रकम चाहिने र त्यो रकम जसरी पनि जुटाउँनै पर्ने अवस्था एकातिर थियो भने पैसाको महामारी गाउँमा थियो । यस्तो अवस्थामा हामीले ३ किस्तामा रकम संकलन गर्ने योजना बनायौं । त्यसैले थालनीमा रकम कबुल गर्न लगाउँने र वडा स्तरीय समिति बनाउँने, अनि पहिलो किस्ता मंसिरमा उठाउँने, दोश्रो किस्ता ३ महिना पछि र तेश्रो किस्ता यस्तै ३ महिना पछि उठाउँने योजना हो क्यार बन्यो (अहिले मलाई पक्का एक्किन भएन) ।

४० सालको दशैंपछि हामीले गाउँ टोल भेला गर्ने र आर्थिक सहायता कबुल गराउँने भनेर योजना बनायौं । त्यसै अनुसार हामीले काम वडा नं. १ छिप्तीबाट काम शुरु ग¥यौ । त्यो बेलामा मेरी श्रीमती देवका राई बिरामीले थला परिन् । निकै दिनसम्म ओछ्यानबाट उठ्न सकिनन् । बिरामी श्रीमतीको हेरचाह गर्ने कामभन्दा माविका लागि चन्दा संकलनको काम नै प्राथमिकता पाउँने काम हो भनेर गाउँ गाउँमा बास बस्दै विहान, दिउसो र बेलुका गरेर भेला, छलफल र चन्दा कबुल गराउने काम लगातार ८ दिनसम्म चल्यो । काही राम्रै खाना र बास पाइयो । कुनै ठाउँ अत्यन्त कष्टले पनि रात काटियो । जे होस् मकै भटमाससम्म भने जसरी पनि गाउँलेहरुले खुवाउने क्षमता त्यो बेला पनि राख्थे ।

०३८ सालको राष्टिय पञ्चायतको निर्वाचन देखि नै दुवेकोल निवासी स्व. हरिकाजी गुरुङसँग हाम्रो निकै नजिकको सम्बन्ध बनेको थियो । डुम्रेको द्यौराली मावि वहाँकै अगुवाइ र जोडवलमा निजी क्षेत्रबाट सञ्चालनमा आएको थियो । त्यसैले वहाँको सहयोग हामीले लिए सजिलो हुने ठानेर हामीले वहाँलाई गुहा¥यौ । वहाँ पनि सहर्ष राजी हुनुभयो । त्यसवेला वहाँ कुनै औपचारिक पदमा हुनुहुन्थ्यो कि होइन मलाई अहिले सम्झना छैन । तर, वहाँ विघटित गाउँ फर्क राष्टिय अभियानका जिल्ला सदस्य र ०३८ सालमा भएको रापंसको प्रत्यक्ष निर्वाचनका उम्मेद्धार समेत भएकाले जिल्लाभर प्रख्यात र परिचित हुनु भएकाले वहाँको क्रियाशीलताले हामीमा आत्मविश्वास जाग्यो र सजिलो पनि भयो । वहाँको हक्की र उत्साही स्वाभावका कारण हाम्रो जोस बढ्यो ।

उबेला पौषमा शैक्षिक सत्र शुरु हुन्थ्यो । त्यसैले कात्तिकभित्र ५० हजार धरौटी रकम राखेर मंसिरभित्र स्वीकृति लिएर ०४० कै शैक्षिक सत्रबाट कक्षा ८ शुरु गर्ने हाम्रो लक्ष्य थियो । सोही मुताविक चन्दा संकलन गर्न प्रारम्भ गरियो । उबेला ५० हजार भनेको यो समयको १० लाखभन्दा धेरै मूल्य राख्ने हुन्थ्यो । गरीब गाउँ, पैसाको चलखेल थोरै हुने, त्यस्तो गाउँमा ५० हजार पहिलो किस्तामा उठ्न कम्ति गाह्रो थिएन । तर, जनतामा यस्तो उत्साह आएको थियो कि एक हप्ताभित्र धरौटीका लागि ५० हजार रुपैयाँ जम्मा भयो । त्यसका लागि गाउँका जनता कसैले सुँगुर बेचे, कसैले खसी बोका बेचे, कसैले लगाएको सुनको गहना समेत बन्धकी राखे साहुकोमा, अन्नपात त प्राय सबैले बेचेर चन्दा जुटाए । त्यो बेलाको जनताको त्याग, उत्साह र सहभागिता लोभ लाग्दो, प्रशंसायोग्य र उत्साहजनक थियो ।

५० हजार रुपैयाँ जम्मा गर्ने वित्तिकै रामबहादुर दाइ, प्रधानपञ्च कुबिर राई, उपप्रधानपञ्च भीमबहादुर राई लगायत गाउँको एउटा प्रतिनिधि मण्डल दिक्तेल शिक्षा कार्यालयमा पुग्यो । जिशिअले प्रजिअको स्वीकृतिका लागि जान भने । प्रजिअ को थियो, मलाई याद भएन । तिनले हाम्रा प्रतिनिधीलाई उत्साह दिनुको साटो सातो खाएछन् । पैसाले मात्र स्कूल हुन्छ, त्यहाँ व्यवस्था विरोधीहरुले खेल देखाउँन पनि मावि खोल्न लागेको हुनसक्छ भन्ने जस्ता तत्कालीन निरंकुश व्यवस्थाको सोच ओकलेछन् । मुस्किलले धरौटी स्वीकार गरिए पनि विद्यालयको निजी स्वीकृति लिन हामीलाई धेरै गारो भो । हरिकाजि गुरुडको सहयोगले नै क्षेत्रिय शिक्षा निर्देशनालय धनकुटासम्म पुगियो र पछि फागुनमा मात्र विद्यालयको स्वीकृति प्राप्त भयो । स्वीकृतिपछि उद्घाटन गर्ने काम फागुन २४ गते भयो । उद्घाटनमा जिल्लाका ठुलाबडा धेरैलाई आमन्त्रण गरिए पनि कोही आएनन् र हरिकाजि गुरुडले नै त्यसको उद्घाटन गर्नुभो ।

नयाँ भवन निर्माण गर्नु थियो । गाउँ पञ्चायतसँग एक पैसा नहुने । तालीको वनमा काठ काटियो । ग्राउण्ड सम्याउँन वडा भाग लगाइयो । नयाँ जमिन खरिद गरियो । भवन बनाउँनका लागि ठेक्का दिने काम गरियो । काठ बोक्ने काम हुँन नसकेपछि हामी युवाहरु नै त्यसका लागि अग्रसर भइयो । विहानै पुरानोगाउँ घरबाट उठेर बेलुका तयार गरेको मकै भटमास खाँदै ताली वन पुगेर एक एक ओटा १२ फिटे ४।३ को काठ बोकेर दगुर्दै विद्यालय आइपुग्यो, घरबाट विद्यार्थीका हातमा पठाइ दिएको खाना खाएर कोही पढाउँन र कोही पढ्न थाल्यो । त्यसबेला टेकारी आँ.. आ.... भन्ने शब्दको आविस्कार भएको थियो । काँधमा लामो लामो काठ बोकेर हिडिरहेको बेला पछाडिको साथीहरुलाई बिसाउँने अर्थात टेकाउँने संकेत दिनलाई अष्टले त्यो शब्दको पहिलो चोटी प्रयोग गरेको थियो । थकान मेटाउँने हंसीमजाकको थोर बहुत आवश्यकता त्यो शब्दले टारेकाले हामी टेकारी आ.. आ... भन्दै बिसाउने र हास्ने गथ्र्यौ । बेलुकी विद्यालय सकिए पछि ढुंगा फुटाउने काममा जुटिन्थ्यो । मैले घन हान्न र ढुुंगा फुटाउँने सिप जालपामा मावि र ज्योति प्रावि स्थापना गर्दा नै सिकेको हो । रामकाजी, इमान, अष्ट आरा काट्न पनि जान्दथे । मलाई आरा पटक्कै नआउँने । तर जालपा माविको छाना छाउँदा काठ चिर्नका लागि आरा चलाइयो, जान्ने साथीले सिकाउने र हामी नजान्नेले पनि काट्ने गरियो । त्यति धेरै दुःख गरेर बनाउँदै घरेको विद्यालय भवन वर्षाद अघि नसकिएकाले वर्षादमा नराम्ररी जगसम्मै भत्कियो । हाम्रो आँखा सामुन्ने नै हाम्रो सपनाको संसार भत्किराखेको कष्टका साथ हामी हेर्न बाध्य भयौं । त्यसबेला त्यो भवनका लागि गरेको दुःख आँखाको सामुन्ने झलझली नाच्यो र आँखाभरी आँशु आयो । निरिह हामी के गर्न सक्थ्यौ र मलाई चाहि आफैभित्र पहिरो लडेको अनुभुति भइरह्यो । अर्को सालमात्र मुस्किलले भवन सकियो । तर कार्यालयका लागि भनेर बनाएको २ तले भवन अधुरै रह्यो । त्यो २ तले भवन पूरा गर्ने क्रममा ढुंगा बोक्ने पुरधन काका हुनुहुन्थ्यो । वहाँले ढुंगा तलामाथि थुपार्दा विम भाचिएर वहाँ ढुंगासँगै तल जमिनमा पछारिनुभो । धन्न वहाँलाई केही ठुुलो चोटपटक लागेन । १०।१५ दिन ओछ्यान परेपछि तंग्रिनुभो ।

माध्यमिक विद्यालयका लागि कमसेकम एकजना स्नातक शिक्षक अनिवार्य चाहिने, जालपामा एसएलसिभन्दा माथि पास गरेको भने ७ जना मात्र थियौं । त्यसमा म एकजना आइएस्सी पास गरेको, रामदाई र जयश्वर दाई आइएड पास गरेको, देविका विए जाँच दिएको र बाँकी एसएलसी । त्यसमा पनि कुमार लाहुरे गाउँमा नभएको, ललित दिक्तेलमा नै शिक्षक बाँकी एकजना प्रतिमान दाइ केही समय अघि सिक्किमबाट फर्किएर काममा जोतिनु भएको थियो । त्यसैले हामी एकजना शिक्षकको खोजिमा लाग्यौं । हरिकाजि गुरुङले हामीलाई ऐसेलुखर्क बजारका इश्वर राजभण्डारीलाई एकचोटी कुरा गर्न सल्लाह दिनुभएको थियो । वहाँले इश्वर सरलाई सामान्य कुरा पनि गर्नुभएको रहेछ । त्यसैको त्यान्द्रो समातेर हामी ३ जना रामप्रसाद दाइ, रामबहादुर दाइ र म ऐसेलुखर्क गयौं । इश्वर सरकै घरमा बास बसेर सुमन लगायत सबैसँग कुरा भएपछि ऐसेलुखर्कमा एसएलसी सेण्टर राख्ने सहमतिका साथ इश्वर सर हाम्रो विद्यालयका लागि एक वर्ष प्रधानाध्यापक हुन राजी हुनुभयो । वास्तवमा इश्वर राजभण्डारीले त्यो बेला हामीलाई सारै राम्रो गुन लगाउँनु भएको थियो । वहाँले नै विद्यालयका लागि एउटा प्रणाली स्थापित गर्ने काम गर्नुभएको थियो ।

एक वर्षपछि इश्वर सर विदा भएर जानुभो । त्यसपछि विद्यालयको दुर्दिन शुरु भए । कमजोर व्यवस्थापनका कारण केही हुन सकेन । म, विकास, इमान, नन्दकुमार, मदन, टिका तामाड लगायत धेरैले एक पैसा नलिई विद्यालयमा लामो समय स्वयम्सेवक शिक्षकका रुपमा काम गरेर जसो तसो क्लास धानियो । मैले ४ वर्ष विद्यालयमा नियमित शिक्षकको रुपमा एक पैसा नलिई काम गर्दा हालत कस्तो भएको थियो भने लाउनका लागि मसँग एकजोर सहीसलामत जुत्ता वा एउटा पनि नफाटेको पेण्ट थिएन । त्योबेलाको एउटा घटना अझै ताजा छ मलाई । शिक्षक आन्दोलन चलिरहेको थियो र ऐसेलुखर्कको देसारेमा क्षेत्रिय सभा थियो । म त्यहाँ वक्ताका रुपमा जानुपर्ने । सबै पेण्टको पछाडि फाटेको । कुन लगाएर जाने ? मैले जुक्ति निकाले, लामो झोला भिर्ने र त्यसलाई चाकतिर सधै ढल्क्याएर पिध फाटेको पेण्टको भाग छोप्ने । त्यसै गरेर मैले शिक्षकहरुको क्षेत्रिय भेलामा भाषण दिए । राति जालपा फर्किदा हामी फाटेको पेण्ट र त्यसलाई छोप्ने झोलाका बारेमा मज्जैले गफ गर्दै हास्दै उकालो काट्यौ ।

यस्ता हण्डर ठक्कर खाएर भएपनि मावि अविचल रुपमा सञ्चालन गर्न जालपालीहरु सफल भए । आज यो उच्च मावि भएको छ । यो विद्यालयले अझ प्रगति गर्नुपर्दछ । यसको यात्रा अझ अगाडि जानु पर्दछ । आज हिजोको जस्तो दुःख छैन । हाम्रो एकता र सुझबुझ पूर्ण योजना बन्यो भने जालपा उमाविको प्रगति द्रुुततर गतिमा हुँनेछ । आज जालपा उमाविका लागि फाटेको पेण्ट र कलर खिइसकेको सर्ट लगाएर एक कप चिया समेत दिनभरमा नखाइ काम गर्नु पर्ने अवस्थाको अन्त्य भएको छ । भनौं एउटा कहरको युग समाप्त भएको छ र नयाँ यात्राका लागि सुनौलो भविष्य भएको युगको शुरुआत भएको छ । हाम्रा पाइलाहरु अझ दरो र छिटो बनाऔं । (मावि स्थापनाका क्रममा धेरै त्याग र कठिन मेहेनत गर्नुहुने मेरा समकालीन साथीहरु, अग्रजहरु र गाउँलेहरुको नाम संझदा संझदै पनि यो सानो सम्झौटोमा उल्लेख गर्न नसकेकोमा म धेरै दुःखी छु ।)
(यो संस्मरण लेखक राईको ब्लगबाट साभार गरिएको हो ।)
 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित