खोटाङमा उभौली

  • प्रकाशित मितिः जेठ ११, २०८१
  • 750 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ११–
हिमाल चुली पल्लो पटी, एहोइ हल हललेको सागछ स्यामुना
कसको छोरा, कसको छोरी एहोइ देखेपछि मायाँ लाग्छ स्यामुना...


ढोल, झ्याम्टाको तालमा माझकिरात खोटाङको दिक्तेल रुपाकोट मझुवागढीको मझुवागढीमा उभौलीको अवसरमा जेठ १० गते किराती समुदायका तन्नेरीहरू साकेला सिली नाचेका छन् । किरात राई यायोक्खा, किरात सेवा समाज, मझुवागढी संरक्षण समितिको आयोजनामा साकेला सिलीमा किरातीहरु मात्र होइन गैरकिरातले समेतले साकेला सिली नाँचेका छन् ।
बैशाखे पूर्णीमामा उभौली र मङ्सिरे पूर्णीमामा उधौली गरी वर्षमा दुई पटक यो सिली नाँच्ने गर्दछन् । बैशाखे पूर्णीमाको बेला जलचर तथा थलचर जीवजन्तु उभौली लाग्ने भएकाले उभौली र मङ्सिरे पूर्णीमाको बेला उधौली लाग्ने भएकाले उधौली भनिएको किरात राई यायोक्खाका अध्यक्ष युगसन किरातले बताए ।


किरातका अनुसार बैशाखे पूर्णीमाको अवसरमा बालीनाली राम्रो होस्, भलपहिरो, चट्याङ लगायतका प्राकृतिक प्रकोप आइनपरोस् भन्ने कामनाका साथ उभौलीमा चाड मनाउँने गरिन्छ । मङ्सिरे उधौलीको अवसरमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामना गर्दै बाली भित्राउँनका साथै प्रकृतिको पूजाआराधना गर्ने चलन छ । उभौली–उधौलीमा आफन्तसंगको भेटघाट गर्ने महत्वपूर्ण अवसर पनि मानिन्छ ।
बिहीबार जिल्लाका विभिन्न ठाउँहरूमा उभौली मनाइएको किरातले बताए । साकेला सिली किरातीहरुले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायले समेत नाँच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए । ‘उधौली–उभौलीमा किराती समुदाय मात्र नभएर गैर किराती समुदाय समेत साकेला सिली नाँच्ने भएकाले समृद्ध संस्कृतिको रूपमा विकास भइसकेको छ ।’–राईले भने–‘यसलाई अझ बृहत बनाउँदै लैजानु पर्छ ।’


यो वर्षको उभौली कोसी प्रदेशको विरोध गर्दै मनाइने किरातले बताए । पहिचानको आधारमा नामाङ्कन नगरीसम्म आन्दोलन जारी रहने समेत किरातले जनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित