दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आ.व. २०८०।0८१ को वार्षिक नीति तथा कार्यक्रम

  • प्रकाशित मितिः असार ११, २०८०
  • 388 पटक पढिएको
  • संवादताता

यस सम्मानित नगर सभामा उपस्थित आदरणीय नगर उपप्रमुखज्यू,

सम्मानित नगरसभाका सदस्यज्यूहरु,

राष्ट्र सेवक कर्मचारीज्यूहरू,

आमन्त्रित राज्यका चौथो अंग पत्रकार साथीहरु,

सर्वप्रथम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनार्थ संघर्षका हरेक मोर्चाको अग्रपंक्तिमा रहेर बलीदान दिने तमाम् वीर शहीद प्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। त्यसै गरी सुन्दर सपना बोकेर राष्ट्रको उन्नयनका निम्ति घाइते, अङ्गभङ्ग तथा वेपत्ता हुनुभएका तमाम योद्धाहरु तथा योगदान गर्नु हुने महानुभावहरू प्रति शिर झुकाएर सम्मान प्रकट गर्न चाहन्छु ।

सम्मानित नगरसभाका सदस्यज्यूहरु,

अव म हामीले निर्वाचित भएपछि गरेका कामको बारेमा संक्षिप्तमा प्रस्तुत गर्न चाहन्छु ।

खोटाङ जिल्लाको सदरमुकाममा अवस्थित यो नगरपालिका प्राकृतिक सम्पदा र श्रोतका हिसाबले अग्रणी नगरको रुपमा रहेको छ। गत वर्ष निर्वाचित भएपछि हामी नगरको समृद्धि र समुन्नतिका लागि निरन्तर सक्रिय रह्यौं। नगरको जिम्मेवारी लिएर देश र नागरिकको हितका लागि निरन्तर सामाजिक सेवामा क्रियाशील सम्मानित व्यक्तित्वहरूलार्इ नगरको समृद्धिका लागि विभिन्न क्षेत्रमा विज्ञ समूह र सल्लाहकारको रुपमा सम्मान गर्ने जिम्मेवारी पुरा गरेर सबै खोटाङ्गेको साथ र सहयोग लिएर अघि बढ्ने लक्ष्य लिएका छौँ। उहाँहरुको क्षमता र दक्षतालार्इ नगरको उन्नयन र समृद्धिसँग जोड्दै "मेरो नगर-म बनाउँछु", "अहिले नबनाए कहिले बनाउने ? मैले नबनाए कस्ले बनाउने ?" भन्ने दृढता बोकेर सहकार्य गर्दै हामी अघि बढी रहेका छौं। यसै सन्दर्भमा नगर सद्‍भावान दुतको रुपमा "रार्इ इज किङ" का नामले परिचित गायक राजेश पायल रार्इलार्इ घोषणा गरेका छौँ।"नगर हाम्रो प्राण-नगर हाम्रो शान, नगरमै छ जिन्दगी-विकासमा छ ध्यान" भन्ने भावना जागृत गराउँदै भौतिक पूर्वाधार विकास, कुरीति, विकृति- विसंगतिका विरुद्धको अभियान र सामाजिक उत्तरदायित्वको क्षेत्रमा हामी सक्रिय रहेका छौं। नगरभित्रको प्राकृतिक श्रोत र साधनको वृहत्तर सदुपयोग गरी यहाँका बौद्धिक, सामाजिक, साँस्कृतिक, साहित्यीक एवं उद्यमशील जनशक्तिलाई सम्मानित ढंगबाट स्वत:स्फुर्त रुपमा यो नगरको समृद्धिमा सहभागी गराउन सकियो भने मात्रै समाजवादङा छुमा तेम्माखारुतिम मुमा तेम्मासुङ, चारिकू हमा होसुङरिलुङ दिम पोर्मैमा (समाजवादउन्मुख नगरपालिका निर्माणका आधार, पर्यावरण तथा संस्कृतिमैत्री विकास) भन्ने हाम्रो उद्देश्य प्राप्तिका लागि हामी अगाडि बढिरहेका छौं।

वर्षौदेखि अलपत्र रहेको दिक्तेल बजार ढलान, हुर्लुङ-जाल्पा सडक, अस्पताल चोक-लफ्याङ साप्सु, महुरे-फोक्सिङटार, चखेवा-रत्नपार्क लगायतका संरचना निर्माण केही काम सम्पन्न भईसकेका छन् र केही हुँदै छन् तर निर्माण व्यवसायीको गैह्र जिम्मेवारीपनका कारण केहि कामहरु धिमागतिमा भर्इ रहेका छन भने केही अझै अलपत्र नै रहेका छन्। तर, हामी नागरिकको शक्ति लिएर निर्माण व्यवसायी र सम्बन्धित निकायहरूमा विभिन्न प्रकारका दबाबहरु निरन्तर गरिरहेका छौँ।

सम्मानित नगरसभाका सदस्यज्यूहरु,

विगतको स्थानीय सरकारले बहुवर्षीय ठेक्का सम्झौता गरी करिव रु. 6 करोड 70 लाखको दायित्व सिर्जना गरेको हुँदा नगर विकास बजेटको ठूलो हिस्सा उक्त अनिवार्य दायित्वका लागि छुट्याउनु पर्ने बाध्यतात्मक अवस्थामा छौ हामी। तथापि हामीले आफ्नो दायित्व र कर्तव्य सम्झिएर साझेदारीमा फर्छ्यौट गर्नु पर्ने रकम विनियोजन गरेको कुरा सम्मानित नगर सभाका सदस्यज्यूहरुलार्इ जानकारी गराउन चाहन्छु। नगरको सिमित स्रोत र साधनका बीच सिर्जित उक्त दायित्व रकम यो दुर्इ वर्षमा हामीले भुक्तानी गरी नागरिकको असिमित समस्यालाई शिरोधार्य गर्दै "उज्यालो नगर- समृद्ध नगर" बनाउने अभियानलार्इ अघि सारेका छौँ ।

आँखा पोखरी, पेन टावर, रुरुताल, रुपाकोट भ्यू टावर लगायत संरचना निर्माणमा राज्यको लगानी गर्दा तत्कालको आवश्यकता पहिचान भएन कि भन्ने हाम्रो प्रश्न हो। यी र यस्ता संरचनामा नगरको थप लगानी गर्दा बालुवामा पानी हाले जस्तो हुन्छ भने यथास्थितिमा छोड्दा राज्यको करोडौं रुपैंया लगानी भएको छ। अत: यी संरचनाका सन्दर्भमा हामी अन्यमनस्कको अवस्थामा छौं। जे जति काम गर्नु भयो त्यसका लागि उहाँहरू प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौं।

 

सम्मानित नगरसभाका सदस्यज्यूहरु

हामी निर्वाचित भएर आएपछि सदरमुकामबाट तराई जोड्ने आहाले-रेग्मीटार सडक र दिक्तेल-पाथेका-खार्मी सडकलाई नगर गौरवको आयोजनाको रूपमा तथा दिक्तेल-डल्लेदोभान-बुईपा-बिजुले सडक, अल्छेढुङ्गा-नेर्पा-दुम्ली-लामदुवाली, अस्पाताल चौक-मियाखोला-दुम्ली, हुर्लुङ-खार्मी लगायत सडकहरूलार्इ उच्च प्राथमिकतामा राखी काम अघि बढाएका छौं।

हाम्रो निरन्तरको सक्रियता माननीय मन्त्रीज्यूहरु र सांसदज्यूहरू, राजनीतिक दलका नेता, राष्ट्र सेवक कर्मचारी, समाजसेवी आदिको पहलकदमीमा यस नगरपालिकामा महत्वपूर्ण र दूरगामी प्रभाव पर्ने योजनाहरु छनौट भर्इ संघीय तथा प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ। यस प्रति म सम्पूर्ण नगरबासीको तर्फवाट पहल गर्नुहुने  तत् तत् व्यक्तित्वलार्इ हार्दिक धन्यवाद दिन चाहन्छु ।

हाम्रा पिता–पुर्खाले श्रम गरेर सामाजिक उत्तरदायीत्व पूरा गर्नुहुन्थ्यो तर पछिल्लो समय सानो+–सानो कामका लागि सरकारको मुख ताक्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै श्रमदान अभियान  सुचारु गरेका छौँ। दिक्तेल – पाथेका – खार्मी,    दिक्तेलको त्रिवेणी चोक लगायत विभिन्न ठाउँमा श्रमदान गर्न जेष्ठ नागरिक,  महिला, युवा आदिको सकृय सहभागिता रहेको थियो। त्यसका लागि हार्दिक आभार प्रकट गर्दछु। साथै, आगामी दिनमा श्रमदानलाई अभियानकै रूपमा अझ परिस्कृत गर्दै निरन्तरता दिने घोषणा समेत गर्दछौं। यसका लागि सम्पूर्ण नगरवासीहरूबाट पूर्ण सहयोगको अपेक्षा समेत गरेका छौं।

सम्मानित नगर सभाका सदस्यज्यूहरु,

"शासक होइन सेवक बनौं, स्ववलम्बी र पारदर्शी भई समृद्ध बनौं" भन्ने हाम्रो मूल उद्देश्यलाई आत्मसात गर्दै नगरमा हुने फजुल खर्चलाई न्यूनिकरण गर्ने काम निरन्तर गरिरहेका छौँ।

  • करिब ७० लाख खर्च हुने फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्दै नीजि क्षेत्रलाई २५ लाख अनुदानमा दिएर फजुल खर्च हुने कामलाई रोक्ने प्रयास गरिएको छ।
  • आफ्नो गाउँमा उत्पादन भएको सामाग्रीमा अपनत्व हुन्छ भन्ने भाव जगाउँदै बाँसबाट निर्मित फर्निचरको प्रयोग गर्ने काम हामी आंफैले सुरुवात गरेका छौँ।
  • नागरिकको स्वास्थ्यलाई मध्यनजर राख्दै वीपी कोईराला आँखा अध्ययन केन्द्र र नेपाल नेत्रज्योति संघ खोटाङसंगको सहकार्यमा ७८ जनाको आँखा शल्यकृया, ११४५ जनाको आँखाको निशुल्क जाँच गरी ४०० जनालाई निःशुल्क चस्मा र औषधी वितरण गरिएको थियो।साथै राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक सहयोगमा आयोजित मिर्गौला शिविरमा ‍११70 जनाको निःशुल्क मिर्गौला परीक्षण गरिएको थियो।
  • स्वस्थ्यलाई सर्वसुलभ बनाउने प्रयास गरिएको छ।
  • बाल विकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीहरूको सेवा सुविधा संघीय सरकारले दिएको रु. 8,000 मा नगरको तर्फबाट रु. 7,000 थप गरी रु. 15,000।- पुर्‍याईएको छ भने विद्यालय लेखा कर्मचारीहरूको संघीय सरकारले दिएको रु. 13,500 मा नगरको तर्फबाट रु. 6,500 थप गरी रु. 20000 पुर्‍याईएको छ।
  • सरकारी विद्यालयमा निरन्तर अनुगमनको थालनी गरिएको छ भने औचित्य र आवश्यकताका आधारमा काज सरुवाको काम अघि बढाईएको छ ।
  • निर्वाचन कार्यालयदेखी लोकसेवा आयोगको कार्यालय छेउसम्म 132 मिटर बाटो ढलान, अस्पताल चोकमा ह्युम पाईप, आचार्यगाउँ बसपार्क जाने बाटो ठाउँ ठाउँमा ढलान तथा स्तरोन्नती गर्दै सडक संरक्षणको कामलाई तदरुकताका साथ अघी बढाई रहेका छौँ ।
  • पाथेका–खार्मी–दोर्पा लगायतका ठाउँमा बार्है महिना गाडीबाट आवात–जावात गर्ने वातावरण निर्माण गर्नका लागि छोटो समयमा 45 लाख बजेट व्यवस्थापन गरिएको थियो।
  • नागरिकलाई काम गर्न सहज होस भनेर कृषि, भेटेनरी र ईञ्जिनियरिङ सेवाका प्राविधिकलाई वडा–वडामा खटाईएको छ ।
  • स्वास्थ्य शिविर, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई वडा–वडामा कार्ड वितरण आदि घुम्ती शिविरका रूपमा काम सम्पन्न गरिएको छ ।
  • कन्ये च्याउको वीउ उत्पादन कार्य सुरु गरिएको छ ।
  • कृषि र पशु वीमामा संघीय सरकारले दिँदै आएको वीमाको प्रिमियमको अनुदानमा थप गरी ९० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ ।
  • जिल्लामै एकमात्र कृत्रिम गर्भाधान सेवा संचालन गरिरहेका छौँ ।
  • युवा स्वरोजगार, सामुहिक प्राङ्गारिक खेती, सामुहिक वेमौसमी तरकारी खेती, मकैको वीउ उत्पादन, व्यवसायिक आलु खेती विस्तार, सुन्तला जात पकेट कार्यक्रम संचालन गरिएको छ ।
  • ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को सहकार्यमा दिक्तेल हाटडाँडामा करिव रु. 2 करोड लागतमा सुविधासम्पन्न कृषि तथा पशुपंछी सेवा केन्द्र निर्माणको काम सुरू हुने चरणमा रहेको छ।
  • नगरलाई आर्थिक समृद्धिको दिसातिर डोर्याउन तेल, कफी, प्याज, फलफूल जुसको नगरभित्र हुने खपतको अवस्थाको बारेमा अध्ययन भइसकेको छ।
  • विभिन्न निकायहरूबाट विगतमा ठेक्का भई नगरभित्रका विभिन्न स्थानहरूमा अलपत्र पारिएका पूर्वाधार निर्माणका कार्यहरू यथासक्य चाँडो सम्पन्न गर्न निर्माण व्यवसायीहरू तथा सम्बन्धित निकायहरूलाई पटक-पटक दबाब दिने काम निरन्तर भईरहेको छ।

 

सम्मान्नित नगर सभाका सदस्यज्यूहरुः

नगरलाई गतिशील बनाउन प्राज्ञ-विज्ञ समूह (थिंक ट्याङ्क) स्थापना गरेका छौं। "नागरिक सँग - नगर प्रमुख" कार्यक्रम, "उपप्रमुखसँग महिला उत्थान कार्यक्रम", नागरिकलाई सहजढंगबाट सेवा प्रवाह गर्न 24 घण्टे सहायता कक्ष (Help Desk) स्थापना गर्ने, विकास निर्माणलाई तिब्रता दिन र आवश्यकता पहिचान गर्नका लागि "योजना विकास बैंक" स्थापना गर्ने लक्ष्य लिएका छौं ।

नगर पालिकाको मासिक प्रगति विवरण र कार्य योजना सार्वजनिक गर्न "मासिक संवाद-पत्रकार भेटघाट" लाई विगतमा निरन्तरता दिन नसकेता पनि आगामी दिनमा हामी स्वयं उपस्थित भई वा अन्य प्रकारले मासिक विवरण सार्वजनिक गर्ने छौं। नगरपालिकाको यो र यस्तै यावत विषय वस्तुलाई सम्बोधन गर्नका लागि संघीय संसद, पूर्व सांसद, प्रदेश सांसद, पूर्व प्रदेश सांसद, समन्वय प्रमुख, पूर्व समन्वय तथा जिविस सभापति, पूर्व नगर प्रमुख तथा उपप्रमुख लगायतका जनप्रातिनिधिसँग निरन्तर संवाद, छलफल र परामर्श लिएर अघि बढ्ने छौं ।

उपस्थित नगरसभाका सदस्यज्यूहरु,

अब म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक वर्ष २०८०।०८१ को प्रमुख प्राथमिकताहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

आर्थिक बर्ष २०८०।08 का प्रमुख प्राथमिकताहरुः

  • कृषि र पर्यटनलार्इ मूख्य आर्थिक गतिविधि मानेर विकास ।
  • शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने आयोजना तथा कार्यक्रमहरू।
  • "मेरो नगर - म बनाउँछु" भन्ने नीतिलाई कार्यान्वयन गर्न रोजगारी वृद्धि गर्ने, स्थानीय कृषि उत्पादनमा वृद्धि र वजारिकिरण गरी स्वाबलम्बी र आत्मनिर्भर गाउँ बनाउने आयोजना तथा कार्यक्रमहरू संचालन गरिनेछ।
  • स्थानीय गौरवका आयोजनाहरू।
  • आर्थिक पारदर्शिता सहित "सुशासन युक्त- भ्रष्टाचार मुक्त" नीतिसंग सम्बन्धित कार्यक्रमहरू।
  • पर्यावरण प्रवर्द्धन, विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमहरू।
  • महिला, शिल्पी समुदाय, फरक क्षमता भएका व्यक्तिहरू, आदिवासी जनजाती, एकल महिला, विपन्न वर्ग लगायत लक्षित आयोजना तथा कार्यक्रमहरू।
  • पन्ध्रौं योजना, दिगो विकास लक्ष्य, आवधिक नगर विकास योजनाले निर्देशन गरेका कार्यक्रमहरू।

 

नगरको आयश्रोत

  • नगरको आयश्रोत अभिवृद्धिको निम्ति प्राकृतिक श्रोत व्यवस्थापनमा जोड दिइनेछ।
  • नगरले सेवा दिएको क्षेत्रबाट आय आर्जन गरिने छ ।
  • कृषि, वन, पर्यटन खानीजन्य व्यवसायको व्यापक सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गरेर नगरको आयश्रोत वृद्धि गरिनेछ ।
  • घर वहाल कर, सम्पत्ति कर, व्यवसाय कर, कृषि उपज निकासी कर, पर्यटन सेवा शुल्क, नदीजन्य, वन जन्य, खानीजन्य वस्तु निकासी कर आदी श्रोत नगरको मुख्य आय श्रोत हुनेछन् ।
  • व्यवसाय कर र घर बहाल कर निजि क्षेत्र वा वडा कार्यालय मार्फत उठाउने विषेश नीति लिइनेछ।
  • होटल एशोसिएशनको समन्वयमा नगरको आयश्रोत वृद्धि गर्न विषेश नीति लिइनेछ ।

 

अव म आ.व. २०80।81 का विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु: 

सर्वप्रथम, म आर्थिक विकास विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न गईरहेको छु।

  • आर्थिक विकासः

कृषि र पशुपन्छीः

कृषिप्रधान यस नगरपालिकाको आर्थिक विकास र रोजगारीको पाटोमा कृषि क्षेत्रको प्रमुख भुमिका रहेको छ। "जग्गा बाँझो नराखौं-उत्पादनमा लगाऔं" भन्ने नारा सहित आगामी ४ वर्षभित्र नगरलाई कृषि उपजमा आत्मनिर्भर बनाई नगर निर्यात गर्न सक्ने योजनाबद्ध प्रयास अगाडी बढाइनेछ र कृषि क्षेत्रको विकासलाई विशेष महत्वका साथ अगाडि बढाइनेछ। जसको लागि यस आर्थिक बर्षमा निम्न कार्यक्रमहरु प्रस्तुत गरिएको छ।

  • कृषि कर्जामा सहुलियत: नगरपालिकामा रहेका विभिन्न बैंकसंग सहकार्य गरी प्रस्तावमा आधारित युवा लक्षित कृषि कार्यक्रम संचालनका लागि सहुलियतपूर्ण कृषि कर्जाको व्यवस्था गरिनेछ।
  • कृषि तथा पशुपालक कृषकहरूलाई बीमा तथा ऋण प्रवाह गर्न आवश्यक अनुदानको व्यवस्था तथा वित्तीय संस्थासँग आवश्यक समन्वय गरिनेछ । हाल केही वडामा सुरुवात भएको किसान सूचीकरण कार्यलाई अन्य वडाहरूमा विस्तार गरी डिजिटल किसान परिचयपत्र वितरण गर्नुका साथै कृषि तथ्याङ्क संकलन कार्यक्रम कार्यान्वयनमा ल्याईनेछ।
  • माटो परीक्षण सहित जग्गाको वर्गीकरण गरी भौगोलिक आधारमा विभिन्न कृषि उपज क्षेत्र घोषणा गर्दै कृषि भूमि व्यवस्थापन गर्ने नीति अवलम्बन गरिनेछ।
  • कृषिमा दिइदै आएको अनुदानको उच्चतम नतिजा हासिलका लागि नगरपालिका बाट उपलब्ध गराउदै आएका अनुदानका कार्यक्रमहरु उत्पादनमा आधारित बनार्इनेछ ।
  • भौगोलिक विविधताले सम्पन्न यस नगरपालिकामा उत्पादन हुने फलफूल, अन्न र तरकारी उच्च कोटिको हुने तथ्यलार्इ प्रचार प्रसारमा ल्यार्इ उचित मूल्यको बजार खोजी गरिनेछ। साथै सुविधासम्पन्न कृषि बजार निर्माण कार्य सुरुवात गरिनेछ ।
  • यस नगरपालिका स्थित कृषिसंग सम्बन्धित संघ र प्रदेशका कार्यलयहरुसंग सहकार्य गरी कृषि तथा पशुपालनका क्षेत्रमा नतिजामुखी कार्यहरु संचलन गरिनेछ।
  • ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (REED) र पहाडि क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (NAFA) परियोजना संचालनमा ल्याइनेछ ।
  • कृषकले उत्पादन गरेका निश्चित कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण गरी बजार सूनिश्चितताका लागि विशेष पहल गरिनेछ ।
  • बाली लगाउनु पूर्व कृषक समुहहरुलार्इ विज्ञको राय सुझाव अनुसार बाली लगाउने व्यवस्था गरिनेछ ।
  • कृषकले उत्पादन गरेका विभिन्न फलफूलको प्रशोधन गरी मूल्य अभिवृद्धि गराउने उद्देश्यले फलफूल प्रशोधन केन्द्रको स्थापना गरिनेछ।
  • जङ्गली पशुहरुका कारण बाँझो रहेको जमिनमा वैकल्पिक बाली खेतिका लागि प्रोत्साहन गरिनेछ।
  • रैथाने वालि प्रवर्द्धन कार्यक्रम संचालन गरिनेछ।
  • तेलहन तथा दलहन बाली उत्पादनसंगै मौरी प्रवर्द्धन कार्यक्रममा विशेष जोड दिंदै उत्पादनमा आधारित अनुदानको व्यवस्था मिलाईनेछ।
  • कृषकहरूलाई सहजरूपमा खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदानको व्यवस्था गरिनेछ र वीउ उत्पादन कार्यलाई प्राथमिकता दिइनेछ।
  • स्थानीय स्तरमा उपलब्ध जैविक चिजहरूलाई उपयोग गरेर खेती गरिनेछ । कृषिजन्य वस्तुहरूमा प्रयोग हुँदै आएको रसायनिक मल एवम् विषादीलाई निरुत्साहित गर्दै अर्गानिक कृषि उत्पादन प्रवर्द्धनका लागि दिगो कृषि प्रणालीलाई अघि बढाइने नीति लिइनेछ।
  • सोल्मामा रहेको दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्रलाई निजी वा सहकारीसंगको सहकार्यमा व्यवस्थित ढंगले संचालन गरिनेछ ।
  • बुइपा चिस्यान केन्द्र वडा कार्यालयको सहकार्यमा संचालनमा ल्याइनेछ ।
  • मसलाजन्य बाली, कफी, किवी लगायतका वालीमा नगरलाई आत्मनिर्भर बनाउने प्रयत्न गरिनेछ।
  • प्रत्येक वडामा सम्भाव्यताका आधारमा फलफुल खेतीलाई विस्तार गरिनेछ। नगरको मध्य पहाडी लोकमार्ग आसपासका साथै बाह्रै महिना नियमित यातायात सञ्चालन हुने क्षेत्रका किसानहरूलाई व्यवसायिक बेमौसमी तरकारी खेतीका लागि विशेष प्रोत्साहन गरिनेछ।
  • समूहगत तथा सहकारी खेती प्रणालीलाई प्रोत्साहन गर्दै पर्म तथा श्रम संस्कृतिलाई पनि प्रोत्साहन गरिनेछ ।
  • बाँझो जमिन उपयोग गर्न बाझोँ जमिनमा फलफूल खेति कार्यक्रम संचालन गरिनेछ ।
  • नगर भित्र आवश्यक पर्ने फूल लगायत आलङ्कारिक बिरुवा उपलब्धताका लागि पूष्प व्यवसायलार्इ जोड दिइनेछ ।
  • मासुमा आत्मनिर्भर बनाउन बंगुर पालन, कुखुरा पालन, बाख्रा पालन व्यवसायलाई थप विस्तार गरिनेछ।
  • पशु नश्ल सुधार कार्यक्रम संचालन गरी उत्पादन तथा उत्पादकत्व वृद्धिमा विशेष जोड दिइनेछ ।
  • खोरेत, भ्यागुते लगायतका रोग नियन्त्रण गर्न पशु खोप कार्यक्रम संचालन गरिनेछ ।
  • पशुपालक कृषकहरुलाई उन्नत जातको घाँस खेतिमा व्यापक प्रोत्साहन गरिनेछ ।
  • कृषि सहकारी, समूह वा कृषिसंग सम्बन्धित संस्था मार्फत दुग्ध डेरी तथा दूध चिस्यान केन्द्र संचालन गर्नका लागि संघ र प्रदेश सरकारसंग आवश्यक समन्वय गरिनेछ।
  • कृषि तथा पशु सेवा केन्द्रमा किसान होइन, किसानकोमा कृषि तथा पशु सेवा प्राविधिक पुग्ने ब्यबस्था मिलाइनेछ।
  • हरेक घरहरु सफा सुग्घर फूलमय बनाउन प्रोत्साहन गर्ने कार्यक्रम तय गरिने छ। यस्ता कार्यले ग्रामिण कृषि पर्यटनलाई टेवा पुर्‍याउने विश्वास लिईएको छ।

सिंचाईः

  • साना सिंचाई परियोजनासंगको साझेदारीमा केही नयाँ मझौला तथा साना सिँचाई योजनाहरू निर्माणको सुरुवात गरिनेछ। विगतबाट सुरु भएका क्रमागत योजनाहरूलाई सम्पन्न गरिनेछ।
  • जलस्रोत उपलब्ध भएको ठाउँको सम्भाव्यता अध्ययन गरी आवश्यक ठाउँमा सिचाइँ सुविधा उपलब्ध गराउन पहल गरिनेछ ।
  • खेतियोग्य जमिनमा कुलो, भल पानि, छिर्के सिँचाईको व्यवस्था गर्न कार्यक्रम संचालन गरिनेछ। साना सिंचाईमा आधुनिक स्प्रिङ्कल, कुलो तथा भलपानीलाई प्राथमिकता दिईने छ।
  • तरकारी उत्पादनका लागि सम्भावना बोकेका सुख्खा ठाउँहरुलाई लक्षित गर्दै नमुना सिंचाई प्लास्टिक पोखरी निर्माणका लागि पहल गरिनेछ।

उद्योग बाणिज्य, घरेलु तथा साना उद्योगः

  • नगरपालिका क्षेत्रमा उपलब्ध प्राकृतिक स्रोत र कृषि उपजबाट प्राप्त कच्चा पदार्थ (बाँस, लोक्ता, अल्लो, गैरकाष्ठ वनपैदावार) को सदुपयोग हुने गरी साना तथा मझौला उद्योग स्थापना गर्न पहल गरिनेछ।
  • जिल्लामा आयात/निर्यात सम्वन्धी सहि तथ्याङ्क उपलव्ध हुन नसकेको तथ्यलाई ध्यानमा राखी जिल्लाको जयरामघाट र फोक्सीन्टार लगायतका नाकाहरुमा सम्वन्धित पालिका, प्रहरी र खोटाङ उद्योग वाणिज्य सँघको सहकार्यमा आयात/निर्यातको तथ्याङक संकलन केन्द्र स्थापना गर्न पहल गरिनेछ।
  • सञ्चालनमा रहेका घरेलु उद्योग, खाँडी, ढाका कपडा, राडीपाखी लगायतलाई विकास तथा स्तरोन्नतिमा सहयोग गरिनेछ ।
  • महिला उद्यमीहरूद्वारा उत्पादन गरिने विभिन्न प्रकारका अचारको बजार प्रवर्द्धनका लागि जिल्लास्थित नेपाल प्रहरी/ससस्त्र प्रहरी वल र सेना मार्फत खपत हुने व्यवस्था मिलाउन विशेष पहल गरिनेछ।
  • नगरमा औद्योगिक विकासका लागि निजी क्षेत्र र संघीय तथा प्रदेश सरकारसंगको सहकार्यमा एक उद्योग ग्रामको विकास गर्न पहल गरिनेछ ।
  • प्रतिष्पर्धामा छनौट भएका व्यवसाय विकास सेवा प्रदायक संस्थाहरु मार्फत लघु उद्यम विकास मोडेलमा नयाँ लघु उद्यमी सिर्जना गरिनेछ।
  • घरेलु तथा साना उद्योग कार्यालयसंगको सहकार्यमा ढाका तथा बाँसको तालिम संचालन गरिनेछ।

सहकारीः

  • सहकारीलाइ रोजगारी प्रवर्द्धन र दिगो जीवनयापनका आधारका रूपमा विस्तार गरिनेछ ।
  • कृषि तथा गैर कृषि सहकारी संस्थाहरुको प्रवर्द्धन गरी उत्पादन बढाइनेछ ।
  • स्थानीय उत्पादन तथा अत्यावश्यक वस्तुहरुको अपूर्ती तथा बजारीकरणमा सहकारी संस्थाहरुलाई क्रियाशील तुल्याइनेछ।
  • नगरमा उद्योग व्यवसायको प्रवर्द्धनमा सहकारी संस्थाहरुबाट सहज एवं सहुलियतपूर्ण कर्जा प्रवाहको व्यवस्था गरिनेछ।
  • सानो पूँजी भएका प्रकृति मिल्ने सहकारी संस्थाहरुलाई एकाआपसमा एकीकरण हुन प्रेरित गरिनेछ।
  • सहकारी शाखालाई व्यवस्थित गर्दै सहकारीहरूको नियमन, अनुगमन, सूचना संकलन तथा सम्प्रेषणमा ठोस कार्यहरू गरिनेछ।
  • नगर भित्रका सबै सहकारी संस्थाहरूलाई COPOMIS मा आबद्ध गरिनेछ।

 

पर्यटन र अन्य सेवाः   

  • यस नगरपालिका भित्र रहेका महत्वपूर्ण धार्मिक,साँस्कृतिक र पर्यटकीय स्थलहरुको प्रचार प्रसार तथा प्रवर्द्धनका लागि प्रत्यक्ष चित्रकला निर्माण तथा राष्ट्रिय स्तरको प्रदर्शनी कार्यक्रम संचालन गरिनेछ।
  • हलेसी आएका तीर्थयात्रीलाई दिक्तेल स्थित धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्न आउने वातावरण सिर्जना गरिनेछ।
  • पर्यटकको आतिथ्यताका लागि खोटाङ होटल ब्यवसायी संघ सँगको सहकार्यमा दिक्तेल बजारका होटलहरुको सुविधा अनुसारको श्रेणी विभाजन गरी थप सुविधा सम्पन्न बनाउन आवश्यक पहल गरिनेछ।
  • हाटडाँडा, देविस्थान, मझुवागढी, सेतेटारछेउ, नाहिमा हुँदै सिद्धेश्वर गुफा सम्मको व्यवस्थित पैदलमार्ग (हरियाली फूलमार्ग) निर्माण गरिनेछ र कालिका भगवती तथा मझुवागढी संरक्षण र प्रवर्द्धनका लागि गुरुयोजना तयार गरी यसलाई फूलै-फूलको पहाडको रुपमा विकसित गरिनेछ।
  • बुईपामा प्रदेश सरकारसंगको सहकार्यमा निर्माण हुने विश्वकै सबैभन्दा अग्लो यलम्बरको मूर्ति निर्माण कार्यलाई निरन्तरता दिईनेछ।
  • संघीय सरकारसंगको साझेदारीमा नुनथलाको खाम्लामा हँतोलुङ सांस्कृतिक पार्क निर्माण कार्य निरन्तरता दिइनेछ।
  • प्रदेश सरकारको साझेदारीमा नेर्पामा व्यवस्थित साकेला भिलेज पार्क निर्माण कार्यलार्इ निरन्तरता दिर्इनेछ।
  • नगरपालिकाको हुर्लुङबाट प्रचुर पर्यटकीय सम्भावना रहेको रुपाकोट, मैयुँ, मेरुङ हुँदै मुन्दुम ट्रेलको विकासका लागि पहल गरिनेछ ।
  • कालिका भगवती मन्दिर परिसर आसपासमा शिव-पार्वतीको मुर्ती स्थापना गर्न दाताहरूसंग आवश्यक पहल गरिनेछ।
  • पर्यटन पत्रकारितालाई प्रोत्साहन गरिनेछ।

 

रोजगार प्रबर्द्धनः

  • रोजगारसँग सम्बन्धित तथ्यांक, सूचना संकलन, समन्वय, रोजगार सिर्जना तथा माग बमोजिमका रोजगारका अवसरहरुमा पदस्थापनका क्रियाकलापहरु सञ्चालन गरिनेछ।
  • यस नगरपालिकाको रोजगार सेवा केन्द्रमा सूचिकृत भएका विपन्न बेरोजगारहरुलाई यूवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाहरु तथा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाहरु सञ्चालन गरी न्यूनतम रोजगारीको प्रत्याभूती गराइनेछ।
  • पालिका स्तरिय नियमित विकास निर्माणका योजनाहरुमा आवश्यक श्रमिकहरुको लागि रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगार व्यक्तिहरुलाई प्राथमिकता दिइनेछ।
  • दक्ष तथा सक्षम जनशक्तिको विकास गरी आन्तरिक रोजगारी प्रवर्द्धनगर्न श्रम बजारमा माग बमोजिमका सीपमूलक तालिमको पहिचान गरी बेरोजगार ब्यक्तिलाई तालिम प्रदायक संस्थासंग समन्वय गरी तालिम दिइनेछ।
  • संघ तथा प्रदेशले ल्याएको रोजगारमूलक कार्यक्रममा अपनत्व कायम गर्दै रोजगारीका क्षेत्र विस्तार गरिनेछ।
  • आन्तरिक रोजगारी सिर्जना गर्न सरोकारवाला निकाय र निजी, सहकारी तथा गैर सहकारी क्षेत्रसँग समन्वय र सहकार्यमा जोड दिइनेछ।
  • बैदेशिक रोजगारी बाट फिर्ता आएका श्रमिकहरुको सिप पहिचान र प्रमाणिकरण गरी स्वरोजगारमूलक कार्यमा संलग्न गराउन पहल गरिनेछ साथै स्वरोजगारमूलक कार्यमा संलग्न स्थानीय यूवा उद्यमीहरुलाई प्रोत्साहित गरिनेछ।
  • रोजगार सेवा केन्द्रलाई थप सुदृढिकरण गरी नगरपालिकाको माग र आवश्यकता अनुसार एकीकृत श्रम तथा रोजगार सेवा प्रदान गरिनेछ।
  • वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न आवश्यक सहजीकरण तथा परामर्श सेवा प्रदान गर्नुका साथै वैदेशिक रोजगारबाट फर्केका श्रमिकको सामाजिक र आर्थिक पुन: एकीकरण सम्बन्धी क्रियाकलापहरु सञ्चालन गरिनेछ।
  • वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिका लागि व्यक्तिगत श्रम स्वीकृति एवं पुन: श्रम स्वीकृतिको अनलाईन आवेदन प्रक्रियामा सहजीकरण गरिनुको साथै वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने आर्थिक सहायताको लागि सहजीकरण गरिनेछ।
  • रोजगार रणनीति तर्जुमा गरी अद्यावधिक एवं कार्यान्वयन गरिनेछ।
  • स्थानीय तहमा पहुँच भएका श्रम र रोजगार सम्बन्धी सूचना प्रणाली सञ्चालन र विवरण अद्यावधिक गरिनेछ।
  • नगरपालिकाभित्र प्राप्त विप्रेषणलाई आयमूलक क्षेत्रमा लगानी गर्नका लागि वित्तीय साक्षरता कक्षा संचालन गर्दै उद्यमशीलता र लगानी प्रवर्द्धन गरिनेछ ।
  • बैदेशिक रोजगारीका क्रममा हुने ठगीलाई कम गर्नका लागि जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिनेछ। गन्तव्य मुलुकमा समस्यामा परेकाहरुलाई सम्बोधन गर्नका लागि प्रभावकारी संयन्त्रको विकास गरिनेछ ।
  • बैदेशिक रोजगारीका कारण हुने सामाजिक लागत घटाउन मनोसामाजिक परामर्श ब्यवस्था गरिनेछ।
  • बैदेशिक रोजगारीका कारण मृत्यू भएका, घाईते बेपता पारिएका परिवारका सदस्यहरुलाई राहत उपलब्ध गराउन सहजीकरणका कार्यक्रमहरु संचालन गर्दै लगिनेछ ।
  • उद्यम गरिरहेका तथा गर्ने योजना बनाईरहेका उद्यमीहरूलाई व्यवसायिक योजना सम्बन्धी तालिम गराईनेछ।

 

आदरणीय सदस्यज्यूहरु,

अव म सामाजिक विकास विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु।

  • सामाजिक विकासः-

शिक्षा:

  • सार्वजनिक शिक्षालार्इ गुणस्तरयुक्त र आकर्षक बनाइनेछ। विद्यालयहरुलार्इ एक आपसमा एकीकरण गरेर श्रोत र साधनको उच्चतम प्रयोग गरिनेछ।
  • एक बिद्यालय एक बिषेशताको आधारमा नगरमा धेरै प्रकारका शिक्षण अवसर सृजना गरिनेछ।
  • अति न्यून पारिश्रमिक सहित पठनपाठनमा संलग्न बालविकास केन्द्रका सहयोगी कार्यकर्ता, विद्यालय कर्मचारीहरुलाई नेपाल सरकारले तोके बमोजिम न्यूनतम पारिश्रमिकको व्यवस्था गरिएको छ।
  • बैँक तथा गैरसरकारी संस्थाहरुको सहकार्यमा विद्यालय स्तरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने व्यवस्था गरिनेछ ।
  • सबै शिक्षक तथा विद्यार्थीहरुलाई श्रमसंग जोड्दै लगिने छ। हप्तामा एक दिन पाठ्यपुस्तक भन्दा वाहिरको जिवन उपयोगि शिक्षा सहितको अतिरिक्त क्रियाकलाप संचालनका लागि विद्यालय लार्इ अनिवार्य गरिनेछ।
  • विश्वभर फैलिएका पूर्व विद्यार्थहरुको भावना विद्यालयसंग जोड्ने र विद्यालयको विकासमा टेवा पुर्याउन नगरभित्रका सबै विद्यालयमा पूर्व विद्यार्थी मिलन कार्यक्रम विद्यालयले अनिवार्य संचालन गर्नुपर्ने नीति लिइएको छ ।
  • नगरपालिका भित्र सामुदायिक आवासीय विद्यालय संचालन गरी कानून बमोजिमका प्रावधान अनुसार निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गरिनेछ। विद्यालय पढ्ने उमेरका कुनै पनि बालबालिकाहरु कुनै पनि कारणले विद्यालय बाहिर नरहने सुनिश्चितता गरिने छ ।
  • दृष्टिविहीन, सुस्त श्रवण, सुस्तमनस्थिति लगायत फरक क्षमता भएका बच्चाको विशेष शिक्षा दिने विद्यालयको कार्यक्रमलाई निरन्तरता दिईनेछ।
  • नगरका सम्पूर्ण विद्यालयहरुमा भवन, फर्निचर, शौचालय, पिउने पानी, विद्युत, खेल मैदान, बगैँचा जस्ता पूर्वाधारहरुले पूर्ण बनाउन पहल गरिनेछ। यसका लागि सरकार तथा अन्य संस्थाहरुको समेत सहयोग परिचालन गरिनेछ ।
  • स्तरीय सेनिटरी प्याड वितरण गरिनेछ।
  • सामुदायिक विद्यालयहरुमा समुदायको अगुवाई गराउँदै विद्यालय व्यवस्थापन समितिहरुलाई सशक्त बनाइनेछ।
  • अति विपन्न जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिनेछ । बिपन्न जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा हाँसिल गर्न आवश्यक सहयोग गरिनेछ ।
  • विद्यालयको परीक्षा व्यवस्थालाई परिमार्जन गरी गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नगरपालिकाबाट लिइदै आएको कक्षा ८ को परिक्षालाई लिखितका साथै प्रयोगात्मक, अझ व्यवस्थित र उद्देश्यमूलक बनाइनेछ ।
  • समयानुकुल सूचना प्रविधि सम्बन्धी सीप लगायत प्रभावकारी शिक्षण क्रियाकलाप व्यवस्थापनको लागि विद्यालयका सरोकारवाला सबै पक्षहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिमको व्यवस्था गरिनेछ ।
  • विद्यालयमा कुनै कारणले शिक्षक अनुपस्थित रहेमा बैकल्पिक शिक्षकको व्यबस्था गर्ने नीति लिईनेछ।
  • विद्यालयमा जाउँ-जाउँ र बसौं-बसौं लाग्ने सुन्दर र हराभरा विद्यालय वातावरण निर्माणको लागि विद्यालयलाई प्रोत्साहित गरिनेछ।
  • शिक्षण सिकाई क्रियाकलाप व्यवहारिक, गुणस्तरीय तथा प्रभावकारी बनाउन सरोकारवाला सबैको सल्लाह लिने ब्यबस्था गरिनेछ।
  • शिक्षक छनौट प्रक्रियालाई व्यवस्थित वैज्ञानिक र पारदर्शि बनाउन आवश्यक कार्यविधिहरु निर्माण गरिनेछ।
  • सबै माविमा सूचना प्रविधि सहितको शिक्षाको व्यवस्थापनको लागि आवश्यक कार्य अगाडि बढाईनेछ।
  • सम्पूर्ण विद्यालयलाई लैंगिक मैत्रि, बाल मैत्रि, प्रविधि मैत्रि र अपाङ्गता मैत्री, जीवन उपयोगी शैक्षिक तथा भौतिक पहुँचयुक्त वातावरण बनाउन आवश्यक सहकार्य गरिनेछ।
  • शैक्षिक गुणस्तर अभिवृद्धिको लागि आधारभूत तहको तल्लो कक्षाबाटै सुधारका प्रयासहरुलाई थप व्यवस्थित बनाउँदै लगिनेछ ।
  • विद्यालयको शैक्षिक सुधार गर्न आवश्यक अनुगमन, निरिक्षण र सुपरिवेक्षणको व्यवस्थापन गर्ने नीति लिइनेछ ।
  • स्थानीय पाठ्क्रममा मातृभाषा र मौलिक सँस्कृतिको अध्ययन गराउन कार्य योजना बनाईनेछ।
  • कक्षा ८ देखि कक्षा १० सम्मका किशोर किशोरीलाई सचेतनामूलक कार्यक्रमहरु आवश्यकता अनुसार संचालन गरिने छ ।
  • नगर भित्रका सामुदायिक तथा सस्थागत विद्यालयहरुमा सञ्चालन हुने कक्षा ८ र एसईई को परीक्षामा उत्कृष्ट अंक (GPA) ल्याउने १/१ जनालाई पुरस्कारको व्यवस्था गरिने छ ।
  • विद्यार्थीको सृजनात्मक लगायत सर्वाङ्गीण विकासका लागि नगरस्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सञ्चालन गरिने छ ।
  • शिक्षक विद्यार्थी, विद्यालय व्यावस्थापन समिति लगायत अभिभावकहरुसँग शैक्षिक समस्याको विषयमा छलफल र अन्तरक्रिया कार्यक्रम गरी शिक्षण सिकाई क्रियाकलाप सुधारका लागि आवश्यक व्यवस्था गर्दै लगिनेछ ।
  • नगर भित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिईनेछ।
  • शिक्षकको कक्षा कोठामा बिताउने समय दैनिक पाठयोजना सहितको कक्षा शिक्षण प्रभावकारी मापन र मूल्याङ्कनको सुनिश्चितताका लागि प्रधानाध्यापकलाई थप जवाफदेही बनाइनेछ।
  • विज्ञान प्रयोगशाला, कम्प्यूटर ल्याब, फर्निचर व्यवस्थापन, किट्स तथा ईक्विपमेन्ट जस्ता कार्यक्रमहरूलाई हालसम्म यस्ता कार्यक्रम नपुगेका विद्यालयहरूलाई प्राथमिकता दिईनेछ।
  • सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि एक जना विज्ञ विद्यालय समन्वय कर्ताको व्यवस्था गरिनेछ।

स्वास्थ्य तथा पोषणः

  • बढ्दो नसर्ने रोग सम्बन्धी समस्यालाई मध्यनजर गर्दै सम्पूर्ण स्वास्थ्य संस्थाबाट मधुमेह र मिर्गौलाको लागि निःशुल्क परीक्षणको कार्यक्रम संचालन तथा व्यवस्थापन गरिनेछ।
  • बेसहारा व्यक्तिहरूको पहिचान गरी निजहरूका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गरिनेछ।
  • गरिब असहाय नागरिकको स्वास्थ्य उपचारको निम्ति आवश्यक प्रबन्ध मिलाइनेछ ।
  • महिला स्वास्थ्य स्वयम् सेविकाहरुको पेशागत दक्षता वृद्धि र सुरक्षामा जोड दिँदै प्रदान गरिंदै आएको प्रोत्साहन रकमलाई निरन्तरता दिईनेछ।
  • गम्भीर किसिमका दीर्घ रोगीहरुलाई मासिक उपचार खर्च उपलब्ध गराइनेछ ।
  • दीर्घ रोगी अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलार्इ आवश्यक पर्ने नियमित स्वास्थ्य सेवा र नेपाल सरकारद्वारा तोकिएका निःशुल्क उपलब्ध हुने औषधी सम्भव भएसम्म घरदैलोमै पुर्याउने प्रबन्ध गरिनेछ, साथै अन्य नागरिकलार्इ नेपाल सरकारद्वारा तोकिएका निःशुल्क उपलब्ध हुने औषधी तथा उपकरणको निःशुल्क वितरण गर्न आवश्यक व्यवस्था गरिनेछ।
  • नगरभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्ने जटिलतायुक्त गर्भवति तथा नवजातशिशुलाई स्वास्थ्य संस्थाले प्रेषण गरी माथिल्लो निकायमा पठाईएको अबस्थामा सोको लागि एक तर्फी यातायात खर्च उपलब्ध गराउने कार्यलाई निरन्तरता दिईएको छ।
  • जटिलता रहित प्रसुती सेवाका लागि नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाबाट मासिक ग्रामिण भिडियो एक्सरे सेवा नियमित संचालन गरिने छ।
  • घरमा शून्य प्रसुती सुनिश्चितताका लागि समुदायस्तरमा अभियान संचालन गरिनेछ।
  • नगरपालिका भित्रका नियमित संचालन हुने खोप तथा गाउँघर क्लिनिक लाई क्रमश: सुदृढीकरण गर्दै लगिने छ।
  • नगरभित्रका गर्भवती तथा प्रसुती महिलाहरु लाई निशुल्क फोलिक एसिड र क्याल्सियम चक्की वितरण कार्यक्रमलाई निरन्तरता दिईएको छ।
  • संचालनमा आएका बर्थीङ सेन्टरका प्रयोगशालाहरुलाई थप प्रभावकारी बनाउंदै लगिनेछ।
  • महिलाहरुको पाठेघर क्यान्सर र स्तन क्यान्सरको समयमै पहिचान गरी शिघ्र उपचारमा सहयोग पुर्‍याउन नगरभित्र पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी निःशुल्क शिबिर संचालन गरिनेछ।
  • स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाईटीसंगको सहकार्यमा संचालित रक्तसंचार केन्द्रको सेवा निरन्तरताका लागि आबश्यक व्यवस्था गरिनेछ।
  • जिल्लावासीहरूलाई रक्तसंचार केन्द्रबाट निःशुल्क रगत उपलब्ध गराईनेछ।
  • सुनौला १००० दिनका महिला तथा बालबालिकाको पोषण तथा स्वास्थ्य अबस्था प्रवर्द्धन गर्न बिशेष कार्यक्रम संचालन गरिनेछ।
  • जिल्ला अस्पताललाई व्यवस्थित रुपमा संचालन गर्न समन्वय तथा पहल गरिनेछ।
  • रोग लाग्न नदिन सामु्दायीक स्वास्थ्य शिक्षालाई टोल-घरमा पुर्याउने, मौसम अनुसारको स्वास्थ्य शिक्षालाई प्रभावकारी रुपमा लागु गरिनेछ ।
  • नेत्रज्योती संघ, दिक्तेलसंगको सहकार्यमा विभिन्न स्थानहरूमा आँखा जाँच शिविर, विद्यालय आँखा जांच कार्यक्रम, जेष्ठ नागरिक, अपाङ्गता लगायत लक्षित वर्गको लागि आँखा जांच कार्यक्रम, कारागारका कैदी वन्दी, सार्वजनिक यातायातका चालकहरूको आँखा जांच कार्यक्रमलाई प्रभावकारी तरिकाले संचालन गरिनेछ।
  • नगरमा प्रजनन् स्वास्थ्य सम्वन्धी कार्यका लागि नेपाल परिवार नियोजन संघसँग समन्वय गरी कार्यक्रमहरु संचालन गरिनेछ ।

युवा तथा खेलकुदः

  • दिक्तेल बजारको माटिकोरे स्थित दिक्तेल रंगशालालाई व्यवस्थित रंगशालाको रुपमा विकास गर्न आवश्यक व्यवस्था मिलाईनेछ।
  • नगर भित्र संचालित प्रतिष्ठित खेलकुद प्रतियोगिताहरू संचालनका लागि आवश्यक व्यवस्था गरिनेछ।
  • ग्रासरुट खेलकुद प्रशिक्षण कार्यक्रम तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि आवश्यक व्यवस्था गरिनेछ।
  • नगर स्तरिय, वडास्तरीय तथा विद्यालयस्तरीय खेलकुद कार्यक्रमहरू संचालन गरिनेछन्।
  • सरोकारवालाहरूसंगको सहकार्य र समन्वयमा लागू पदार्थ दुर्व्यसनी विरुद्ध अभियानहरू संचालन गरिनेछ।
  • युवाहरूलाई सामाजिक र आर्थिक विकासमा आवद्ध गराउन सीपमूलक, स्वरोजगार उन्मुख कार्यक्रमहरू आयोजना गरिनेछ ।
  • युवा जगतलाई उनीहरूको चाहना अनुसार साहित्य, कला, संगितको सृजना र मौलिक संस्कृतिको जगेर्नामा प्रोत्साहित गरिनेछ।
  • स्टार्ट अप क्याम्प: युवाहरूको कल्पनाशीलताले जन्माउने नवीन व्यवसायमा लगानी गर्ने वातावरण सृजना गरिने छ ।

महिला, बालबालिका, जेष्ठ नागरिक तथा लक्षित वर्ग, समुदायः

  • उप प्रमुखसंग महिला उत्थान कार्यक्रमलाई निरन्तरता दिईने छ ।
  • लक्षित समुदाय विशेष गरी दलित समुदाय र एकल महिलाहरूको को सीप विकास, रोजगारी सिर्जना तथा क्षमता विकास लगायतका विविध कार्यक्रमहरूलाई प्राथमिकता दिईनेछ।
  • महिला शसक्तिकरणका लागि कार्यक्रमहरू संचालन गरिनेछ ।
  • हिंसा पिडित महिला तथा बालबालिकाहरूलाई न्यायमा पहुँच पुर्याउन न्यायिक समितिमा निःशुल्क कानूनी व्यवस्था गर्ने साथै ग्रामिणस्तरमा नै सचेतना मूलक कार्यक्रमहरू संचालन गरिनेछ।न्यायिक समितिको क्षमता अभिबृद्धि र सशक्तिकरण गरी लैगिंक मैत्री बनाईनेछ।
  • एकल महिला तथा आर्थिक सामाजिकरूपले विपन्न महिलाहरूको क्षमता विकास तथा आत्मनिर्भरता अभिवृद्धिका लागि नेतृत्व विकास, उद्यमशीलता विकास र सीप विकास सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • राजनीतिक, आर्थिक, सार्वजनिक लगायत सम्पूर्ण निर्णायक तहमा महिला, दलित तथा सीमान्तकृत समुदायको सार्थक र समान पहुँचका लागि समान अवसरहरूको सिर्जना गरिने छ।
  • बालक्लव तथा बालक्लव संजालहरुको क्षमता विकास, दर्ता, नवीकरणका विभिन्न कार्यक्रमहरू संचालन गरिनेछ।
  • जेष्ठ नागरिक मिलन केन्द्रलाई व्यवस्थित तरिकाले संचालन गरिनेछ।
  • जेष्ठ नागरिकहरुको हक अधिकार र संरक्षणको लागी सचेतनामूलक कार्यक्रमहरु, पुस्ता हस्तान्तरण कार्यक्रमहरु संचालन गरिनेछ ।
  • अपाङ्गता भएको व्यक्तिहरुको अधिकार तथा संरक्षणको निमित्त सीप तथा क्षमता विकास कार्यक्रम साथै सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रमहरू संचालन गरिनेछ।
  • सार्वजनिकस्थलहरुलाई बालमैत्री र अपाङ्गमैत्री बनाउंदै लगिनेछ।
  • विभेदरहित छुवाछुतमुक्त नगर निर्माण गरिनेछ ।
  • परम्परागतरुपमा सञ्चालनमा रहेका पेशालाई आधुनिकीकरण र व्यवसायीकरण गर्न उचित व्यवस्था गरिनेछ। शिल्पी आविश्कार केन्द्र स्थापनार्थ पहल गरिनेछ।
  • दलित समुदायको लागि शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा विषेश कार्यक्रम लागू गरिनेछ ।

खानेपानी तथा सरसफाईः

  • हरेक घरमा स्वच्छ पिउने पानीको अनिबार्य ब्यबस्था गर्न पहल गरिनेछ।
  • बजार क्षेत्रका चलिरहेका खानेपानी आयोजना र गाउँका धारा कुवाको संरक्षण गर्ने नीति लिइनेछ ।
  • दिक्तेल बजार लगायत बजार क्षेत्रका विभिन्न स्थानहरूमा सार्वजनिक शौचालयहरू निर्माण गरी सञ्चालन गर्न आवश्यक पहल गरिनेछ।
  • दिक्तेल बजार लगायत बजार केन्द्रहरु सरसफाईमा जोड दिँदै सफा र सुन्दर नगर बनाउने अभियान संचालन गरिनेछ।
  • फोहोर संकलनवाट प्राप्त हुने प्लाष्टिक जन्य वस्तु लाई पुन प्रयोग गर्नका लागी खोलिने उद्योगका लागि निजी क्षेत्रलाई प्रोत्साहन र सहयोग गर्न नीति निर्माण गरिनेछ।

 

 

 

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनाः

  • ज्येष्ठ नागरिक, फरक क्षमता भएका (पूर्ण र अति अशक्त अपाङ्ग), एकल महिला, दलित वालवालिकालाई सामाजिक सुरक्षा कार्यक्रम मार्फत सम्बोधन गरिनेछ ।
  • सबै वडाहरूको सामाजिक सुरक्षा भत्ता बैङ्किक प्रणालीबाट वितरण प्रणालीलाई निरन्तरता दिंदै सामाजिक सुरक्षा भत्ता बैङ्क, वडा कार्यालय, सुरक्षा निकाय र नगरपालिका बीच समन्वय गरी वडा-वडामा गई व्यवस्थित तवरले वितरण गर्ने व्यवस्था मिलाईनेछ।
  • व्यक्तिगत घटना दर्ता कार्यलाई प्रत्येक वडा-वडाबाट अनलाईन प्रणाली मार्फत व्यवस्थित गरिनेछ।
  • एम.आई.एस. अपरेटर तथा फिल्ड सहायकहरूका लागि एक चौमासिक बराबरको पारिश्रमिक व्यवस्था गरिनेछ।

भाषा, संस्कार, संस्कृति तथा संरक्षणः

  • सबै समुदायका भाषा, संस्कार, संस्कृतिहरु संरक्षण तथा सम्वर्द्धनका लागि खोज, अध्ययन, अनुसन्धान लगायतका कार्यहरूलाई प्रोत्साहन गरिनेछ।
  • नगर क्षेत्रका सम्पूर्ण मूर्त र अमूर्त साँस्कृतिक सम्पदाको संरक्षणका लागि साँस्कृतिक सङ्ग्रहालय र अध्ययन अनुसन्धान प्रतिष्ठान स्थापना गरी सञ्चालनमा ल्याउन पहल गरिनेछ ।जिल्लालाई नै समेट्ने गरी खोटाङ सामुदायिक संग्राहालय निर्माण तथा स्थापनाको लागि आवश्यक पहल गरिनेछ।
  • नगर क्षेत्र भित्र रहेका ऐतिहासिक स्थलहरू, किरांत राई जाति लगायत अन्य जातजातिहरूको सांस्कृतिक सम्पदाहरूको खोजी, अध्ययन-अनुसन्धान गरी सूचीकृत गर्ने, संरक्षण, प्रवर्द्धन गर्ने नीति लिईनेछ।
  • थातथलोको पहिचानलाई स्थापित गर्दै लगिनेछ ।

 

आदरणीय सदस्यज्यूहरु,

अव म पूर्वाधार विकास विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु।

  • पूर्वाधार विकासः

सडक, पुल तथा यातायात व्यवस्थाः

  • दिक्तेल बजार ढलानलाई संघ-प्रदेश सरकाससंगको सहकार्यमा प्राथमिकताका साथ अघि बढाईने छ।
  • दिक्तेल-खानीडांडा-आहाले-रेग्मिटार सडक र दिक्तेल-खार्मी र दिक्तेल-पाथेका सडकलाई स्थानीय गौरवको आयोजनाको रूपमा प्राथमिकतामा राखी स्तरोन्नती कार्यलाई निरन्तरता दिईनेछ।
  • दिक्तेल बजार चक्रपथको संम्भाब्यता अध्ययन गरिनेछ ।
  • हाटडाँडाबाट कालिका भवगती मन्दिर सम्म जाने सडक पक्की गर्न पहल गरिनेछ ।
  • नगर क्षेत्रका सबै वडा, स्वास्थ केन्द्र तथा विद्यालयहरुमा बाह्रै महिना संचालन हुने गरी सडकहरूको निर्माण र स्तरोन्नती गरिनेछ।
  • सोल्मा बस पार्क र दिक्तेल आचार्य गाउंको बस पार्कलाई स्तरोन्नती तथा ब्यबस्थित गर्दै सुचारु गरिनेछ।
  • नगर यातायात गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिनेछ।
  • नयाँ ट्र्याक खोल्ने कार्यलाई निरुत्साहित गर्दै यस अगाडी खनिएका स्थानीय सडकहरुको स्तरोन्नती गरी नगर यातायात संचालन गर्न आवश्यक व्यवस्था मिलाईनेछ ।
  • दिक्तेलबजार लगायत नगरको बजार क्षेत्रमा मापदण्ड अनुसार सडक निर्माण गर्दा बस्ती बिस्थापित हुने कुरालाई मध्यनजर गर्दै त्यसका लागि आवश्यक व्यवस्था गरिनेछ ।
  • सडक निर्माण गर्दा वातावरण र पर्यावरण संरक्षणको क्षेत्रमा विशेष ध्यान दिइनेछ। निर्माण भएका सडकको दायाँबायाँ वृक्षरोपण गरिनेछ।
  • उपभोगमुखि बाटोलाई उत्पादनमुखी बाटो बनाउने नीति अवलम्बन गरिनेछ।
  • आवागमन सुचारु गर्न झोलुङ्गे पुल तथा सडक पुलहरूको सम्भाव्यता अध्ययन र निर्माण कार्यलाई प्राथमिकता दिईनेछ ।
  • यातायात अबरुद्ध हुन नदिन विशेष नीति तय गरिनेछ।
  • यातायात दुर्घटनालाई न्यूनीकरण गर्नको लागी सबै नागरिकहरुलाई ट्राफिक शिक्षा तथा सचेतीकरण अभियान संचालन गरिनेछ।

भवन, आवास, वस्ती तथा शहरी विकासः

  • भवन तथा बस्तीहरु बिस्तार गर्दा लोकमार्ग आसपास ५०० मिटर भित्र निर्माण गर्ने र कृषि सडक आसपासमा १ सय मिटर भित्र निर्माण गर्न प्रोत्साहन गरिने छ।
  • नगरपालिकाको आधुनिक प्रशासकीय भवन निर्माणका लागि संघ तथा प्रदेश सरकारसंग समन्वय र सहकार्य गरिनेछ।
  • नगरपालिका क्षेत्रभित्र बन्ने सबै किसिमका घरहरू मापदण्ड अनुसार भुकम्प प्रतिरोधात्मक बनाउने नीति लिईनेछ।
  • बजार क्षेत्रमा रहेका अव्यवस्थित पार्किङ, विजुली, टेलिफोन, ईन्टरनेट लगायतका विभिन्न तारहरु व्यवस्थित गर्न सम्वन्धित पक्षहरूसंग पहल गरिनेछ।
  • पुराना पक्की घरहरूको अभिलेखीकरणलाई निरन्तरता दिईनेछ।
  • नगरपालिका क्षेत्रभित्र बन्ने नयाँ पक्की घरहरूको अनिवार्य नक्सा पास गरेर मात्र निर्माण गर्ने व्यवस्था गरिनेछ।
  • सार्वजनिक जग्गाको अभिलेखीकरण गरिनेछ।
  • जमिनलाई अव्यवस्थित घर तथा घडेरी लगायतका अनुत्पादक क्षेत्रमा प्रयोग गर्न र बाँझो नराख्न प्रोत्साहित गरी उत्पादनमूलक उपयोग गर्ने नीति लिइनेछ ।

 

 

 

 

जलस्रोत, विद्युत तथा वैकल्पिक उर्जाः

  • नगरपालिकाभित्र वितरण गरिएको विद्युत लाईनलाई काठको पोलमूक्त बनाइनेछ ।
  • सड़क बत्तीलाई मर्मत गरी प्रयोगमा ल्याइनेछ र दिक्तेल बजारका सबै घरधनीलाई अनुरोध गरी आ-आफ्नो घर अगाडी सेन्सर बल्व राख्न अनुदान उपलव्ध गराउने व्यवस्था गरिनेछ ।
  • विद्युत क्षमताको विस्तार गर्न पहल गरिनेछ ।
  • सार्वजनिकस्थलमा सडक बत्ती र विद्यालयहरुमा सौर्य उर्जा जडान गरिनेछ ।
  • नवीकरणीय उर्जाको क्षेत्रमा नयां आयोजनाहरुको पहिचान गरी कार्यान्वयन गरिनेछ ।वायु उर्जा उत्पादनका लागि सम्भाव्यता अध्ययन गरिनेछ।

 

सूचना तथा संचारः

  • जिल्लामा रहेका संचार माध्यामहरुलाई दिईने लोक कल्याणकारी विज्ञापनलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।
  • खोजमूलक पत्रकारिताको प्रवर्द्धन गरिनेछ।
  • नगरभित्र सञ्चालित सञ्चारगृहको स्तरोन्नति, क्षमता विकास र पूर्वाधार निर्माणमाका लागि पहल गरिनेछ ।
  • नगरपालिकाभित्रका दक्ष तथा कुशल पत्रकार तथा संचारकर्मी उत्पादन गर्न सहयोग गरिनेछ ।
  • विगतमा दिक्तेल बजारमा जडान गरिएको सि.सि. क्यामरालाई टोल सुधार समिति, निजि क्षेत्र र सुरक्षा निकायसँगको सहकार्यमा व्यवस्थित गरिनेछ।

 

आदरणीय सदस्यज्यूहरु,

अब म वन, वातावरण, फोहरमैला व्यवस्थापन तथा विपद व्यवस्थापन विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु।

  • वन, वातावरण, फोहरमैला व्यवस्थापन तथा विपद व्यवस्थापनः

वन, वातावरणः-

  • वन संरक्षण, भू संरक्षण, तटबन्धहरुको निर्माण, वृक्षारोपण र जैविक विविधताहरुको संरक्षण, जडिबुटीको उत्पादन गर्दै वनजन्य पशुपन्छीहरुको व्यवस्थित संरक्षण गरिनेछ ।
  • यस नगरका सार्वजनिक स्थल तथा सडक किनारामा बहुउपयोगी आकर्षक रुख बिरुवाहरुको संरक्षण तथा रोपण गरिनेछ।
  • सबै पानीको मुहानहरुलाई पहिचान गरी संरक्षण अभियान संचालन गरिनेछ।
  • वन तथा वातावरण संरक्षण विषयमा समुदाय तथा विद्यालयहरुमा सचेतना अभियान संचालन गरिनेछ।
  • वन क्षेत्र तथा सार्वजनिक स्थलहरुमा धुंवा प्रदुषण, ध्वनी प्रदुषण, जल प्रदुषण गर्न निरुत्साहित गरिनेछ।
  • वन तथा वातावरण क्षेत्रमा गरिने सबै कार्यहरुमा सामुदायिक वन उपभोक्ता महासंघ तथा विषय र उदेश्य मिल्ने संस्थाहरुसंग सहकार्य गरेर काम गरिनेछ ।
  • रुपाकोट, मेरुङ, साप्सुढाप लगायतका क्षेत्रलाई जडीबुटी उत्पादनको पकेट क्षेत्र बनाउन जोड दिईनेछ।
  • कुनै पनि प्राकृतिक स्रोत उद्योगको लागि कच्चा पदार्थ भएकाले त्यसको सङ्कलन, उत्खनन् वा उत्पादनको परियोजना बनाउँदा औद्योगिक उत्पादनसँग जोडिने गरी परिचालन गरिनेछ।
  • जलवायु परिवर्तनको जोखिममा रहेका बन, सिमसार क्षेत्रहरुको व्यवस्थापन कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ। त्यसै गरी, जलवायु परिवर्तनको जोखिममा रहेका दुर्लभ तथा लोपोन्मुख वन्यजन्तुको संरक्षण गर्न स्थानीय कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ।
  • प्राकृतिक स्रोतमा आश्रित गरीब, विपन्न, महिला तथा संकटासन्न घरधुरी र समुदायका लागि अनुकूलन क्षमता बढाउने बैकल्पिक आय आर्जनको उपायहरु पहिचान गरी प्रवर्द्धन गरिनेछ।
  • जलवायु परिवर्तनको असर र जोखिम एवं अनुकुलन र न्यूनीकरणका उपायहरु समुदाय स्तरमा प्रचार प्रसार गरिनेछ ।

 

फोहरमैला ब्यबस्थापन:

  • नगरपालिकाको वडा नं. ५, लफ्याङ तित्रीबोटेमा रहेको ल्याण्डफिल्ड साइटलाई व्यवस्थित बनाईने छ।
  • स्रोतबाटै फोहरको वर्गीकरण गरी कुहिने फोहरलाई कम्पोष्ट मल, नकुहिने फोहरलाई ल्याण्डफिल्ड साईटमा विसर्जन गरी बजारको फोहर व्यवस्थापनलाई प्रभावकारी बनाईने छ। यसका लागि टोल विकास संस्थाहरू र सम्बन्धित सरोकारवालाहरूसंग सहकार्य र समन्वय गरिनेछ।
  • प्लास्टिकका झोला वा प्लास्टिक जन्य सामग्रिहरूको प्रयोगलाई निरत्साहित गरिनेछ।

 

बिपद् व्यवस्थापन:

  • नगरमा स्थापना गरिएको बिपद् व्यवस्थापन कोषमा सहयोग गर्न सबैलाई आह्वान गरिनेछ।
  • सहर, गाउँ टोल, विद्यालय तथा कलेजहरुमा बिपद् सचेतना कार्यक्रमहरु संचालन गरिनेछ।
  • बिपद् सहयोगी संस्था तथा ब्यक्तिहरुको पहिचान गरी बिपद्को समयमा स्वस्फुर्त परिचालित हुने वातावरण तय गरिने छ।

आदरणीय सदस्यज्यूहरु,

अब म संस्थागत विकास, सेवा प्रवाह र सुशासन विषयक्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु।

 

  • संस्थागत विकास, सेवा प्रवाह र सुशासनः

योजना व्यवस्थापन र तथ्याङ्क प्रणालीः

  • नगर विकासका विषय क्षेत्रगत नीति, रणनीति, गुरुयोजना तथा योजनाहरू तयारी गरी कार्यान्वयन गरिनेछ।
  • विस्तृत परियोजना प्रतिवेदन, संभाव्यता अध्ययन र प्राविधिक लागत अनुमानका आधारमा निर्माण सम्वन्धी कार्यमा बजेट विनियोजन गरिनेछ।
  • विकास कार्यक्रमहरूमा सार्वजनिक, निजी, सहकारी, गैर सरकारी साझेदारी एवं सामुदायिक सहभागितालाई प्रवर्द्धन गरिनेछ ।
  • योजना तथा कार्यक्रम कार्यान्वयन, अनुगमन तथा सुपरिवेक्षण, विवाद व्यवस्थापन, विपद प्रतिकार्य र पूर्वतयारी जस्ता क्षेत्रमा संस्थागत जिम्मेवारी स्पष्ट गरी कार्यान्वयन गरिनेछ।
  • बजार अनुगमन तथा योजना अनुगमनलाई थप प्रभावकारी बनाईनेछ।

 

नीति, कानून, न्याय र सुशासनः

  • विधिको शासन प्रवर्द्धन, जनसहभागिता अभिवृद्धि, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सेवा प्रवाहमा निश्पक्षता र महिला तथा लक्षित समूहलाई अग्राधिकार दिने नीति लिई सोही वमोजिम कार्यान्वयन गरिनेछ।
  • नगर प्रहरी संचालन तथा व्यवस्थापन सम्बन्धी कानून बमोजिम नगर प्रहरीहरूको व्यवस्था गरिनेछ।
  • संविधानले स्थानीय तहलाई दिएको अधिकार क्षेत्र भित्रको निर्माण गर्न बांकी रहेका ऐन, नियम, कार्यविधी, मापदण्डहरू निर्माण गरी कार्यान्वयन गरिनेछ ।
  • निर्मित नीति तथा कानूनहरूको प्रभावकारी कार्यान्वयन, नियमन र अनुगमन गरी सुशासन कायम गरिनेछ।
  • निर्वाचित पदाधिकारी तथा कर्मचारीहरूका लागि आचारसंहिता तथा सदाचार पद्धति लागू गरी सुशासनको पूर्ण प्रत्याभूति दिँदै भ्रष्टाचारमुक्त नगर बनाइनेछ ।

 

 

 

 

 

 

 

संगठनात्मक विकास, मानव संशाधन तथा सेवा प्रवाहः

  • नगरपालिकाबाट प्रदान गरिने प्रशासनिक सेवालाई छिटो छरितो, जनमुखी, झन्झट्मुक्त, सर्वसुलभ एवम् पारदर्शी बनाई नगरका सबै वडामा क्षतिपूर्तीसहितको नागरिक वडापत्र लागू गर्दै लगिनेछ ।
  • नगरपालिका र प्रत्येक वडामा सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण लगायत सुशासनका क्षेत्रका कार्यहरू गरिनेछ ।
  • सार्वजनिक जबाफदेहिता, उत्तरदायित्व र पारदर्शिता कायम गर्न नागरिक समाजको भूमिकालाई प्रश्रय दिइनेछ।
  • प्रत्येक पदको कार्यविवरण तयार गरी कार्यसम्पादन सम्झौतालाई निरन्तरता दिईनेछ। कार्यसम्पादन सम्झौतालाई नगरको सबै क्षेत्रमा विस्तार गरिनेछ।

 

स्रोत परिचालनः

  • नगरपालिकाको आन्तरिक श्रोत कम भएका कारण संघ र प्रदेश सरकार तथा अन्य निकायहरूसंग थप वित्तीय व्यवस्थापनको लागि पहल गरिनेछ।
  • गैर बजेटरी तथा फजुल खर्चहरूलाई नियन्त्रण गरिनेछ। चालु खर्चलाई सकेसम्म कम गर्दै पूंजिगत विकास खर्च बढाउंदै लगिनेछ ।
  • नगरपालिकाको बजेट निर्माण गर्दा आवधिक योजनाले तोकेका प्राथमिकता, प्रदेश र केन्द्र सरकारबाट प्राप्त मार्गदर्शन एवं नगरपालिकाले तोकेको प्राथमिकताको आधारमा वित्तीय स्रोतहरूको व्यवस्था गरिनेछ ।
  • नगरपालिकाको आय व्यय सम्वन्धी सम्पूर्ण आर्थिक कारोवारको विद्युतीय प्रणाली SuTRA मा अद्यावधिक गरी अभिलेख राख्ने कार्यलाई निरन्तरता दिईनेछ।
  • नगरपालिकाको बजेट कार्यान्वयन गर्दा वित्तीय अनुशासनलाई दृढताका साथ लागू गरी पारदर्शिता कायम गरिनेछ।
  • नगरमा करको दायरा फराकिलो बनाई नगरपालिकाले उठाउने सबैखाले करका दरहरुलाई सकेसम्म न्यून र उद्योग, व्यापार व्यवसायको प्रवद्धर्नमा सघाउ पुग्ने गरी कर प्रणालीलाई व्यवस्थित गरिनेछ।
  • करका दरहरु पुनरावलोकन गरी उचित प्रगतिशील दर कायम गरिनेछ। कर शिक्षा तथा राजश्व संकलनलाई अभियानको रुपमा अगाडी बढाईनेछ।
  • नगरपालिकाको सम्पूर्ण लेखा तथा आर्थिक विवरणको आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराई कायम भएका बेरुजुको प्रतिवेदन उपर कानून बमोजिम कारबाही तथा फर्छ्यौट गरिनेछ ।बेरुजु फर्छ्यौटलाई अभियानको रुपमा अगाडि बढाईनेछ।

 

 

 

 

आदरणीय सदस्यज्यूहरु,

हालसम्म भएका आर्थिक-सामाजिक-भौतिक उपलब्धीहरूलाई संरक्षण गर्दै थप उन्नत र विकास गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा आमूल परिवर्तन गरी विकास कार्यलाई तीब्रता दिने लक्ष्यका साथ आर्थिक वर्ष 20८०।08१ को नीति तथा कार्यक्रम प्रस्ताव गरिएको छ।

प्रस्तावित नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट राष्ट्रिय तथा प्रादेशिक नीति तथा कार्यक्रम, लक्ष्य र गन्तव्य प्राप्तिका लागि टेवा पुग्नेछ भने नगरको लक्ष्य प्राप्तिका लागि योगदान पुग्नेछ भन्ने विश्वास लिईएको छ।

नगरपालिकाको समग्र विकासमा योगदान पुर्याउनुहुने माननीयज्यूहरू, राजनैतिक दल तथा नेतागणहरू, राष्ट्रसेवक कर्मचारीहरू, निजी-सहकारी-सामुदायिक क्षेत्र, संघ-संस्थाहरू, नागरिक समाज, आम संचार जगत लगायत सम्पूर्ण नगरवासी दिदिबहिनी-दाजुभाईहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

अन्त्यमा, प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सबै तह-तप्काबाट सिर्जनात्मक तथा सक्रिय सहयोग र सहभागिता रहने विश्वास समेत व्यक्त गर्न चाहन्छु।

 

धन्यवाद ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित