पहिलेको दिक्तेल र अहिलेको दिक्तेल

  • प्रकाशित मितिः पुष २५, २०७९
  • 1072 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २५–‘दिक्तेल’ भन्ने शब्द किराती मुन्दुमको मिथकमा पाइन्छ । मिथकमा आफ्नो पितृलाई पुज्दा दिक्तेल–कु÷दिक्तेल बुङ चारिकु (दिक्तेलको पानी र खेतीपाती)लाई चढाउँने गरिन्छ । उक्त ठाउँ (दिक्तेलबारी) अहिलेको दिक्तेलबजार भन्दा करिब दुई किलोमिटर तल पर्छ । ‘दिक्तेल–कु÷दिक्तेल बुङ चारिकु’ करिब दुई हजार वर्ष पुरानो हुन सक्ने मुन्दुमविद् भोगीराज चाम्लिङको भनाई छ । किरातीहरुले काठमाडौंमा शासन गरेर फर्किएपछि विक्रम सम्बत १०० देखि २०० साल तिर यहाँ बसोबास गरेको चाम्लिङको दाबी छ । यही ठाउँको नामबाट दिक्तेल बजार भएको हो । 
दिक्तेलमा करिब दुई सय वर्ष अगाडि ब्यापार व्यवसाय सुरु भएको बुढापाकाहरुको भनाई छ । भक्तपुरबाट आएका भक्तनारायण बजिमय, गोपाल जोशी, बुद्धिमान श्रेष्ठ, लक्ष्मीनारायण कसजु र हर्कबहादुर सैंजु दिक्तेल आएपछि ब्यापार व्यावसाय सुरु भएको देखिन्छ । उनीहरुमध्ये सबै भन्दा पछि हर्कबहादुर आएको पा“चौ पुस्तापछिको नाति खलक ८१ वर्षीय गेहकुमार सैंजु बताउँछन् । उनका अनुसार भक्तपुरको इटाछेबाट १८९८ सालतिर दिक्तेलको शंखधर साख्वा चौक (पहिलेको दिक्तेल भन्ज्याङ) मुनि सोल्माली दुवारेले बनाएको पाटी (अहिलेको गेष्ट हाउस)मा आएर खुद्रा पसल सुरु गरेका थिए । उनी नै दिक्तेलको पहिलो ब्यापारी भएको बजिमय बंशावलीमा उल्लेख छ । 
बजिमयले शंखधर साख्वा चौक आसपासमा कपडा पसल चलाएका थिए । तीन छोराहरु सहित आएका गोपाल जोशीले अहिलेको दिक्तेल हस्पिटल चौकमा आएर खुद्रा पसल चलाएको चौथो पुस्तापछिका नाति ८१ वर्षीय शिद्धिबहादुर जोशीको भनाई छ । गोपालले लिएर आएका तीन छोराहरुमध्ये एक जनाको मृत्यु, एक जना (अजात विहे गरेर) वेपत्तँ र एक जना पदमलाल जोशीका सन्तानहरु नै अहिले दिक्तेलका जोशीहरु भएको चौथो पुस्ताका नाति ७० वर्षीय धनकुमार जोशीले बताए । २०४८ सालमा कर्मचारी आन्दोलनको बेला दिक्तेलमा शहिद भएका मनोज जोशी पदमलालका चार छोरामध्ये साहिला छोराका नाति हुन् । 
त्यत्तिखेर २०४६ सालको आन्दोलनका क्रममा जागिर गएका कर्मचारीहरुको पुनर्वाहली, कर्मचारीको बृत्ति विकास, महङ्गी नियन्त्रण लगायतका माग सहित कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए । त्यही आन्दोलनप्रति ऐक्यबद्धता जनाउँन विद्यार्थीले निकालेको जुलुसमा प्रहरीले गोली चलाउँदा २०४८ साउन १५ गते मजोश जोशीको ज्यान गएको थियो । तिनै मनोजका बुवा नारायणप्रसाद जोशी कर्मचारी आन्दोलनका अगुवा थिए । जिल्ला प्रशासनमा जागिरे नारायणप्रसादले राजिनामा दिएर राजनीति सुरु गरे अनि २०५४ सालमा तत्कालीन दिक्तेल नगरोन्मुख गाविसका अध्यक्ष भए ।
श्रेष्ठ र कसजुले पनि पसलै चलाएको बुढापाकाहरुको भनाई छ । उनीहरुका सन्ताननै दिक्तेल बजारमा व्यापार गर्ने अघिल्लो पुस्ताका व्यवसायी हुन् । यसबाहेक विस्तारै पछिल्लो पुस्तामा ढाकमशेर राई, हैकमसिं राई, नारायण चौधरी, उपीनकुमार राई, सनमान खड्का, राजन आचार्य, पोषक बस्नेत, मकेश्वर पाण्डे, ओमप्रकाश गुप्ता, रामकाजी खत्री, टेकबहादुर मुग्राती, गीता शंकर लगायत नाम चलेकाहरुले व्यवसाय संहालेका छन् ।
पछिल्लो समयमा २०६२/६३ सालदेखि मधेसी समुदायले ब्यापार व्यवसाय उल्लेख्य प्रगति गरेको देखिन्छ । सुरुमा २०४७ सालमा नारायण चौधरी दिक्तेलमै बसेर खुद्रा पसल सुरु गरेका थिए । त्यसपछि विस्तारै ब्यवसाय सञ्चालन गरेर पक्की घर बनाउँने संख्या पनि बढ्दै गएको छ । अहिले ५५ भन्दा बढी मधेसी समुदायको व्यापार व्यवसाय सञ्चालनमा रहेको नारायणका छोरा सञ्जय चौधरी बताउँछन् । उनका अनुसार कपडा, किराना, भाँडा, कस्मेटिक, औषधी, मोबाइल, फर्निचर, ग्यारेज, शैलुन जस्ता मधेसी समुदायले सञ्चालन गरेको व्यवसाय फष्टाएको छ । ‘२०२५–२६ सालतिरै बाउले हलेसी मेलामा ब्यापार ल्याउँदा विक्री भइनसकेको सामान दिक्तेल ल्याउँने गरेको थियो ।’ दिक्तेलको सल्लेरीटोलमा किराना पसल  गरेर बसेका चौधरीले भने–‘त्यसपछि २०४७-४८ सालतिरदेखि दिक्तेलमा पसल खोलेर बसेको हो ।’ 
दिक्तेल बजारमा विभिन्न जातजाति समुदायको बसोबास छ । ‘दिक्तेल एउटा जातजातिको बसोबास भएको तोरीबारीजस्तो होइन, विविध जातजातिको बसोबास भएको फूलबारी हो ।’–भन्छन् स्थानीय तथा खोटाङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एबम् नेपाल चेम्बर्स अफ कमर्श खोटाङका अध्यक्ष खुसनारायण सैंजू । नेवार, राई, बाहुन, क्षेत्री, कामी, दमाई, मधेसी, गुरुङ, तामाङ लगायत सबैको बसोबास छ । किरातचौक, रत्नपार्क, संगमटोल, मानवअधिकार चौक, बेसक्याम्प, सल्लेरीटोल, भवनगैह«ा, त्रिवेणीचौक, अम्बागाछी, शंखधर शाख्वा चौक, भानुचौक, हाटडाडाँजस्ता टोलले उनिएको माला हो दिक्तेल बजार । पछिल्लो समय हस्पिटलचौक लाइन, पञ्चमावि टोल लाइन, अल्छेढुङ्गा लाइन, बाम्राङ लाइन लगायतमा क्षेत्रमा बजार विस्तार हुदै गएको छ । 
२०१८ सालसम्म दिक्तेलमा एउटा चौकी मात्र थियो । तत्कालीन राणा शासन विरोधी आन्दोलनका अगुवा सर्वधन राई, गणेशबहादुर बजिमय, शम्भुसरस्वती श्रेष्ठ, मणिसुन्दर बजिमय, डिल्लीमान बजिमय लगायतले २०१८ सालमा उक्त चौकी कब्जा गरेपछि दिक्तेलमा राजनीतिक माहौल पनि तातिदै गयो । चौकी कब्जा गर्नेहरु पक्राउ परे । केहीलाई छिट्टै छाडियो, केही भने दश वर्षसम्म जेल परे । त्यो बेलाको राजनीतिक आन्दोलनले २०१८ बैशाख १ गते देशको पुनर्संरचना भयो । ३३ बाट ७५ जिल्ला र १४ अञ्चल बन्यो । त्यही क्रममा खोटाङ जिल्ला बन्यो र सदरमुकाम दिक्तेल भयो । पूर्व ४ नम्बर भोजपुरको प्रशासनिक इकाइ खोटाङबजारको अड्डा दिक्तेलमा सरेको हो । त्यत्तिखेरको ग्राम विकासको नामले चिनिने अड्डा २०१८ माघमा दिक्तेल सरेको सैंजूको भनाई छ । त्यसपछि २०२१ फागुनमा अदालत सरेको थियो । त्यत्तिखेरको अदालतले मालपोतको समेत काम गथ्र्यो । यो भन्दाअघि खोटाङको दक्षिणी साप्सुपारिका क्षेत्र पूर्व ४ नम्बर भोजपुर र साप्सुवारीका भू–भागहरु ओखलढुङको प्रशासनिक क्षेत्रमा पथ्र्यो । 
खोटाङ बजारबाट रातारात डोकोमा बोकेर ल्याइएको ग्राम विकास सुरुमा दिक्तेल भन्ज्याङटोलका डिल्लीमान बजिमयको घरमा राखिएको थियो । अदालत भने त्यत्तिखेरको दुवारेको पाटी (अहिलेको गेष्ट हाउस भएको ठाउँ)मा राखिएको थियो । २०२६ फागुनमा दिक्तेल बजारमा आगलागी भएपछि मात्र हालको प्रशासनिक क्षेत्र रहेको ठाउँमा सरेको हो । २०६१ असार ५ गते तत्कालीन नेकपा माओवादीले प्रशासनिक क्षेत्रका भवनहरु ध्वस्त पारेको थियो । द्वन्द्वका कारण विभिन्न ठाउँमा रहेका राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, इलाका प्रशासनहरु सदरमुकाम केन्द्रित भए । त्यसले दिक्तेललाई थप गुल्जार बनायो । यसरी विस्तारै दिक्तेल बजारको विस्तार हुँदै गएको हो । 
ढुङ्गाले छापेर बनाइएको दिक्तेलको बाटो पनि द्वन्द्वकालमै भत्काइएको थियो । ढुङ्गाले छापेर बनाइएका खुड्किलाहरुमा माओवादी लुकेर आक्रमण गर्छ भन्ने त्रासमा सुरक्षाकर्मीले नै भत्काएको थियो । २०६१ असार ५ गतेको दिक्तेल आक्रमणपछि दिक्तेलको बेसक्याम्पका तत्कालीन सशस्त्र सुरक्षा फौजका कमाण्डर मेजर हरिशरण सुवेदीको नेतृत्वमा खुड्किलाहरु भत्काइएको हो । त्यसले बजारको मौलिकता ध्वस्त भइसकेको छ । दिक्तेल बजारको सडक हिउदमा धुले र वर्षामा हिले भयो । अहिले पिच हुदैछ ।   
पुराना घरहरु भत्काएर विस्तारै नयाँ बन्दै छन् । इटाका छाना भएका घरहरु एक दुई वटा मात्र छन् । टिनका छाना भएका घरहरु पनि पक्की घरमा परिणत हुँदै छन् । २५-३० वर्षअघिका घँगरुघारी बजारमा परिणत भएको छ । खोटाङ उद्योग वाणिज्य संघका अर्का पूर्व अध्यक्ष राजु लयालुका अनुसार सुरुमा बेसक्याम्प, मानवअधिकार चौक, संगमटोल हुँदै रत्नपार्क, किरातचौकसम्मै घँगरुघारी थियो । तर अहिले ठूला र राम्रा पक्की घरहरु बने । यस क्षेत्रमा अहिले विभिन्न बैंकहरु छन् । ‘हेर्दा हेर्दै बजार विस्तार भयो ।’ उनी भन्छन्–‘ नयाँ बनेका घरहरु भएको ठाउँमा बजार गुल्जार बनेको छ ।’
२०६४ सालअघिसम्म दिक्तेलमा सिधा यातायात सुविधा थिएन । त्यतिखेरसम्म ढाकरमा बोकेको माल–सामान किनबेच हुने गथ्र्यो । तराईको गाइघाट, कटारी, बेल्टार लगायतका ठाउँहरुबाट भरिया मार्फत ढाकरमा सामान बोकेर दिक्तेल ल्याइन्थ्यो । हप्तादिन बढीसम्म ढाकरमा बोकेर ल्याएको सामान महङ्गो त हुन्थ्यो नै अझ पुरानो र अखाद्य भइसके पनि कसैले वास्ता गर्दैन थिए । यसरी दशकौं ढाकरले धानेको थियो दिक्तेलबजारको ब्यापार । त्यसपछि केही समय खच्चडले सामान बोक्यो । 
२०६४ मङ्सिरमा हेलिकोप्टरमा ल्याइएको गाडी नै जिल्लाको पहिलो हो । त्यत्तिखेर दिक्तेलका ब्यापारीहरुले टाटा कम्पनीको दुई वटा आइचर गाडी र त्यसको चार दिनपछि खोटाङ बहुउद्देश्यीय सहकारी संस्थाले दुई वटा महेन्द्रा कम्पनीको जीप हेलिकोप्टरबाट ल्याएका थिए । आइचर गाडी उदयपुरको गाइघाटबाट मनाङ एअरको हेलिकोप्टरले चार लाख तिरेर ल्याएको उक्त गाडीका सञ्चालकमध्येका बाबुकाजी कार्कीले बताए । सहकारीले खरिद गरेको गाडी चाहिँ नेपाली सेनाको हेलिकोप्टरले ल्याएको सहकारीका सञ्चालक तथा वर्तमान जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए ।
उक्त गाडी दिक्तेल–हलेसी (४२ किलोमिटर) र दिक्तेल–लामीडाडाँ (३५ किलोमिटर) सडक खण्डमा सञ्चालन गरिएको राईले सुनए । त्यसपछि फेरि एक वर्षपछि २०६५ साल दिक्तेलका ब्यापारीहरुले थप दुई वटा बोलेरो जीप हेलिकोप्टरबाटै ल्याएका थिए । त्यसपछि भने विस्तारै सडक बन्दै गयो । यातायातका साधनहरु पनि भित्रन थाले । अनि मात्र जिल्ला सदरमुकाम दिक्तेलसंग शहर र ग्रामीण क्षेत्र जोडिएको हो । अहिले मध्यपहाडी लोकमार्ग, दिक्तेल–जालपा–ऐसेलुखर्क, दिक्तेल–जालपा–बाक्सिला, दिक्तेल–खार्मी, दिक्तेल–पाथेका, दिक्तेल–खानीडाडाँ–दिप्रुङ–खोटाङ बजार, दिक्तेल–साकेला लगायतका ग्रामीण भेगसंग यातायात सम्वन्ध जोडिएको छ । सदरमुकाम नजिकै मनमायाँ राई खानीडाडाँ विमानस्थल चालु छ । यसले दिक्तेल बजारलाई विस्तारै शहरीकरणतर्फ उन्मुख देखिन्छ । बैंक लगायत वित्तीय संस्थाहरुको आगमन पनि बढ्दो छ । ग्रामीण भेगका सडकहरु कच्ची भएकाले यातायातमा समस्या छ । 
तर दिक्तेल बजारको व्यापार व्यवसाय भने घट्दो देखिन्छ । गणतन्त्रपछिको राज्य पुनर्संरचनाले दिक्तेलको व्यवसाय गाउँ सरेको हो । २०७३ सालपछि विभिन्न ठाउँमा स्थानीय तहहरुको केन्द्र बनेपछि दिक्तेलको व्यवसाय पनि उतै स¥यो । खासगरी २०७४ बैशाखमा स्थानीय तहको चुनावपछि प्रशासनिक काम पनि स्थानीय तहबाटै सुरु भएपछि दिक्तेल सुनसान बन्यो । गाउँलेहरुको सदरमुकाम आउने काम कम हुन थाल्यो । आए पनि यातायात सुविधाले दिक्तेल बस्दैनन् । नबसेपछि होटल तथा अन्य व्यवसाय चल्दैन । त्यसपछि दिक्तेलको ब्यापार–ब्यावसाय थला पर्दै गएको हो । त्यत्तिले मात्र होइन, परम्परागत शैलीका कारण पनि ब्यापार–व्यवसाय घट्दै गएको वाणिज्य संघका पूर्व अध्यक्ष सैंजू बताउँछन् । ‘समयअनुसारको ब्यापार–व्यवसाय गर्न जानेनन् ।’ सैजूले भने–‘समय अनुसार मागमा केन्द्रित रहेर ब्यापार व्यवसाय नगर्दा यस्तो अवस्था आएको हो ।’
यत्तिले मात्र होइन दिक्तेलमा व्यवसाय गर्नेहरुले अन्यत्र लगानी गरेकाले पनि यो अवस्था आएको खोटाङ उद्योग वाणिज्य संघका महासचिव मनोज बजिमयको भनाई छ । ‘दिक्तेलमा कमाएको सम्पत्ति काठमाडौं, विराटनगर, इटरी, धरानतिर लगाइएको छ ।’–बजिमयले भने–‘यही नै लगानी गरेको हो भने दिक्तेल अर्कै भैसक्थ्यो ।’
तर अहिले विस्तारै यातायात पहुँच बढेपछि सदरमुकाममा नौ वटा बैंक र एक दर्जन बढी लघुवित्त कम्पनीहरु सञ्चालनमा छन् । यी बैकहरुले ब्यापार व्यवसाय, कृषि, पशु लगायतका क्षेत्रमा ऋण लगानी गरेका छन् । युवा वर्गमा उद्यमशिलताप्रतिको चेतना जाग्नु र वित्तीय क्षेत्रको लगानीले केही आशा जागेको व्यवसायीहरु  बताउँछन् । diktel11

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित