गाउँभरि जङ्कफुड

  • प्रकाशित मितिः श्रावण ९, २०८०
  • 309 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ९–खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका रमेश राईले अलैची गोडमेल गर्ने खेतलालाई चाउचाउ, विस्कुट खाजा दिएको धेरै भएको छैन । जब गाउँमा मोटर आयो त्यसपछि खाजामा यस्तै तयारी चिजबिज दिन थालेका हुन् ।
छिटो र मिठो हुने भएकाले गाउँभरि यस्तै चलन बसिकेको उनको भनाई छ । ‘पाँच–छ वर्षदेखि यस्तोखाले खाजा दिन सुरु गरिएको हो ।’ राईले भने–‘जब गाउँमा मोटर आयो त्यसपछि यस्तै खाजा दिने चलन बसेको हो ।’
मकै भटमास, गहँु, रोटी, चिया, छनुवाजाँड लगायतका स्थानीय उत्पादनमा आधारित खाजाहरु पूरै विस्थापित भइसकेको छ । तयारी खाद्यवस्तुले गाउँ प्रवेश गरेपछि स्थानीय उत्पादनमा आधारित उपभोग्य वस्तु खान छाडिएको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका इन्द्र नारथुङेले बताए । ‘गाउँमा उत्पादन हुने मकै भटमास लगायतका स्थानीय खाजा पाक्न छाड्यो ।’ नारथुङेले भने–‘गाउँ अब पूरै जङ्कफुडमय भैसक्यो ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ का मेखबहादुर तामाङको भनाई पनि यस्तै छ । ‘पहिले–पहिले अर्म–पर्म खेतलामा मकै भटमास, गहँुको रोटी, चिया, छ्याङ खाइन्थ्यो, अहिले त चाउ–चाउ, चाउमिन, ड्युको रसम चलेको छ ।’ उनले भने–‘यस्तो खाले खाजा मिठो पनि, छिटो पनि ।’
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पञ्चमी बजारमा किराना तथा होटल गरेर बस्ने सुनिता राईले आजभोलि यस्तै जङ्कफुडजन्य खाद्य वस्तुनै बेच्छिन् । जिल्ला सदरमुकाम दिक्तेलदेखि करिब ३५ किलोमिटर दक्षिणमा रहेको उनको पसलमा आयातित तयारी खाद्य वस्तु नै बिक्री हुने गरेको उनले सुनाइन् । ‘सबैले मन पराउँने खाजा यही हो ।’ राई भन्छिन्– ‘अब लोकल खानपानको जमाना गयो ।’
खोटेहाङ गाउ“पालिका ४ रोक्सिङ भन्ज्याङमा होटल चलाएर बस्ने अज्ञान राईको पनि अनभव त्यस्तै छ । उनले बेच्ने धेरैजसो आयातित तयारी खाजा हो । यसका अलवा वियर, आयातित कोल्ड ड्रिङ्कस् खुवै चल्छ । ‘कसै–कसैले अण्डा हालेर जङ्कफुडजन्य तयारी खाजा नै बनाई माग्छन् ।’ उनी भन्छन्–‘नत्र धेरैजसो जङ्कफुडजन्य तयारी खाजा तथा आयातित पेय पदार्थ बढी विक्री हुन्छ ।’
बालबालिकालाई समेत जङ्कफुडजन्य खाजा सजिलो भएको नाराथुङेको भनाई छ । तर यसले बालबालिकाको स्वास्थ्यमा पु¥याउँने असरको बारेमा भने अभिभावकहरुमा ज्ञान नभएको नाराथुङेको तर्क छ । ‘जिल्लाका विद्यालयहरुमा जङ्कफुडजन्य खाजामा प्रतिबन्ध गरेको पाइए पनि अभिभावकहरुमा भने त्यसको बारेमा जानकारी भएको पाइएन ।’ नाराथुङेले थपे–‘यसका लागि शिक्षाको खाँचो छ ।’
अधिकांश साना खाले होटल तथा खुद्रा पसलहरु जङ्कफुडमा आधारित भएको खोटाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उपीनकुमार राईले बताए । गत आर्थिक वर्ष वाणिज्य संघले गरेको सर्वेक्षण अनुसार करिब एक अर्ब ५० करोड जङ्कफुडजन्य वस्तु जिल्ला भित्रिने गरेको राईको भनाई छ । ‘जिल्लामा सञ्चालित साना खुद्रा तथा होटलहरु जङ्कफुडजन्य वस्तुमा आधारित छन् ।’ राईले भने–‘छिटो, सजिलो हुने भएकाले यसमा रुची बढेको देखिन्छ ।’
यसबाहेक पेय पदार्थ एक अर्ब ५० करोड, सूर्तीजन्य ५० करोड, खाद्यान्न एक अर्ब ५० करोड, खानेतेल ९० करोड रूपैयाँ जतिको जिल्ला भित्रिएको वाणिज्य संघको प्रतिवेदनले देखाएको राईले बताए । करिब दश करोड रुपैया“को तरकारी तथा फलफूल आउने गरेको राईले बताए । समग्रमा वस्तु तथा सेवा गरी करिब १४ अर्ब रूपैयाँ जिल्लाबाट बाहिरीने वाणिज्य संघको प्रतिवेदनले देखाएको राईको भनाई छ ।
विभिन्न मुलुकहरुबाट जिल्लामा भित्रिने रेमिट्यान्स् भने करिब आठ अर्ब रूपैयाँको हाराहारी मात्र भएको खोटाङ उद्योग वाणिज्य संघले अध्ययनले देखाएको राईको भनाई छ । यसबाहेक कृषि, पशु, वन, जडिबुटीजन्यबाट करिब बीस करोडको हाराहारीमा जिल्ला भित्रिने उनको भनाई छ ।
जिल्लामा भित्रिने रेमिट्यान्स बाहेक अन्य आम्दानीको श्रोत भरपर्दो नभएकाले अर्थतन्त्र ओह«ालो लागेको नेपाल चेम्बर्स अफ कमर्स खोटाङका अध्यक्ष खुसनारायण सैंजूको तर्क छ । ‘जिल्लाको युवा पंक्ति बेरोजगार छन्, उत्पादन छैन, कसरी धान्न सक्छ त ?’ उनले भने–‘युवालाई रोजगारी दिएर उत्पादन बढाएन भने अर्थतन्त्र झनै खराब भएर जान्छ ।’
युवाको जीवनशैली भड्किलो हुदै गएको र उनीहरुलाई उत्पादनसंग नजोड्दा झनै विकराल अवस्था आउँने राईले बताए । ‘अहिलेको युवाहरुको जीवन शैली हेर्दा एक जनाको करिब ३०–३५ हजारको हाराहारीमा खर्च हुने देखिन्छ ।’ राईले भने–‘त्यसलाई धान्न कि विकास निर्माणमा अनावश्यक हाबी हुन्छन् कि लघुवित्त लगायतका वित्तीय संस्थाहरुसंग ऋण लिनुको विकल्प छैन ।’
स्थानीय तहले युवाहरुलाई उत्पादनसंग जोड्ने खालको योजना ल्याउँनु पर्ने सैंजूको भनाई छ । जिल्लामा भएका युवाहरुमध्ये आधाजसो बेरोजगार रहेको सैंजूको अनुमान छ । उनीहरुलाई मध्यनगर गर्दै युवा लक्षित कार्यक्रम तय गर्नु पर्ने जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए । ‘युवाहरुलाई स्थानीय रुपमा अधिकतम मानवीय श्रम परिचालन गर्ने योजना बनाउँनु पर्छ ।’ राईले भने–‘यसो गर्दा वैदेशिक रोजगारीबाट रोकिनुका साथै उत्पादन बढेपछि आर्थिक समृद्धि हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित