मुन्धुम वनस्पति उद्यान

  • प्रकाशित मितिः बैशाख 9, 2077
  • 320 पटक पढिएको
  • संवादताता

टंक राई-
 
'किरातीहरुको मात्रै गौरवको इतिहास नभएर समग्र जनताको गौरव को आयोजना हो । यसलाई सफल पार्न सके यो एउटा उदाहरणीय काम बन्ने पक्का छ । यसैले यसलाई सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ । आर्थिक, भौतिक, बौद्धिक सहयोग सबैबाट पाए मात्र यो सफल हुनेछ ।' 
मुन्धुुम किरातहरुको जीवन दर्शन हो । मुन्धुुम दर्शन, सिद्धान्त र ब्यवहारिक जीवनको आधारभूत मार्गदर्शन पनि हो । यो किरात समुदायको विश्वास र दर्शन हो । यससँग रीतिरिवाज, जीवन दर्शन, धार्मिक सिद्धान्त, उपचार पद्धति, खोज र अनुसन्धान गाँसिएर रहेको छ । मुन्धुमको आलोकमा किरातहरुको सांस्कृतिक पक्ष निरन्तर समृद्ध हुदै आएको छ । सजिलो गरी बुझ्नका लागि यसलाई हिन्दुहरुको वेद, क्रिस्चियनहरुको बाइबल वा मुस्लिमहरुको कुरान जस्तै किरातीहरुको प्रमुख धर्मग्रन्थका रुपमा बुझ्न सकिन्छ । यस अन्तरगत रीतिविधि, जीवन दृष्टि, उपचार पद्धति, दर्शन आदि बृहत विषय समेटिएको छ । यसभित्रको एउटा मुख्य पाटो वानस्पातिक क्षेत्र पनि हो । वानस्पातिक पाटोमा कर्मकाण्ड र विभिन्न प्रिय, अप्रिय कार्यहरुका लागि नभइ नहुने, पवित्र तथा औषधिजन्य बोट विरुवाहरु पर्दछन् । मुन्धुुमले पवित्र र आवश्यकीय मानेका कतिपय वनस्पती लोप हुने खतरा समेत रहेको अवस्था छ । यस बारेमा खासै खोज अनुसन्धान समेत भएको छैन । हजारौं वर्षदेखि प्रयोग भइ आएका यस्ता वनस्पतिको आफ्नै खालको महत्व रहेको हुन्छ र यसले मानवीय समुदाय र जीवनमा समेत ठूलै महत्व राख्दछ । यस्तो वनस्पतिहरुलाई संकलन, संरक्षण र अध्ययन गर्नका लागि सरल र सहज होस् भन्ने उद्देश्यले यो उद्यान निर्माण गर्न लागिएको हो । १ नं प्रदेश किरात भूमि भएकाले र अझ खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ऐतिहासिक माझकिरातको केन्द्र भागमा पर्ने भएकाले पनि किरात संस्कृतिका हिसावले महत्वपूर्ण स्थान हो । यस्तो स्थानमा मुन्धुुममा वर्णित (१) पवित्र बोटविरुवा, (२) औषधिजन्य बोटविरुवा, (३) संस्कारमा चाहिने सांस्कृतिक बोटविरुवा (४) किरातहरुको लागि नभइ नहुने बोटविरुवाहरु एकै ठाउमा लगाएर मुद्धुम बनस्पति उद्यान निर्माण गर्नु अनिवार्य जस्तै भएको छ । यो उद्यानमा यसरी संकलन गरिएको बोट विरुवाहरुको नेपाली नाम, अंग्रेजी नाम, बैज्ञानिक नाम र किराती नाम समेत राखेर अवलोकन गर्ने, अध्ययन अनुसन्धान गर्ने थलोको रुपमा मात्र होइन पवित्र तीर्थस्थलका रुपमा विकास गर्ने योजना रहेको छ । यसैले यो काम गर्न स्थानीय जनता कम्मर कसेर लागेका छन् । उनीहरुको उत्साहलाई सबैतिरबाट प्रशंसा गरिएको छ । यो उद्यान निर्माण कार्य सम्पन्न भएपछि संस्कृतिको अध्ययन अनुसन्धान गर्ने, सामान्य जानकारी लिन चाहने, आफ्नो संस्कार र संस्कृतिसँग वनस्पतिको के सामिप्यता र अन्तरसम्बन्ध छ भनेर जान्न चाहने सामान्य नागरिक समेतले श्रोत केन्द्रका रुपमा उपयोग गर्न सहज हुनेछ । यसका साथै वनस्पती शास्त्रका विद्यार्थी र शोधकर्ताका लागि र आम विद्यार्थीका लागि पनि यो उद्यान अत्यन्तै उपयोगी हुने विश्वास गर्न सकिन्छ । किरातहरुका लागि त यो पवित्र उद्यान नै हुनेछ र आफ्नो संस्कार संस्कृतिमाथि गर्व गर्न उत्प्रेरित गर्नेछ । यो उद्यानको वाहिरी भाग तारवारले सुरक्षित गरिनेछ र सम्भव भएसम्म वा प्राकृतिक रुपमा यस क्षेत्रमा बसोबास गरिरहेका चराचुरुङगी, वन्यजन्तु आदिको संरक्षण गरिनेछ । यसभित्र सबै वनस्पतिसम्म सहज आवत जावतका लागि बाटो निर्माण गरिनेछ । यस उद्यानभित्र किरात पहिचान झल्काउने खालका स्क्लप्चरहरु, मुर्तिकलाहरु समेत राखिनेछ । सानो बैठक कक्ष, जानकारी मूलक सूचनाहरु, विश्रामस्थहरुको समेत व्यवस्था गरिनेछ । मनोरञ्जक दृष्यहरुको समेत जोहो गरेर यसलाई आकर्षक बनाइने छ । यसले गर्दा ज्ञान आर्जनका लागि मात्रै होइन मनोरञ्जनका लागि समेत यो एउटा गन्तब्य हुनेछ । यो वनस्पति उद्यान (Muddum Botanical Garden) खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १२ जालपामा स्थापना र सञ्चालनका गर्न लागिएको छ । यसका लागि आधारभूत सर्वेक्षण, सम्भाव्यता अध्ययन, परियोजना प्रस्ताव निर्माणका लागि आवश्यक बजेटको व्यवस्थाका लागि प्रदेश १ को सरकार समक्ष अनुरोध गरिएकोमा चालु आर्थिक वर्षमा प्रदेश सरकारको तर्फबाट ३० लाख रुपैयाँ छुट्याइएको छ । यसका लागि प्रदेश सरकार र यसका निम्ति प्रयास गर्नुहुने यस जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने माननीय प्रदेशसभा सदस्यज्यूहरु धन्यवादका पात्र हुनुहुन्छ । यस रकमबाट उद्यानको लागि विस्तृत परियोजना निर्माण र उद्यानको प्रारम्भिक काम यो वर्ष गरिनेछ । यसका अलावा स्थानीयको श्रम र सहयोगबाट समेत काम अघि बढाउने लक्ष राखिएको छ । 
उद्यानबाट हुने फाइदाहरु : 
क) यसले पर्यटन प्रबद्र्धन गर्न मद्दत पुग्छ र स्थानीय जनताको आय बृद्धि गर्छ । ख) सांस्कृतिक र धार्मिक सम्पदाको विकास र विस्तार गर्छ । ग) विद्यार्थी तथा अनुुसन्धानकर्ताहरुलाई श्रोत स्थलको रुपमा स्थापित हुन्छ । घ) किरात संस्कारका लागि सामग्री आपूर्ति गर्ने स्थानको रुपमा कायम हुन्छ । ङ) जैविक विविधताको संरक्षणको क्षेत्रमा महत्वपूर्ण योजदान दिन्छ । च) अनुसन्धानशालाका रुपमा विकास भई अनुसन्धानलाई सहज र सरल बनाउछ । छ) मनोरञ्जनका लागि समेत उपयोगी स्थल निर्माण हुन्छ । 
यो वर्ष गरिने कामहरु : 
क) हाल प्रस्तावित स्थानको सर्भे नापी, नक्सा तयार गरी विस्तृत परियोजना निर्माण ख) प्रस्तावित स्थानमा हुन सक्ने बोट विरुवाको बारेमा अध्ययन ग) आवश्यक पर्ने जग्गाको क्षेत्रफल निर्धारण र प्राप्ति घ) नर्सरी स्थापना ङ) बजेट निर्माण अहिलेसम्म भए गरेका कामहरु उद्यान स्थापना गर्ने स्थानको पहिचान गरिसकिएको र सो स्थानको जग्गा प्राप्तिका लागि आवश्यक कदम चाल्न छलफल भइरहेको छ । स्थानीय रुपमा उपलब्ध विरुवाहरु रोप्ने संरक्ष गर्ने काम भइरहेको । वडाको तर्फबाट उद्यान निर्माणका लागि समुदायसँग छलफल र प्रचार प्रसारको काम भइरहेको छ । उद्यान निर्माण र सञ्चालनको जिम्मेवारी यस उद्यान निर्माणका लागि स्थानीय सरोकारवालाको आम सहभागितामा निर्माण समितिको निर्माण गरी कामको थालनी गरिनेछ । समितिको काम सुशासन, पारदर्शी तवरले सम्पन्न गर्नका लागि आवश्यक पर्ने नीति नियमहरु सरोकारवालाको भेला मार्फत पारित गरी लागु गरिनेछ । यस कामका लागि स्थानीय सरकारको सहयोग अपेक्षा गरिएको छ । यसको दीर्घकालीन सञ्चालनका लागि एक स्वायत्त र अविच्छिन्न संस्था सरोकारवालाहरुको निर्णयले निर्माण गरिने छ । यो किरातीहरुको मात्रै गौरवको इतिहास नभएर समग्र जनताको गौरव को आयोजना हो । यसलाई सफल पार्न सके यो एउटा उदाहरणीय काम बन्ने पक्का छ । यसैले यसलाई सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ । आर्थिक, भौतिक, बौद्धिक सहयोग सबैबाट पाए मात्र यो सफल हुनेछ । आशा एबम् विश्वास छ यसलाई सबैको सहयोग प्राप्त हुनेछ ।
(यो लेख २०७६ मङ्सिर १५ गते प्रकाशित रुपाकोट साप्ताहिकबाट साभार गरिएको हो । साभार मिति २०७७ बैशाख ९) 

प्रतिक्रिया दिनुहोस


Copyright © 2021 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित