सविना अछामे–
खोटाङ, जेठ ३२–जिल्लाको दक्षिणी भेगमा पर्ने खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका अगुवा कृषक बलजीत राईलाई यही जुनीमा गाउँमै गाडी आइपुग्ला र आफ्नो बारीमा उत्पादन भएका कृषि उपज सहर पठाइएलाजस्तो लागेको थिएन । आफ्नो खेतबारीमा उत्पादन गरेको अलैची, किवीलगायतका वस्तुहरु गाउँबाटै गाडीमा हालेर पठाउन पाएपछि आजभोलि उनी औधी खुसी छन् । उनले वार्षिक ५० लाख बराबरको उत्पादन सहरी बजारमा पठाउने गरेको सुनाए । यसबाट वार्षिक २० लाख जति कमाइ हुने गरेको उनले बताए ।
खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका बलजीत राई ।
सडक बिस्तारले गाउँमा उत्पादन भएका खसी–बोका, बङ्गुर, काठ, बाँस, प्याज, आलु, अम्लिसो, अलैंची, सुन्तलालगायतका वस्तु पनि उल्लेख्य मात्रामा निकासी हुने गरेको छ । यसले आम्दानीमा पनि वृद्धि भएको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका इन्द्र नारथुङेको भनाइ छ । ‘यातायातको सुविधाले गाउँमा उत्पादन भएका कृषिजन्य वस्तु निकासीमा सहज भएको छ,’ उनले भने–‘यसले आम्दानीमा वृद्धि हुनका साथै मानिसको जीवनशैलीमै परिवर्तन ल्याएको छ ।’
गाउँमै गाडी आएपछि अलैंची, बङ्गुर, खसी–बोका, किवी, लकडी लगायतका कृषिजन्य उत्पादन शहर पठाउन पाएकोमा दंग छन् केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई । गाउँ–गाउँमा सडक पुगेपछि कृषिको माध्यमबाट आयआर्जनको मेसो बसेको तर युवाहरूमा उद्यमशीलतामा जाँगर नदेखिएकाले भनेजस्तो आयआर्जन हुन नसकेको राईको भनाइ छ । ‘उत्पादन गर्न सके यातायातको सुविधाले बजारको समस्या छैन,’–उनले भने ।
जिल्लामा फलेको अलैची निकासीको तयारी गरिदै ।
केपिलासगढी गाउँपालिका सहरसंगको यातायात सम्बन्ध जोडिएपछि विस्तारै गाउँले काँचुली फेर्न थालेको राई बताउँछन् । मध्यपहाडी लोकमार्गसँग जोडेर हुर्लुङ–जालपा–सप्तेश्वर–बाक्सिला सडक ट्र्याक खुलेपछि गाउँको मुहार फेरिन थालेको राईको भनाइ छ । यो वर्ष पनि पूर्वाधार विकास मन्त्रालय अन्तरगत कोशी प्रदेश सरकारको ३१ लाख ७२ हजार रूपैयाँ बजेटमा उक्त सडक खण्डको स्तरोन्नतिको काम भइरहेको छ ।
उक्त मन्त्रालय अन्तरगतकै कोशी प्रदेश सरकारको बजेटबाट अन्य सडकहरू पनि निर्माण भएका छन् । डुम्रिबोटे–रुद्मु–फोक्सिङटार–बराहापोखरी, कालापानी–ठूलीबेसी–खोटाङबजार, पसलेडाडाँ–आम्बोटे–बराहापोखरी, पुरानो बैंकचौक–एकले पिपल–नेवारगाउँ–बाम्राङ सडक सम्पन्न भइसकेका छन् । भगरपुर–कुरिमा सडक आयोजना साकेला, संसारीडाँडा–गुप्तेश्वर समादेव सडक, पुरानोगाउँ सडक दिक्तेल–१, गुप्तेश्वर महादेव–बन्दीडाँडा सडक खोटाङ, महुरेगढी बहुप्राविधिक शिक्षालय सडक अन्तिम चरणमा पुगेका छन् ।
दिक्तेल–जालपा–ऐसेलुखर्क, दिक्तेल रत्नपार्क–बस्नेतगाउँ–झिसेपु, भँगेरी कात्तिके खोलिङ्पा डिहीडाँडा हलेसी तुवाचुङ, बिजुले–बुइपा–बाम्राङ–दिक्तेल, बिजुलेडाँडा–चिउरीबास भन्ज्याङ–खार्पा–ऐसेलुखर्क, हौचुर पोखरी रैचुङ गिद्देभैंसे सडक निर्माणाधीन छन् ।
दिक्तेल बजारका सडक ढलानको तयारी गरिदै ।
यस्तै रावाबेसी गाउँपालिका, साकेला गाउँपालिका–२ र ४ जोड्ने सहिद नवीन राई सडक, जौबारी–हरमटार–रावाबेसी सडक, हात्तीढुङ्गे सार्कीडाडाँ हुदै तीन चुलोसम्मको सडक हलेसी तुवाचुङ–५, हलेसी–एकलेबर–दीपखर्क–नवलपुर सडक, एकलेबर–जनचेतना प्रावि–पामे–नवलपुर सडक, अर्खौले–तिर्पा सडक, दिक्तेल–साप्सुखोला–मात्तिम–मानेभन्ज्याङ–पान्धारे सडक (ब्ल्याकटप), लिपेदोभान–रेग्मीटार सडक कालोपत्रे गर्ने काम जारी छ ।
बलङ्खा–बोपुङ वाक्सिप सडक, सावाखोला–चिमाने–थामखर्क सडक, खानीडाँडा–दिखुवा–रेग्मीटार सडक, जालपा–कादेल–बाक्सिला सडक, क्याप्छाकी धारा–काहुले–आलीडाडाँ दिप्रुङ, बुइपा गाउँ–लेक्पा–लहरेटोल–कुसुङ्खा–खानीडाडा सडक, मिलनचौक–साकेला प्रावि मेवाखोला दिरुनपा–६ सडक निर्माणाधीन अवस्थामा छन् ।
यसबाहेक शहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गा मार्फत कोशी प्रदेश सरकारको बजेटबाट पनि अन्य थुप्रै सडकहरू निर्माण भएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटबाट सञ्चालित पुरानो बैंक चौक–स्कुल–बरगाछी सडक, हेलिप्याड–गैराहल तथा सडक निर्माण लगायतका योजना सम्पन्न भइसकेका छन् । आर्थिक वर्ष २०८०/८१ मा ६ वटा योजनामध्ये ४ वटा योजना सम्पन्न भइसकेका छन् ।
सडक ढलान अलपत्र परेको चिसापानी बजार ।
आर्थिक वर्ष २०८०/८१ को २५ लाख रूपैयाँको बजेटमा चिसापानी बजारको ढलानको कामको ठेक्का लिएको निर्माण कम्पनीले अलपत्र पारेको छ । आगामी असार १५ गतेसम्म सक्नुपर्ने गरी ठेक्का लिएको बि एण्ड बि निर्माण सेवाले ठेक्का लिएर अझै काम थालेको छैन । उक्त निर्माण कम्पनीले २०८० चैत २५ गते संझौता गरेको थियो । उक्त निर्माण सेवाले नै चिसापानी बजारस्थित ढल निर्माणको काम जिम्मा लिएर अलपत्र पारेको छ । पाँच लाख रूपैयाँको बजेटमा २०८१ असार १० गतेभित्र सक्ने गरी काम जिम्मा लिएको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले सुनाए । गाउँपालिकासंगको सहकार्यमा बाहेक प्रदेश र केन्द्रबाट सञ्चालित योजनाहरू सम्वन्धित स्थानीय तहसंग समन्वय नगर्ने भएकाले समस्या आएको खड्काको भनाइ छ । निर्माणमा संलग्न कृष्ण कोइरालाले भने अब छिट्टै नै काम थाल्ने बताएका छन् ।
२९ वर्षमा पनि पूरा हुन नसकेको गाइघाट–दिक्तेल सडक अन्तरगत महुरेस्थित सडक ।
त्यस्तै २९ वर्षअघि निर्माण सुरु गरिएको सगरमाथा लोकमार्ग (गाईघाट–दिक्तेल सडक) अझै अपुरै छ । निर्माण कम्पनीको लापरबाहीले अहिलेसम्म सडक अधुरो रहेको हो । २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी र खोटाङ राजनीतिक पृष्ठभूमि भएका अशोक राई यातायात राज्यमन्त्री हुँदा निर्माण थालिएको उक्त सडक अझैसम्म अपुरै रहेको हो । तर, अन्य सडकले भने खोटाङको काँचुली फेरिएको छ ।
खोटाङमा गाडी आएको त्यत्ति धेरै भएको छैन । २०६४ मङ्सिरमा दिक्तेलका व्यापारीहरूले हेलिकप्टरबाट टाटा कम्पनीको आइसर मालबाहक गाडी र त्यसको चार दिनपछि खोटाङ बहुउद्देश्यीय सहकारीले महेन्द्रा कम्पनीको दुई वटा बोलेरो जीप ल्याएका थिए । आइसर गाडी उदयपुरको गाइघाटबाट मनाङ एअरलाई चार लाख रूपैयाँ तिरेर ल्याइएको व्यवसायी बाबुकाजी कार्कीको भनाइ छ ।
मनाङ एअरको हेलिकोप्टर मार्फत दिक्तेलमा गाडी ल्याइदै ।
त्यस्तै नेपाली सेनाको हेलिकप्टरले जीप ल्याएको सहकारीका सञ्चालक तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए । उक्त गाडी दिक्तेल–हलेसी ४२ किलोमिटर, दिक्तेल–लामीडाडाँ ३५ किलोमिटर सडकमा सञ्चालन गरिएको राईले बताए ।
सेनाको हेलिकोप्टर मार्फत दिक्तेलमा गाडी ल्याइदै ।
खोटाङमा सडकको पहुँच विस्तार भएको त्यत्ति धेरै भएको छैन । २०७० सालतिर मध्यपहाडी लोकमार्गले खोटाङ छोएको हो । त्यसपछि मुलुक संघीय संरचनामा प्रवेशसंगै संघीय, प्रदेश र स्थानीय तहको सडकमा लगानी सुरु भएपछि विकासको मेसो बसेको हो । अहिले खोटाङका सबै स्थानीय तहमा सडक जोडिएको छ । दश स्थानीय तहका सबै (७९) वडाहरूमा सडक पुगेपछि शहर र गाउँको सम्वन्ध जोडिएको छ ।
सडक विस्तारपछि ढाकरमा नुन–तेल बोक्नु पर्ने अवस्था हटेको छ । नुन–तेल मात्र होइन सहरबाट अन्य सामग्री पनि गाउँसम्म आइपुग्छ । सडक बनेपछि गाउँमा उत्पादन भएका सामग्री शहर पुग्न थालेको छ भने शहरका सामान सिधै गाउँसम्म आइपुग्न थालेको छ । योसँगै यातायातसँग सहरका जीवनशैलीसमेत गाउँभित्रिएको छ ।
जङ्कफुडजन्य खाजा तयारी गर्दै एक युवती ।
शहरमा उपभोग गरिने वस्तु गाउँ–गाउँमा प्रचलनमा ल्याइएको छ । खाना, खाजादेखि पेय पदार्थहरू पनि गाउँ छिरेको छ । गाउँको मकै भटमास लगायतका घरेलु खाजाको चलन भने हराउँदै गएको छ । शहरको तयारी खाजाले गाउँ छोपेको छ भने स्थानीय रूपमा उत्पादन हुने पेयपदार्थलाई विस्थापित गर्ने गरी आयातित पेय पदार्थले गाउँ आक्रान्त पारेको छ । वैदेशिक रोजगार, अन्य माध्यमबाट आएका रेमिट्यान्स् तथा गाउँमै गरिएका आम्दानी वापतको रकम सहर गइरहेको छ । यसले गाउँको अर्थतन्त्र ओह्रालोतिर हुत्याएको छ । यसप्रति स्थानीय सरकार गम्भिर हुनु पर्ने विश्लेषक हरि रोकाको भनाई छ ।
गाडीमा आयातित पेय पदार्थ लैजाने तयारी गरिदै ।
उहिलेदेखि नै खोटाङ पृष्ठभूमि बनाएर राजनीति गर्ने नेताहरूको पहुँच भए पनि दृष्टिकोणको अभावले बेलामा खोटाङमा सडकको विस्तार नभएको स्थानीयको भनाई छ । ‘पञ्चायतकालमा राजनीति गर्नेले विकास भनेकै चामल हो भन्थे, त्यत्ति खेर अनुदानको चामल बोक्न ढाकर बोकेर तराई झर्नु पथ्र्यो, अहिले विकास भनेको सडक भन्न थालिएको छ ।’ जिल्ला समन्वयसमिति खोटाङका प्रमुख सनबहादुर राईले भने–‘तर विकास भनेको सडक मात्र होइन, यो एउटा माध्यम वा पूर्वाधार मात्र हो, यसको उपयोगले मानव जीवनका लागि प्राप्त हुने सुविधा हो ।’
यातायात सुविधाले विरामीलाई समेत सहज भएको छ । यातायातको सुविधा नहुदा उपचारका लागि लाखौं खर्च गरेर हेलिकोप्टर चार्टर गर्नु पर्ने वाध्यता हटेको छ । ‘पहिले त हेलिकोप्टर चार्टर गर्न पैसा नहुने विरामीहरू त्यत्तिकै मर्नु पर्ने अवस्था थियो ।’ खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्यले भने–‘अहिले यातायातको सुविधा भएपछि अकालमै मर्नु पर्ने अवस्था छैन ।’
दिक्तेल बजार ।
सडकले गाउँमा शहरीकरणको मेसो बसाएको छ । हरेक गाउँ टोलमा पक्की घरहरू बन्न थालेका छन् । निर्माण सामग्री ल्याउन सहज भएपछि पक्की घरहरू बन्न थालेका हुन् । गाउँमा घडेरीले भाउ पाउन थालेको छ । सडक गाउँमा आएपछि शहर गाउँ पसेको विश्लेषक रोकाको भनाई छ । ‘पहिले गाउँ शहर जान्थ्यो, अहिले शहर गाउँ आएको छ ।’ रोकाले भने–‘अहिले गाउँमा के छैन, सब थोक छ, इमेल–इन्टरनेट, स्वच्छ हावापानी, अर्गानिक खानपान, लोभलाग्दो संस्कृति सब गाउँमै छ, अनि कसरी सहर गाउँ नपसोस् त ?’
अझ सुविधा सम्पन्न स्वास्थ्य संस्था र गुणस्तर शिक्षाको सुविधा भए गाउँमा बस्नेको संख्या बढ्ने रोकाको भनाई छ । सम्भावनाको खोजीमा शहर पसेकाहरू अब गाउँ आउने अवस्थामा पुगेको रोका बताउँछन् । बसाइँ सरेकाहरू पनि गाउँ फर्कने रोकाको दाबी छ । मुलुक संघीय संरचनामा गएपछि गाउँमा सिंहदरबार आएको तर यसलाई व्यवस्थित गर्न केही समय लाग्ने रोकाको भनाइ छ ।
खोटाङ बजार ।
जिल्ला र शहरको सम्वन्ध मात्र होइन, गाउँ र सदरमुकामको सम्वन्ध पनि सडकले जोडेको छ । सरकारी कामका लागि सदरमुकाम जानु परे गाडीको सुविधा छ । घण्टौं हिडेर सदरमुकाम जानु पर्ने र बास बस्नु पर्ने वाध्यता हटेको छ । सडकका कारण अहिले घरमै खाना खाएर सदरमुकाम पुगी काम सकेर घरै आउन सक्ने अवस्था छ । कामकाजका लागि मात्र होइन, गाउँका बालबालिका घरमै बसेर सदरमुकामको बोर्डिङ स्कुल पढ्न पाएका छन् । ‘बोर्डिङको गाडी घरमै लिन आउँछ, पढिसकेपछि बेलुकी पनि घरमै ल्याइदिन्छ ।’ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी बिरस तामाङले भनिन्–‘पहिलेको तुलनामा अहिले त गाउँ स्वर्ग भाको छ ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २९–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २४–अन्तर �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २४–हलेसी �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २२–आहाले�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १९–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित