अग्निपीडितलाई शिक्षक–शिक्षिकाहरूको आर्थिक सहयोग

  • प्रकाशित मितिः बैशाख २४, २०८१
  • 129 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २४–हलेसी तुवाचुङ नगरपालिकाका अग्निपीडितलाई शिक्षक–शिक्षिकाहरूले राहत वितरण गरेका छन् । म्यासेन्जर ग्रुप बनाएर शिक्षक–शिक्षिकाबाट सङ्कलन भएको रकमबाट राहत वितरण गरेका हुन् ।
हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका शिक्षक दिलीप वाम्बुले राईको पहलमा म्यासेन्जर ग्रुप बनाएर एक सय ६७ जनाबाट सङ्कलन गरिएको एक लाख ७६ हजार दश रूपैयाँ राहत वितरण गरिएको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माविका प्रअ नवीन चाम्लिङले बताए । बैशाख १४ गते आगलागीबाट पीडित मदनबहादुर थापा मगरलाई ४५ हजार दश रूपैयाँ, इन्द्रबहादुर थापालाई ३५ हजार, गोपालबहादुर थापालाई ३५ हजार, झनबहादुर थापालाई २३ हजार, भेषबहादुर रानालाई १४ हजार, खगेन्द्र विश्वकर्मालाई १२ हजार र योगबहादुर रानालाई १२ हजार रूपैयाँ बैशाख २४ सहयोग गरिएको अभियानकर्ता तथा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका शिक्षक दिलीप वाम्बुले राईले बताए ।
राईका अनुसार शिक्षक–शिक्षिकालाई विपत् आइपर्दा सहयोग संकलन गर्ने परम्परा अनुसार सल्लेस्थित सरस्वता आधारभूत विद्यालयकी प्रअ धनकुमारी थापामगर र सल्लेकै जनता माविकी शिक्षक गंगा थापामगरको घर जलेर नष्ट भएपछि सहयोग संकलन गरिएको हो । ‘शिक्षक–शिक्षिकाहरूलाई विपत् आइपर्दा सहयोग संकलन गर्ने हाम्रो परम्परा छ, यही अनुसार सहयोग संकलन गरेर दिइएको हो ।’ वाम्बुले राईले भने–‘केही समय अघि पनि धितुङका शिक्षक देवराज राईको घरमा आगोले क्षति हुदा नवीन चाम्लिङ सरको अगुवाइमा एक लाख १८ हजार रूपैयाँ संकलन गरेर दिइएको हो ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित