तीन दृष्टिविहीनलाई स्थायी शिक्षक उतीर्ण हुँदाको खुसी

  • प्रकाशित मितिः चैत्र ३०, २०८०
  • 162 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ३०–शिक्षक सेवा आयोगमा प्राथमिक तहको तृतीय श्रेणीको परीक्षा उतीर्ण गरेपछि केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका २६ वर्षीय उमेश राई खुसी छन् । निजामती क्षेत्रको खरिदार, सुब्बामा पटक–पटक लोकसेवा परीक्षा दिदा पनि असफल भए पनि शिक्षक सेवामा भने पहिलो चोटी नै नाम निकालेका हुन् ।
‘२०७२ सालदेखि नै मैले खरदार–सुब्बाको लोकसेवा परीक्षा दिएको हो, तर पहिलो पत्रमा नाम निस्के पनि दोश्रो पेपर पास गर्न सकिन ।’ उनले भने–‘शिक्षा सेवा आयोगमा चाहिँ एकै चोटीमा नाम निस्क्यो ।’
जन्मै दृष्टिविहीन जन्मेका उनी ६ वर्षकै उमेरमा २०६० मा उपचार गर्न धरान झरेका हुन् । धरानको विपी स्वास्थ्य प्रतिष्ठान, लहान आँखा अस्पताल, विराटनगरको रानी अस्पताल, काठमाडौंको तिलगंगा आँखा अस्पतालमा उपचार गराउदा पनि ज्योति नफिरेको उनी सुनाउँछन् । त्यसपछि विपीका डाक्टरकै माध्यमबाट धरानस्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा भर्ना भएको उनको भनाई छ । त्यहाँ कक्षा १० सम्म अध्ययन गरी २०६९ सालमा एसइइ उतीर्ण गरेका हुन् । त्यसपछि धरानको चतरालाइनस्थित पब्लिक उच्च माध्यमिक विद्यालयबाट २०७१ सालमा कक्षा १२ र धरानकै सिटी कलेजबाट ७५ सालमा स्नातक सकेर अहिले अंग्रेजीमा स्नातकोत्तर पढ्दै गरेको सुनाउछँन् ।
अस्पताल धाउदा खेपेको पीडा र विद्यालय पुग्न ब्यहोरेको सास्ती संम्झिदा अझैं पनि उनलाई नमिठो लाग्छ । धरानस्थित रेलवेमा आफन्तकोमा बसेर अध्ययन गरेका उनले चतरालाइनस्थित विद्यालय पुग्न एक घण्टा धाउनु परेको बताए । ‘धरान रेलवे निनी (फुपू)कोबाट चतरालाइन पुग्न एक घण्टा लाग्थ्यो, त्यसमाथि पनि आँखा नदेख्दाको पीडा कस्तो होला, त्यत्रो धाएर पढियो’ उनले भने–‘तिनै दुःखी दिनहरूले अहिले सफलता दिलाएको छ, खुसी लाग्छ ।’
आँखा नदेख्नेहरूलाई हेयको दृष्टिले हेर्नुका साथै केही गर्न सक्दैन भन्ने धारणालाई समेत आयोगको नतिजाले चिरेको उनी बताउछन् । ‘आँखा नदेख्नेहरूले केही गर्न सक्दैन भन्ने धारणा अझै पनि छ, तर त्यसलाई चिर्दै शिक्षा सेवा आयोगमा पास भएको छु, जीवनमा ठूलो सफलता पाएको अनुभूति गरेको छु ।’
त्यत्ति मात्र होइन उनकी श्रीमती ३० वर्षीया सूर्यमायाँ लिम्बुले समेत आफूसंगै त्यही पदमा शिक्षा सेवा आयोग उतीर्ण गरेकी छन् । त्यसले पनि दम्पतीमा खुसियाली छाएको छ । ‘हामी दुवै जनाले संगै स्थायी शिक्षक भएर सरकारी सेवामा प्रवेश गरेका छौं, यसैमा खुसी लागेको छ,’–लिम्बुले भनिन् । आयोग उतीर्ण हुनुअघि दुवै जना शिक्षकै थिए । राई मोरङको बेलबारीस्थित भगवती माविमा मावि तहको राहत दरबन्दीमा १० महिनादेखि र लिम्बु पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा निजी दरबन्दीमा तीन वर्षदेखि कार्यरत थिइन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–७ चक्रघट्टीकी लिम्बु र राईको २०७७ सालमा विवाह भएको हो । दम्पतीको बालबच्चा भने भएको छैन ।
उनीहरू दुवै जनाले आयोग उतीर्ण गरेपछि खोटाङ फर्किएका हुन् । उनीहरू दुवै जनाले गत चैत २३ गते शिक्षा विकास तथा समन्वय इकाइ खोटाङबाट नियुक्ति लिएका हुन् । त्यसपछि केपिलासगढी गाउँपालिकाले चैत २७ गते पदस्थापन गरी लिम्बुलाई उक्त गाउँपालिकाकै वडा नं–३ बास्पानीस्थित मनोकामना आधारभूत विद्यालयमा र राईलाई केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित शुक्रजित माविमा खटिएका छन् । उनीहरू दुवै जना चैत २८ गते विद्यालयमा हाजिर भएको केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईले बताए ।

दिक्तेलस्थित साइनो कला केन्द्रमा गीत गाउदै भक्त विश्वकर्मा । 

त्यस्तै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३० वर्षीय भक्त विश्वकर्मा पनि उत्तिकै खुसी छाएको छ । शिक्षक सेवा आयोगमा पहिलो चोटीको प्रयासमै प्राथमिक तहको तृतीय श्रेणी उतीर्ण गरेपछि खुसी लागेको उनी बताउँछन् । ‘पहिलेदेखि नै मेरो चाहना भनेको शिक्षण पेशामै थियो ।’ उनले भने–‘अहिले आयोग पास गरेपछि मेरो चाहना पूरा भएको छ, धेरै खुसी लागेको छ ।’
विश्वकर्मा भने पदस्थापन भएका छैनन् । उनले पनि चैत २३ गते नै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका लागि नियुक्ति पत्र लिएको दिक्तेल शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका निमित्त प्रमुख नन्दबहादुर विश्वकर्माले बताए । उनलाई कुन विद्यालयमा पदस्थापन गर्ने भन्ने टुङ्गो नलागेको र केही दिनभित्रै शिक्षा समितिको बैठक बसेर पदस्थापन गरी विद्यालयको कामकाजमा खटाइने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका शिक्षा संयोजक तीर्थ विश्वकर्माले बताए ।
उनको ८ वर्षको उमेरमा टाउकोमा पिलो आएको र त्यसलाई फुटाएपछि आँखाको ज्योति गुमाएका हुन् । आँखाको ज्योति गुमे पनि संघर्ष गर्दै अध्ययनलाई पनि बढाइरहेका छन् । कक्षा १ देखि ८ सम्म दिक्तेलको पञ्च माविमा, कक्षा ९ र १० खार्मीको कालिका माविमा, ११–१२ दिक्तेलको सरस्वती माविमा, स्नातक दिक्तेल बहुमुखी क्याम्पसमा र स्नातकोत्तर दिक्तेल बहुमुखी क्याम्पसबाटै गर्दै छन् ।
उनी दुई वर्षदेखि दिक्तेलस्थित दिक्तेल अङ्ग्रेजी आवाशीय विद्यालयमा संगीत शिक्षण गर्नुका साथै दिक्तेलस्थित साइनो कला केन्द्रमा संगीत प्रशिक्षक पनि हुन् । उनको ६ वटा गीत रेकर्ड भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित