बाराहापोखरीमा डढेलो गाउँ पस्दा १२ घर जल्यो

  • प्रकाशित मितिः बैशाख १२, २०८१
  • 70 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १२–बाराहापोखरी गाउँपालिकामा डढेलो गाउँ पस्दा १२ घर जलेर नष्ट भएको छ । उक्त पालिकाको वडा नं १ स्थित विभिन्न सामुदायिक वनमा लागेको गाउँ पस्दा १२ वटा घर, सात वटा मतान, तीन वटा गोठ र एउटा भान्सा घर जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार बैशाख १२ गते दिउसो करिब ४ बजेतिर स्थानीय रक्तमाला सामुदायिक वनमा लागेको डढेलोले स्थानीय भिरगाउँका सुवाश थापा मगरको एक तले एउटा घर, मोहनलाल थापा मगरको एक तले दुई वटा घर र एउटा मतान, मदन थापा मगरको एक तले घर र एउटा मतान, भद्रसिं मगरको एक तले एउटा घर र दुई वटा गोठ, पूर्णबहादुर थापा मगरको एक तले घर र तीन वटा मतान, डान्सिङटारकी गंगामायाँ मगरको एक तले घर र दुई वटा मतान तथा ४० वटा बाख्रा, आधा तोला सुन र ५० हजार नगद जलेर नष्ट भएको छ ।
डाडाँखर्कका होमबहादुर कटवालको दुई तले एउटा घर, पदमबहादुर कटवालको दुई तले एउटा घर जलेर नष्ट भएको छ । त्यस्तै खोर्सानेका सुमन मगरको एक तले एउटा घर, छकुमार राईको एक तले एउटा घर, गहतेका लेखराज खतिवडाको एक तले एउटा घर, भन्ज्याङका बमबहादुर मगरको एक वटा भान्सा घर र एउटा बाख्राखोर जलेर नष्ट भएको छ । उक्त ठाउँमा लागेको आगो नियन्त्रणका लागि जनपथ, सशस्त्र र स्थानीय खटिरहेको डिएसपी खड्काले बताए । क्षतिबारे विस्तृत विवरण आउँन बाँकी रहेको खड्काले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित